Comments Add Comment

अब विद्यालयमा कहिलेसम्म नाचगान गर्ने ?

school (6)

  • दरबार हाईस्कुलका विद्यार्थी र शिक्षिकाहरु नाच्दै

१७ जेठ, काठमाडौ । वैशाख १२ गतेको भूकम्पको त्रासदीले बन्द रहेका विद्यालयहरु आइतबारदेखि खुला गरिए पनि पढाइ सुरु भएको छैन । सरकारले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापहरु गराउन भनेको छ ।

काठमाडौंको रत्नराज्य उच्च माविकी प्रिन्सिपल गीता खरेल सिवाकोटीले अनलाइनखबरसँग भनिन्- ‘आज हामीले अनुमान गरेको भन्दा धेरै विद्यार्थीहरु आए, त्यसैले अब पर्सितिरबाट कोर्षका किताब पढाउने सल्लाह गर्दैछौं ।’

सरकारले करिब एक सातासम्म विद्यार्थीलाई मनोरञ्जनात्कम क्रियाकलापमा सरिक गराउन भने पनि अब विस्तारै वातावरण सहज बनेकाले पढाइ सुरु गर्ने तयारी गरिएको उनले बताइन् ।

भक्तपुरको सिद्धार्थ विद्यापीठकी प्रिन्सिपल दीपिका थापा भन्छिन्-‘सरकारले अतिरिक्त क्रियाकलाप गर्नु मात्र भनेको छ, के के गर्ने भनेको छैन, त्यसैले हामी अब ठूला कक्षाका विद्यार्थीलाई कोर्ष सुरु गराउने तयारीमा छौं ।’

गीत र नाचगानमा मात्रै लगाउनुभन्दा पढाउन थालेपछि विद्यार्थीले विस्तारै भूकम्पको त्रास बिर्सने उनले बताइन् । प्याब्सन केन्द्रीय उपाध्यक्ष समेत रहेकी थापाले आफ्ना विद्यार्थीहरुले भूकम्पको नाटक देखाउने तयारी गरिरहेको अनलाइनखबरलाई बताइन् ।

गोरखामा जेठभरि पढाइ नहुने

राजधानीका विद्यालयहरुले यसैसातादेखि पठन पाठन सुरु गर्ने तयारी गरे पनि गोरखा जिल्ला शिक्षा कार्यालयले भने जेठभरि अतिरिक्त क्रियाकलाप गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ ।

भूकम्पको केन्द्रविन्दु रहेकाले गोरखामा धेरै विद्यालयमा क्षति पुगेका कारण पढाए सुरु हुन ढीलो हुनु स्वाभाविक भएको बताइएको छ । तर, राजधानीमा भने गोरखाको भन्दा सहज वातावरण भएकाले यसै सातादेखि पढाइ सुचारु हुन सक्ने प्रधानाध्यापिका गीताको भनाइ छ ।

दरबार हाइस्कुलको बिजोग

Darbar school

राजधानीको मुटु मानिने रानीपोखरीको दरबार हाईस्कुल भूकम्पले आधा भाग भग्नावशेषमा परिणत भएको छ भने आधा भाग खण्डहर छ । जेठ १७ देखि विद्यालय सञ्चालन गर्ने भनिएपछि जसोतसो एउटा टहरा बनाइएको छ । जसलाई ‘टेम्पोररी लर्निङ सेन्टर अर्थात टीएलसी नाम दिइएको छ ।

उक्त टहरामा भानु मावि दरबार हाईस्कुलका दुई सय २५ जना र संस्कृत माविका दुई सय गरी झण्डै चार सय २५ जना विद्यार्थी बस्नुपर्ने बाध्यता छ । त्यो पनि अलग अलग शिक्षाका विद्यार्थीहरु ।

विद्यार्थीहरुका लागि शौचालयसमेत बनिसकेको छैन । शौचालय कहाँ जाने भन्ने चिन्ता छ । विद्यालयको अवस्था देखेर विद्यार्थीहरु जिल्ल छन् । ‘विद्यालय त खुला भएको छ, तर यसरी पनि पढाइ होला र सर ?’ भानु मावि दरबार हाईस्कुलका कक्षा १० का विद्यार्थी सञ्जय दाहालले भने ।

विद्यालयका प्रिन्सिपल हेमचन्द्र महतो भने परिस्थिति अनुसार चल्नुपर्ने बताउँछन् । ‘जिल्ला शिक्षा कार्यायबाट पाँचवटा टीएलसी निर्माण गर्ने स्वीकृति पाएकाले दुई चारदिनपछि नै पढाइ सुचारु गर्न सकिन्छ’, प्रअ महतोले भने, ‘दुईचार दिन विद्यार्थीहरुमा रहेको मनोविज्ञान हटाउने किसिमका क्रियाकलाप गर्न सकिन्छ ।’

दरबार हाईस्कुलमै रहेको संस्कृत विद्यालयका विद्यार्थीलाई एउटै टहरामा राखेर पढाउनु सम्भव देख्दैनन्, संस्कृत विद्यालयका प्रधानअध्यापक बद्रीप्रसाद दाहाल । तत्काल अन्य विकल्प नभएकै कारणले जोखिमपूर्ण भवन अगाडि टहरामा पढाइ सञ्चालन गर्नुपरेको दाहाल बताउँछन् ।

विद्यालय सञ्चालनपछि आइतवार दरबार हाइस्कुलमा भेटिएका विद्यालय निरीक्षक इश्वर अर्यालले विद्यार्थीहरुमा भूकम्पको त्रास नहट्दासम्म अस्थायी टहरामै राखेर मनोपरामर्शहरु दिनुपर्ने बताए । केही विद्यालयहरुमा अध्यापन गराउनै समस्या भएकाले यसतर्फ जिल्ला शिक्षा अधिकारीसँग छलफल भइरहेको उनले बताए ।

महांकालमा रातो स्टिकर

Mahankal Mabi
दरबार हाइस्कुल नजिकैको महाबौद्धमा महांकाल मावि छ । चार सय भन्दा बढी विद्यार्थी भएको महाबौद्धको यो विद्यालय बस्न उपयुक्त नभएको भन्दै प्राविधिकहरुले रातो स्टिकर लगाइदिएका छन् । तीनवटै भवन जोखिमपूर्ण रहेको प्रमाणपत्र थमाइएको छ ।

‘शिक्षा कार्यालयले जसरी पनि विद्यालय सञ्चालन गर्नुपर्ने भन्छ, प्राविधिकले रातो स्टिकर टाँसिदिएका छन्, विद्यालयका प्रधानाध्यापक सोहन मानन्धरले भने, ‘महानगरले भवन भत्काउन डोजर ल्याउने बाटो छैन भन्छ, टहरासमेत बनाउने ठाउँ छैन ।’

डेढ महिनादेखि अवरुद्ध भएको पठन पाठन नियमित हुन नसकेकोमा विद्यार्थीहरु चिन्तित छन् । विद्यालय खुल्यो भने पनि कहिलदेखि नियमित हुन्छ भन्ने अन्यौल छ । महाकांल माविमा अध्ययनरत १० कक्षाकी विद्यार्थी दीपिका बुढाथोकी अस्थायी व्यवस्थापन गरेर भए पनि तत्काल पढाइ सञ्चालन गर्नुपर्ने बताउँछिन् ।

‘हामीलाई भूकम्पको चिन्ता छैन, तर पढाइको चिन्ता छ,’ उनले भनिन् । विद्यालयमा पठन पाठन नभए पनि भूकम्पपछि केही विद्यार्थी भने स्काउटबाट राहत तथा उद्धार कार्यमा क्रियाशील छन् ।

स्काउटबाटै भूकम्प प्रभावित क्षेत्रका सक्रिय रहँदै आएकी सोही विद्यालयकी कक्षा ७ की विद्यार्थी सबिना बस्नेत छिटोभन्दा छिटो पढाइ सञ्चालन गर्नुपर्ने बताइन् ।

असनको तलाँछेस्थित त्योड माविको विद्यालय भवनको जोखिम त कम छ, तर प्रवेश गर्ने बाटो धराप अवस्थाको छ । अर्काको घरभित्रको धरापबाट विद्यालय प्रवेश गर्नुपर्ने कारणले शिक्षक विद्यार्थीहरुमा त्रास छ ।

हिमालपारिका विद्यालय खुलेनन्

राजधानीका साथै भूकम्पको केन्द्र मानिएको गोरखा जिल्लामा पनि आइतबारदेखि विद्यालय खुलेका छन् । जिल्लाका अधिकांश विद्यालयहरु खुले पनि हिमालपारिका सात गाविसमा रहेका २० भन्दा बढी विद्यालय कहिलेदेखि सञ्चालनमा ल्याइने हो यकिन भएको छैन ।

क्षेत्र नं १ र २ का प्रायःजसो विद्यालय अइतबारदेखि सञ्चालन गरिएको छ । जस्ता पाताले छाएको टहराभित्र राखेर विद्यार्थीलाई विभिन्न खालका क्रियाकलाप गर्न लगाएर मन भुलाइएको छ भने केही विद्यालयका कक्षा टेन्टभित्र सञ्चालन गरिएको छ ।

विद्यालय खुले पनि जेठभर विद्यार्थीलाई पाठ्यक्रम अनुसारको पठन पाठन नगर्न जिल्ला शिक्षा कार्यालयले शिक्षकलाई निर्देशन दिएको बताइएको  छ । शिक्षकलाई मनोसामाजिक कक्षा सञ्चालनको प्रशिक्षण दिएर प्रशिक्षक तयार गर्ने र एक विद्यालयको एक शिक्षकलाई मनोसामाजिक कक्षा सञ्चालनको जिम्मेवारी दिने जिशिकाको तयारी छ ।

भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाक र त्यसका छिमेकी गाविस लाप्राक, गुम्दा, लापु, सौरपानी, घ्याच्चोक, हंशपुर, सिम्जुङ, मुच्चोक, उहिया, केरौँजा, काशीगाउँ, आरुआर्वाङ, आरुपोखरी, स्वाँरा, ताकुकोट, ताकुमाझलाकुरीबोट, जौवारी, श्रीनाथकोट, छोप्राक, केराबारी, थालाजुङ, हर्मी, पालुङटार नगरपालिका, गोरखा नगरपालिका, बक्राङ, मनकामना, बुंकोट, बोर्लाङ, आरुचनौटेलगायतका गाविसमा रहेका अधिकांश विद्यालय ध्वस्त भएका छन् । ध्वस्त भएका तीन हजार बढी कक्षा कोठा मध्ये दुई हजार कक्षा कोठासहित टहरा निर्माण गरिएको छ । टहरा निर्माणलाई अहिले तीव्रता दिइएको राससले लेखेको छ ।

यो पनि पढ्नुस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment