Comments Add Comment

बाबुरामको भेलामा राष्ट्रिय सरकार र पुनर्निर्माणको चर्चा

Baburam

  • तस्वीरः डा. बाबुराम भट्टरार्इको फेसबुक पेजबाट

१५ जेठ, काठमाडौं । एमाओवादी नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललितपुरको समीट होटल छेऊमा शुक्रबार गणतन्त्र दिवसको अवसर पारेर एउटा वौद्धिक जमघटको आयोजना गरे ।

जमघटमा राष्ट्रिय सरकार, भूकम्पका बेला सरकारले खेलेको भूमिका र पुनर्निर्माणका लागि संयन्त्र (प्राधिकरण) निर्माण लगायतका विषयमा बहस भयो ।

चिनिएका प्राध्यापक, केही दलका नेता, पत्रकार र लेखकहरुको जमघटमा डा. भट्टराईले भने- ‘बहुदलीय राजनीतिमा हाम्रा भिन्नताहरु एकैचोटि मेटिँदैनन् । मेटाइदिइहालौं भनेर कसैले भन्दैमा त्यो मेटिने कुरो पनि होइन । तर, केही यस्ता राष्ट्रिय मुद्दा र घडीहरु हुन्छन्, त्यस्तो बेलामा मतान्तरहरुलाई थाती राखेर न्यूनतम कुरामा मिलेर अगाडि बढ्नुपर्ने हुन्छ । र, त्यो घडी अहिले आएको छ ।’

डा. भट्टराईले प्रस्ताव राखे- ‘लामो समयदेखि थाती रहेको संविधान निर्माणलाई छिटो पूर्णता दिऔं, यो पुनर्निर्माण र नवनिर्माणको विषयलाई केन्द्रमा राखौं । र, छोटो अवधिमा नै यो देशलाई विकास र सम्वृद्धिको दिशामा लिएर जाने एउटा अठोट गरौं ।’

अब कहाँबाट सुरु गर्ने भन्ने प्रश्न आउँछ भन्दै डा. भट्टराईले यो विषयमा राजनीतिक वृत्तमा कुरा चलेको बताए । यही सरकारलाई निरन्तरता दिएर नै हुन्छ कि, अथवा यस्तो बेलामा सम्पूर्ण शक्तिहरु एक ठाउँमा आएर अगाडि बढ्दा राम्रो हुन्छ भन्ने बहस भइरहेको उनले बताए ।
तर, आफ्नोे निजी विचारचाँहि आफ्ना मत भिन्नताहरुलाई कायम राख्दै आवश्यक संयन्त्रहरु निर्माण गर्नुपर्ने भट्टराईले बताए । उनले भने-‘यसो हुन सक्यो भने राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, उद्योग व्यवसायी, कलाकर्मी, सबै क्षेत्रका मानिसहरुले आफ्नो क्षमता राष्ट्र निर्माणमा लगाउन सक्छन् ।’

‘हामी दक्षिण एशियामा सबैभन्दा पछि छौं । यस्तो अवस्थामा हाम्रो शक्ति भनेकै सम्पूर्ण राजनीतिक शक्तिहरु, जनता ले राष्ट्रिय हितलाई केन्द्रमा राखेर, एकतावद्ध बनेर शक्तिलाई परिचालन गर्नु हो,’भट्टराईले भने-‘आज गणतन्त्र दिवसका दिनमा हामीले यो संकल्प गरौं ।’

डा. भट्टराईले गरेको संयन्त्रको संकेत नवनिर्माण प्राधिकरण र राष्ट्रिय सहमतिको सरकारतर्फ लक्षित थियो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. पिताम्बर शर्माले राष्ट्रिय एकताका लागि एजेण्डा स्पष्ट हुनुपर्ने बताए । (पढ्नुस् डा. शर्माको भनाइ)

कार्यक्रममा बोल्दै प्राध्यापक कृष्ण खनालले भने-‘अहिले नेताहरु राष्ट्रिय सरकारको कुरा गरिरहनुभएको छ । तर, अहिले राष्ट्रिय सरकारको कुराले मात्रै पुग्दैन, एउटा ठूलो प्रतिवद्धताको आवश्यकता छ ।’

राष्ट्रिय एकताका बारेमा वस्तुगत बुझाइमै कमजोरी देखिएको बताउँदै खनालले भने- ‘राष्ट्रिय सरकारको बुझाइ नै सही रुपमा भइरहेको छैन, के उसोभए अहिलेको सरकारचाँहि राष्ट्रिय होइन त ?’

राजनीतिको कुरा गर्दा अरण्य रोदनजस्तो मात्रै लाग्ने गरेको भन्दै खनालले डा. भट्टराईलाई प्रश्न गरे- ‘मुलुकको आवश्यकता प्रमुख हो कि व्यक्तिको ? यदि स्वस्थ्य ढंगले सोच्न सक्ने व्यक्ति छैन भने त्यसले नेतृत्व दिनै सक्दैन ।’

आफैंले पनि राष्ट्रिय सरकारको कुरा गर्दै आइरहेको बताउँदै खनालले सोधे- ‘यहाँ अर्को गम्भीर कुरा छ, पाँच हजार मेटि्रक टन चामल एकैचोटि हराउँछ, कसैले पनि खोज्दैन । यसमा जिम्मेवार निकाय को हो ? कसैले जिम्मा लिनुपर्दैन ? यसले के देखाउँछ भने हामीमा अत्यन्तै संकटका बेलामा पनि निहीत स्वार्थमा लाग्ने र मौका छोप्ने प्रवृत्ति बढेको छ ।’

यति सानो चिन्तन बोक्ने हो भने राष्ट्रिय सरकारको कुरै नगरे हुने खनालले बताए । उनले भने- ‘यस्तो चिन्तन बोकेका मान्छेले नव निर्माण र पुनर्निमार्णको काम गर्न सक्दैनन् । आफ्नो घरमात्रै बनाउँछन् ।’

खनालको भनाइ थियो- ‘राष्ट्रिय सरकारको कुरा गर्दा ब्रेक थ्रु कहाँबाट गर्ने ? अहिले यसको पालो, त्यसपछि अर्काको पालो भन्ने आइराखेको छ, यो पालो बाँधेर राष्ट्रिय सरकार बन्दैन । पहिले पालो तोड्नुपर्‍यो । भूकम्प त्यहाँ पस्यो भने हुन्छ, नभए यो गफ हुन्छ । अरण्य रोदनमात्रै हुन्छ ।’

कार्यक्रममा सहभागी एमाले सचिव प्रदीप ज्ञवालीले ब्रेक थु्रकै लागि राष्ट्रिय सरकार एउटा माध्यम हुन सक्ने भन्दै राष्ट्रिय सरकार गठन हुनुपर्नेमा जोड दिए । (पढ्नुस् ज्ञवालीको भनाइ)

प्राध्यापक कृष्ण हाछेथुले राहत वितरण गाडी पुग्ने ठाउँमा मात्रै पुग्ने गरेको भन्दै वञ्चितीकरणमा परेका जनता अहिले पनि बञ्चितिमै परिरहेको गुनासो गरे । पत्रकार पुरुषोत्तम दाहालले राष्ट्रिय सरकारको कुरो आफूले नबुझेको बताए ।
अर्का सभासद जनकराज जोशीले प्राधिकरण बनाउँदा प्रोटोकोल हेर्न नहुने भन्दै पूर्वप्रधानमन्त्रीले पनि जिम्मेवारी सम्हाल्न सक्ने बताए ।

लोकतान्त्रिक फोरमका नेता जितेन्द्र देवले दैवी प्रकोप उद्धार ऐन फेर्नुपर्ने सुझाव दिए । नायिका ऋचा शर्माले काठमाडौं नजिक र दुर्गम जिल्लामा पीडितलाई एकैखालको राहत दिँदा समानुपातिक नभएको बताइन् । साथै भूकम्पसँगै महिलामाथि असुरक्षा बढेको उनले बताइन् ।

कांग्रेस नेतृ सीता गुरुङले अहिले राहत आयो भनिएपनि राहत कहाँ आयो भनेर बुझ्न नपाइएको बताइन् । आफैं कांग्रेसको अनुगमन समितिमा रहे पनि राहतबारे बुझ्न नपाएको उनले गुनासो गरिन् ।

कार्यक्रममा विश्लेषक हरि रोका, तुलानारायण साह, नेतृ रामकुकमारी झाँक्री, देवी खड्का, एमाओवादी नेता देवेन्द्र पौडेल लगायत करिब दुई दर्जनलाई निम्त्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment