Comments Add Comment

बाढी पीडितको व्यथा : कालो बादल देख्दा मन जिरिङ हुन्छ

Banke-Gangapur-Badhipidit

आरपी सुवेदी
१७ जेठ, नेपालगन्ज । गत वर्षको बाढीले बाँकेको गंगापुर गाविस ५ दिनसम्म डुबानमा पर्‍यो । दुःख गरी बनाएको घर र श्रीसम्पत्ति बग्यो । अन्न उब्जाउने जग्गा बगरमा परिणत भयो ।

अब वर्षायाम सुरु हुन केही दिन बाँकी रहँदा गंगापुर-९ की रेश्मा नाउ बँचेखुचेको थोरै जग्गामा धानको बिऊ राख्ने की नराख्ने दोधारमा छिन् । ‘सकि नसकी खेत रोपियो बाढीले डुबायो, घर पनि भत्काइदियो,’ गतवर्षको बाढीले घर डुबाएपछि चार दिनसम्म भोकै बसेको सम्झदै उनले भनिन्, ‘यो वर्ष खेत रोप्ने कि नरोप्ने दोधारमा छौं ।’

बाँके गंगापुरकी रेश्मा जस्तै सबैजसो बासिन्दा विगतको त्रासदी र सुरक्षित आवासको चिन्ताले पिरोलिएका छन् । बाढी पीडितको लागि घर बनाउन सरकारले पूर्ण क्षति भएकालाई ७५ हजार र आंशिक क्षति भएकालाई ५ हजार रुपैयाँ क्षतिपूर्ति दिएको छ । तर, गंगापुरका बासिन्दा राहत भन्दा पनि घरबासको लागि योग्य जमिनको प्रतिक्षामा छन् ।

‘आकाशमा कालो बादल मात्र देखिए पनि मन जिरिङ हुन्छ,’ गंगापुर-८ का ५५ वर्षीय सालिकराम यादवले भने, ‘सुरक्षित बासको लागि उपयुक्त जमिन उपलब्ध गराइदिनुपर्‍यो पैसा हामीलाई चाहिएको छैन ।’

डुवान हुने जमिन उँचो र बासको लागि उपयुक्त जमिनसँग सट्टापट्टा गर्न आफूहरु तयार रहेको समेत उनले बताए ।

गंगापुर-२ को गाउँ ०५६ सालमा पनि डुवानमा परेको थियो । सो गाउँका ९२ घरधुरीलाई जमिन उचो ठाउँ दिइएको थियो । तर, त्यो सुरक्षित छ की छैन भनेर भौगर्भिक अध्ययन गर्नुपर्ने माग बाढी पीडितले गरेका छन् ।

गंगापुर-२ का मोलहे आर्यले भने, ‘सँधैभरी डुबान भन्दै राहत दिएर परनिर्भर बनाउनु भन्दा उपयुक्त स्थानको अध्ययन गर्दै सुरक्षित स्थानमा बसाउनु उपयुक्त हुन्छ ।’

दुई महिना अघिमात्र सरुवा भएर आएका गाविस सचिव प्रेमप्रसाद उपाध्यायले गंगापुरका जोखिमयुक्त बस्ती र गाविस भवन स्थानान्तरण गर्नु आवश्यक रहेको बताए । बाढीबाट २६ जना पूर्ण क्षति र १ हजार ४९ जना आंशिक क्षति भएको विवरण जिल्लामा पठाएको उनले जानकारी पनि दिए ।

गंगापुर गाविसका बासिन्दा र सेवा प्रदायक निकायहरुबीच समन्वय गर्दै आएको इन्सेककी फोकल पर्सन सरस्वती मल्लले गंगापुर बाढीको अत्यन्त जोखिममा रहेको भन्दै शिक्षा, स्वास्थ्य, खाद्य अधिकार र सुरक्षित आवासको ग्यारेन्टी गराइदिनुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment