Comments Add Comment

उपत्यकालाई संकटग्रस्त घोषणा गरेकोमा एमाले असन्तुष्ट

३ असार, काठमाडौं । आफ्नै दलको सहभागिता रहेको सरकारले उपत्यकाका तीन जिल्लालाई थप एक बर्षका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरेकोमा एमालेले असन्तुष्टि जनाएको छ । यसरी गरिएको घोषणाले पर्यटन व्यवसायलाई नकारात्मक असर पर्ने एमालेको आरोप छ ।

फाइल तस्वीर

एमाले उपाध्यक्ष वामदेव गौतमले सम्हालेको गृहमन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले उपत्यकालाई एक वर्षका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । तर, आफ्नै पार्टीका नेता वामदेव गौतमको अगुवाइमा भएको निर्णयमाथि एमालेले असन्तुष्टि जनाएको छ ।

‘ध्वस्त संरचनाको व्यवस्थापनलगायत विषयमा यो निर्णय उचित भए पनि यसले पर्यटन उद्योगमा भने गम्भीर नकारात्मक प्रभाव पार्ने सम्भावना बढाएको छ, एमाले महासचिव पोखेरलले विहीबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यस्तो घोषणाले यस क्षेत्रमा भ्रमण गर्ने पर्यटकहरूको बीमालगायत विषयलाई जटिल बनाउँछ र पर्यटन क्षेत्रलाई थप अप्ठ्यारोमा पार्छ ।’

संकटग्रस्त क्षेत्र घोषणाबारे सरकारको ध्यानाकर्षण गराउँदै एमाले नेता पोखरेलले भनेका छन् ‘पर्यटकीय स्थलहरूलाई ‘सङ्कटग्रस्त क्षेत्र’ को दायरा बाहिर राख्ने व्यवस्था अविलम्ब गरिनुपर्छ ।’

एमाले महासचिव पोखरेलले विहीबार जारी गरेको वक्तव्यमा स्वयंसेवक परिचालनमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाइएको छ ।

आगामी असार १० गते गर्न लागिएको दाताहरुको सम्मेलनलाई प्रभावकारी बनाउन एमालेले सरकारको ध्यानाकर्षण गराएको छ ।

‘असार १० गते गर्न लागिएको अन्तर्राष्ट्रिय दातृ सम्मेलनलाई परिणाममुखी र सफल बनाउन व्यवस्थित तयारी गरिनुपर्छ,’ एमालेको वक्तव्यमा भनिएको छ, ‘सम्मेलनमा नेपालको प्रस्तुति सबैथोक सकिएको, कमजोर र याचकका रूपमा होइन, सङ्कटबाट उठ्न कठोर प्रयत्न गरिरहेको, पुनर्निर्माणको आत्मविश्वास र स्पष्ट कार्ययोजना भएको मुलुकका रूपमा हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment