Comments Add Comment

ओलीलाई एमाओवादीले प्रस्ताव गरेको छैन : डा. भट्टराई

Baburam-Bhattrai

२२ जेठ, ललितपुर । एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकारको प्रधानमन्त्रीमा आफ्नो पार्टीले एमाले अध्यक्ष केपी ओलीलाई प्रस्ताव नगरेको स्पष्ट पारेका छन् ।

एमाओवादीले ओलीलाई समर्थन गर्ने चर्चा चलिरहेका बेला भट्टराईले भने-‘दल विशेषको नेतृत्वबारे प्रस्ताव गरिएको छैन, केपी ओलीलाई एमाओवादीले प्रधानमन्त्री बनाउन लागेको भन्ने कुरा गलत हो ।’

ललितपुरको सानेपास्थित आफ्नै निवासमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले संविधान निर्माणमा सहमति गरी राष्ट्रिय सरकार बनाउनु पर्ने दोहोर्‍याए । राष्ट्रिय सरकार गठन पछि भूकम्पपछि भएको भौतिक क्षतिको पुनर्निर्माणमा सहयोग पुग्ने उनको भनाइ थियो ।

प्रदेशको सीमांकन र संख्यामा सहमति भए छोटो विधिबाट संविधान जारी गर्न सकिने भन्दै उनले केही हप्तामै नयाँ संविधान जनताले पाउने दाबी गरे । प्रत्येक धारालाई मतदान गरेर टुंग्याउने नियमावली निलम्बन गरी सिंगो संविधान नै एकमुष्ट पारित गर्न सकिने उनको भनाइ थियो ।

भूकम्पका कारण नागरिक संविधानका विषयमा सुझाव दिने मनस्थितिमा नरहेकाले मस्यौदा नागरिकको बीचमा लान आवश्यक नरहेको उनले तर्क समेत गरे ।

पुनर्निर्माण प्राधिकरणको नेतृत्वबारे सञ्चारकर्मीको जिज्ञासामा पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले प्राधिकरणमा आफूले कुनै दावी नरहेको स्पष्ट पारे । उनले भने-‘मैले कुनै पद दाबी गरेको छैन । म भन्दा विज्ञ र योग्य मान्छेहरु मुलुकभित्र छन् । उनीहरुलाई आवश्यक पर्दा सहयोग गर्न सक्छु ।’

एमाओवादी नेता भट्टराईले भूकम्प पीडितको राहत, पुनःस्थापनासँगै पुनर्निर्माण र नवर्निर्माणका लागि अधिकारसम्पन्न प्राधिकरण आवश्यक रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment