Comments Add Comment

एमाओवादी प्रस्ताव : भौगोलिक सीमांकनसहितको ८ प्रदेश

२२ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादीले प्रमुख दलहरुबीच भौगोलिक सीमांकनसहित संघीय संरचनामा सहमति हुनुपर्ने प्रस्ताव अघि सारेको छ ।

छोटो प्रक्रियाबाट संविधान जारी गर्न र सहमतीय सरकार बनाउन सहमत प्रमुख दलहरुबीच ६ वा ८ प्रदेशको विकल्पमा छलफल भइरहेको छ ।

फाइल फोटो
फाइल फोटो

एमाओवादी शीर्षनेताहरुबीच शुक्रबार बिहान भएको आन्तरिक छलफलमा संघीयतामा सहमतिको विकल्पबारे छलफल भएको छ । स्रोतका अनुसार नेताहरुबीच भौगोलिक सीमांकनसहित ८ प्रदेशको प्रस्ताव चार दलको बैठकमा लैजाने समझदारी भएको छ ।

माओवादीले संघीयतामा सहमति गर्दा भौगोलिक सीमांकन अहिले नै टुङ्गो लगाउनुपर्ने बताएको छ । ‘नामाकरण प्रदेश सभालाई दिन सकिन्छ तर, भौगोलिक सीमांकन अहिले नै टुङ्गो लगाउनुपर्छ’ एक नेताले अनलाइनखबरसँग भने-‘विवादित केही क्षेत्रका प्राविधिक बाहेक सीमांकनमा सहमति गरेर जान सकिन्छ ।’

प्रदेशहरुको नाम भने प्रदेश सभालाई नै राख्न दिन एमाओवादी तयार भएको छ । यसअघि पहिचानमा आधारित नाम राख्नु पर्ने बताएको एमाओवादी बहुपहिचान हुँदै नामांकन प्रदेशसभालाई दिन तयार भएको हो ।

सत्तारुढ कांग्रेस र एमालेले पनि आठ प्रदेशसम्म जान सकिने बताएका छन् । तर, नाम प्रदेशसभाले राख्ने र सीमांकन आयोगले गर्नुपर्ने दुई दलको प्रस्ताव छ ।

स्रोतका अनुसार एमाओवादी बैठकमा ६ प्रदेशको विकल्पमा पनि छलफल भएको थियो । तर, भौगोलिक सीमांकनसहितको ८ प्रदेशमा नै कांग्रेस र एमालेलाई सहमत गराउने प्रयास गरिने नेताहरुले बताए ।

एमाओवादी शीर्ष नेताहरुको बैठकले प्रत्यक्ष ६० र समानुपातिक ४० प्रतिशत रहने मिश्रति निर्वाचन प्रणलीमा सहमति गर्न सकिने बताएको छ । तर, समानुपातिकमा मजदुर किसानको सहभागिता सुनिश्चित गर्नुपर्ने उसको प्रस्ताव छ ।

साथै दुई वा दुईभन्दा बढी दलले एउटै चुनाव चिहृनमा चुनाव लड्न पाउने व्यवस्था गर्ने एमाओवादीको प्रस्ताव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment