Comments Add Comment

घरमै बसीबसी पानीको महशुल तिर्न पाएपछि लेखनाथबासी दंग

E-Service-at-Lekhnath-Pokha

  • ई-सेवाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन । यस्तो सेवा नेपालमै पहिलो भएको दाबी गरिएको छ ।

सन्देश श्रेष्ठ
३ असार, पोखरा । तपाईं कास्कीको लेखनाथबासी हुनुहुन्छ भने खुशीको खबर छ । खानेपानीको महशुल तिर्न घण्टौं लगाएर खानेपानी कार्यालय पुग्ने, महशुल तिर्न लाइनमा बस्ने हैरानी व्यहोर्नु अब पर्दैन ।

लेखनाथ नगरपालिकाका बासिन्दालाई लक्षित गरी सञ्चालित लेखनाथ साना शहरी खानेपानी आयोजनाले मोबाइल र इन्टरनेटबाट महशुल तिर्ने ब्यवस्था गरेको छ ।

खानेपानी आयोजनाले विहीबार पोखरामा पत्रकार सम्मेलन गरी गेट-वे कम्पनी ई-सेवासँग सहकार्य गरेर अनलाईनबाटै महशुल तिर्ने सेवा शुरु गरेको जानकारी दिएको हो ।

यो सेवा संस्थाको वार्षिकोत्सवको अवसर पारेर शुक्रबारबाट शुरु हुने संस्थाले जनाएको छ । मोवाइलबाट तिर्न नजान्ने तथा नसक्नेहरुलाई मध्यनजर गर्दै संस्थाले लेखनाथका सबै क्षेत्रलाई समेट्ने गरी फरक-फरक ठाउँमा ईन्टरनेटको पहुँच भएका ४३ स्थानमा केन्द्र तोकेर ‘ई-सेवा’ प्रदान गरेको पनि जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै खानेपानी आयोजनाका प्रमुख बोधराज लामिछानेले भने, ‘सेवाग्राहीहरुलाई रकम भुक्तानी गर्दा सहज र छिटो छरीतो पार्न तथा आधुनिक सेवा दिने उद्देश्यले हामीले यस्तो सेवा संचालनमा ल्याएका हौं ।’ संस्थाले नेपालमै पहिलोपटक खानेपानीको क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गरेको उनले दाबी गरे ।

उनका अनुसार मोवाईल तथा ईन्टरनेटबाट रकम भुक्तानी गर्दा कुनै शुल्क लाग्दैन भने सेवा केन्द्रबाट सेवा लिदा सेवा शुल्क वापत उपभोक्ताले १० रुपैया तिर्नु पर्दछ ।

ई-सेवाको ब्यवस्थापन गर्ने फोन-पे प्रालिका प्रमुख कार्यकारी अधिकृत अस्गर अलिले लेखनाथवासीलाई नेपालकै नमुनाको रुपमा विकास गर्ने गरी उक्त सेवा विस्तार गरेेको बताए । उनले भने, ‘यस्तो सेवाले उपभोक्तालाई पनि धेरै फाईदा पुग्छ, उनीहरुको समय र खर्च समेत बचत ह्ुन्छ ।’

स्थानीय खुसी

खानेपानीको महशुल अनलाइनबाटै भुक्तानी गर्न सकिने भएपछि स्थानीय खुशी भएका छन् । समयको बचतसँगै झन्झटबाट समेत मुक्त भएको उनीहरुको भनाइ छ ।

लेखनाथ शिशुवा ८ की सारदा बास्तोलाले भनिन्, ‘पानीका लागि राती ३ बजे नै उठेर गाग्री बोकेर हिंड्नुपर्ने हामी खानेपानी आयोजना आएपछि घरमै पानी पाएर दंग थियौं, अहिले घरमै बसीबसी बिल तिर्न सकिने बनाएर थप गुन लगायो ।’

आयोजनाले हाल लेखनाथका ५८ हजार ८ सय १६ जनसंख्या मध्ये ६८ प्रतिशत अर्थात ४६ हजार जनसंख्यालाई पानी पुर्‍याउँदै आएको जनाएको छ ।

खानेपानी तथा ढल निकास विभाग, नगर विकास कोष लेखनाथ नगरपालिका कार्यालय र लेखनाथ साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था बीच ०६१ साल बैशाख ६ गते चौपक्षीय सम्झौता भई उक्त खानेपानी शुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment