Comments Add Comment

रामेछाप र सिन्धुपाल्चोकको पीडामा कर्णालीको मल्हम

१७ जेठ, रामेछाप । भूकम्प पीडितहरुको घाउमा यतिबेला कर्णालीवासीहरु मल्हम लगाउने प्रयत्नमा छन् । कर्णालीबाट आएको नेकपा एमालेको टोली रामेछापमा र एमाओवादीको टोली सिन्धुपाल्चोकमा स्वयमसेवामा खटिएका छन् ।
uml-team

रामेछापमा कर्णालीको विकट मुगु जिल्लाका पूर्वसभासद चन्द्रबहादुर शाहीको टोली र सिन्धुपाल्चोकमा एमाओवादीका पूर्वसभासद कालीबहादुर मल्लको टोली छ । उनीहरु भत्किएका घरका भग्नावशेष हटाउने र अस्थायी टहरा बनाउने काममा जुटिरहेका छन् ।
कर्णालीबाट आएको शाही नेतृत्वको स्वयम्सेवी समूहले रामेछाप जिल्लाका चिसापानी गाविसको भिमेश्वररुद्र उच्चमावि, जगदम्बा उमावि, गेलुको शारदा उमावि, लहरेपानी प्रावि लगायतका विद्यालयको अस्थायी सिकाई केन्द्र बनाइसकेको छ । उनीहरु समय निकालेर भग्नावशेषमा पुरिएका सामाग्री निकाल्न पनि मद्दत गर्छन् ।

‘यो पीडाको बेला छ । हामीले उहाँदेखि आएर गर्न सक्ने त केही हैन, तथापि स्थानीय प्रभावितहरुको मनोवल उकास्ने काम गरेका छौँ । रामेछापलाई पीडा पर्दा कर्णालीलाई पनि दुख्छ भन्ने सन्देश दिन खोजेका छौं र सकेको सहयोग गरेका छौं,’ पूर्व सभासद शाहीले भने ।

मल्ल नेतृत्वको टोलीले सिन्धुपाल्चोकको माङ्खा गाविसस्थित कुपकन्या माविको १४ कोठे घर बनाएर आइतबार हस्तान्तरण गरेको छ । कार्यक्रममा एमाओवादी नेता वर्षमान पुन अनन्तले प्रधानाध्यापक कृष्णप्रसाद तिमल्सिना र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई विद्यालयको चाबि हस्तान्तरण गरे । सो विद्यालय भवन बनाउन भेरी-कर्णालीको १२ जनाको टोली, विद्यार्थी, मजदुर र स्थानीय बासिन्दा खटिएका थिए ।
‘भेरी-कर्णालीको तर्फबाट जति सकिन्छ त्यति सहयोग गर्‍यौं,’ मल्लले भने, ‘दुःख परेकाबेला सेवा गर्न पाउँदा हामी सन्तुष्ट छौं, सिन्धुपाल्चोकबासी पनि खुसी होलान् ।’

स्थानीय खुसी

कर्णालीदेखि रामेछाप र सिन्धुपाल्चोक आएर स्वयमसेवी काम गरेको देख्दा स्थानीयमा आफ्नोलागि आफै काम गर्नुपर्छ भन्ने भावना पलाएको रामेछाप गेलु गाविसका पूर्व गाविस अध्यक्ष कृष्णहरी अधिकारी बताउँछन् । ‘उनीहरु खटेको देखेर गाउँलेहरु पनि जम्मा भए, २ दिनमा विद्यालयको अस्थायी टहरा बनाइयो । जेठ १७ बाट त कक्षा नै सञ्चालन भयो,’ उनले भने ।

एमालेले र एमाओवादीले मात्र हैन अहिले नेपाली कांग्रेस र अरु पार्टीहरुले पनि भूकम्प प्रभावित क्षेत्रमा स्वयमसेवी अभियान सञ्चालन गरिरहेका छन् । कांग्रेसले रामेछापका भिरपानी र कठजोरका भूकम्प प्रभावितहरुको लागि अस्थायी टहरा निर्माण गरिदिएको छ । माओवादीले रामेछापको तिल्पुको नवदर्शन उमावि र मन्थलीको नागकन्या माविमा अस्थायी टहरा बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment