Comments Add Comment

मधेसी र जनजातिलाई विश्वासमा लिने प्रधानमन्त्रीको प्रयास

२३ जेठ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चामा आवद्ध दलहरुसँग परामर्श गरेका छन् ।

प्रमुख चार दलबीच सहमतिको प्रयास भइरहेका बेला प्रधानमन्त्री कोइरालाले प्रचण्डसहितका मोर्चाका नेताहरुसँग संयुक्त रुपमा छलफल गरेका हुन् । ‘सहमति प्रक्रियामा ३० दलमा रहेका दलहरुलाई विश्वासमा लिने प्रयासमा छलफल भएको हो’ एक नेताले भने ।

बैठकमा कोइराला र प्रचण्डले अहिलेसम्म भएको छलफल र सहमति प्रयासबारे जानकारी गराएका छन् । अन्तरवस्तुमा छलफल गर्ने भन्ने थियो । तर, एकसरो कुरा राख्ने काम मात्र भयो’ संघीय गणतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष परशुराम तामाङले अनलाइनखबरसँग भने ।

उनका अनुसार प्रचण्डले दलहरुबीच छ वा ८ प्रदेशमा छलफल भइरहेको बताएका छन् । ‘८ मा जान सकिन्छ भन्ने संकेत थियो । तर, एमालेले आन्तरिक छलफल गरिरहेको बताएको प्रधानमन्त्रीले भन्नु भएको छ’ उनले भने ।

छलफलमा ३० दलीय मोर्चामा आवद्ध दलका नेताहरुले संविधान र भूकम्प प्रभावितको पुनःस्थापना र पुनःनिर्माण पहिलो प्राथमिकता भएको बताए ।

मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले सहमतिबाटै संविधान बनाउने चार पक्षको सहमतिमा आफूहरुले पनि सहमति जनाएको बताए ।

कांग्रेसका नेता रमेश लेखकले प्रमुख चार राजनीतिक शक्तिको बीचमा भएको समझदारीबारे जानकारी गराइएको बताए । ‘हामीले हालसम्म भएका प्रगतिका बारेमा जानकारी गरायौँ, उहाँहरुले त्यसलाई स्वीकार गर्नुभएको छ । सबै दललाई जानकारी गराएर सहमतिमा नै संविधान जारी गर्ने विषयमा सबै दलबीच समान धारणा बन्ने अवस्थामा पुगेको छ’ नेता लेखकले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment