Comments Add Comment

लोकसेवा आयोगमा ‘गाडा अगाडि, गोरु पछाडि’ !

विनोद घिमिरे

११ साउन, काठमाडौं । के तपाई खरदार वा सुब्बाका लागि लोकसेवाको परीक्षा दिन खोजिरहनुभएको छ ? यति छ भने तपाईका सामु दुईवटा समस्या छन्- प्रथमतः यसवर्षदेखि तपाई लोकसेवाले लिने प्रारम्भिक जाँच पास गरेपछिमात्रै खरदार वा नायव सुब्बामा प्रतिस्पर्धा गर्न पाउनुहुन्छ, दोस्रोः लोकसेवा आयोगले अहिलेसम्म प्रारम्भिक परीक्षाको पाठ्यक्रम नबनाएको हुँदा तपाईले के जाँच दिने भन्ने टुंगो लागेको छैन ।

Lok-Sewa-Aayog-Nepal

लोकसेवा आयोगले यस वर्षदेखि पूर्वपरीक्षा पास हुनेहरुलाई मात्रै प्रतिस्पर्धा गराएर सुब्बा र खरिदारका पदहरुमा पदपूर्ति गर्ने निर्णय गरिसकेको छ । त्यसैअनुसारको परीक्षाको बार्षिक कार्यतालिका पनि प्रकाशित भैसकेको छ ।

तर, ती पदहरुको परीक्षाको किसिम र पाठ्यक्रम भने अझै निश्चित नहुँदा परीक्षार्थीहरु के पढ्ने भन्ने अलमलमा परेका छन् । आयोगले पाठ्यक्रमविनै परीक्षा तालिका सार्वजनिक गरेपछि ‘गोरु पछाडि, गाडा अगाडि’ भन्ने आहान चरितार्थ भएको छ ।

यसअघि अधिकृत तहमा मात्रै प्रतिस्पर्धापूर्व प्रारम्भिक परीक्षामा लिइन्थ्यो, जसमा उत्तीर्ण हुनेहरुलाई मात्र खुल्ला प्रतिस्पर्धामा सहभागी गराएर छनौट गरिन्थ्यो । यसै आर्थिक बर्षदेखि खरिदार र सुब्बामा पनि यही नियम लागु हुँदैछ ।

लोकसेवा आयोगकी सहप्रवक्ता गीता हुमागाईंले अनलाइनखबरसँग भनिन्, ‘यो नयाँ नियम आउँदो परीक्षादेखि नै लागु हुन्छ, हामीले बार्षिक तालिका पनि निकालिसकेका छौं ।’

आर्थिक वर्ष ०७२/७३ को बार्षिक तालिका अनुसार राजपत्र अनंकित प्रथम श्रेणी (सुब्बा) को अप्राविधिक पदको प्रारम्भिक परीक्षा फागुन महिनामा हुनेछ । त्यसलाई लोकसेवाले प्रथम चरणको परीक्षा भनिएको छ ।

प्रथम चरणको परीक्षा पास भएकाहरु मात्र वैशाख महिनामा हुने दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउनेछन् । दोस्रो चरणमा उत्तीर्ण भएकाहरु कम्प्युटर र अन्तरवार्ता लगायतका परीक्षा पास गर्दै निजामती सेवामा प्रवेश गर्नेछन् ।

लोकसेवा आयोगकी सहायक प्रवक्ता हुमागाइँले भनिन्, ‘अफिसर लेभलको जस्तै खरिदार र सुब्बामा प्रारम्भिक परीक्षाको अंक जोड्ने कि नजोड्ने, कति जोड्ने भन्ने निर्णय भैसकेको छैन, हामी यसबारे छलफलमै छौं ।’

अधिकृत तहमा २-२ नम्बरका एक सय प्रश्न गरी २ सय पूर्णाङकको प्रारम्भिक परीक्षा हुन्छ । सो परीक्षामा १ सय नम्बर पाए पास भइन्छ । प्रारम्भिक परीक्षाको कुल प्राप्तांकको २० प्रतिशत अंक फाइनल परीक्षामा जोडिन्छ ।

अन्योल कायमै

लोकसेवा आयोगले अधिकृत तहको आवश्यक जनशक्ति केन्द्रीय कार्यालयबाट निर्धारण गर्छ । अरु तहका जनशक्ति क्षेत्रीय र अञ्चल कार्यालयबाट माग भएबमोजिम विज्ञापन खोल्छ ।

प्रारम्भिक परीक्षा (प्रथम चरण) मा पास भएकाहरुको प्राप्ताङ्क दोस्रो चरणको परीक्षाको प्राप्ताङ्कमा जोड्ने कि नजोड्ने भन्ने अन्योल कायमै छ । अधिकृत तहमा हाल हुँदै आएको प्रारम्भिक परीक्षाको २० प्रतिशत अंक दोस्रो चरणको परीक्षाको प्राप्ताङ्कमा जोडिन्छ ।

कस्तो होला पाठ्यक्रम ?

लोकसेवा आयोगले नयाँ नियम लागु गरेपछि पाठ्यक्रम कस्तो होला भनेर परीक्षार्थीहरु उत्सुक छन् । सहायक प्रवक्ता हुमागाईंका अनुसार सुब्बा र खरिदारको प्रारम्भिक परीक्षामा बस्तुगत प्रश्न हुनेछन् ।

‘अहिले अफिसर लेभलमा जस्तो छ, सुब्बा र खरिदारको प्रारम्भिक परीक्षा लिने तरिका पनि त्यस्तै हुन्छ,’ सहायक प्रवक्ता हुमागाईंले भनिन् ।

तर, कति अंक पाए पास हुने र कति अंक जोडिने वा नजोडिने भन्नेबारे निर्णय हुन बाँकी छ ।

नयाँ नियम अप्राविधिकलाई मात्रै

प्रारम्भिक परीक्षा तत्काललाई अप्राविधिक पदहरुमा मात्रै लागु हुने छ । कम्प्युटर अपरेटर लगायतका प्राविधिक पदहरुमा भने प्रारम्भिक परीक्षा लिइने छैन ।

अप्राविधिक तहको परीक्षाको आवेदन खुल्दा धेरै आवेदन पर्ने, सिट प्लान, प्रश्नपत्र, कपि, परीक्षा सञ्चालनका लागि चाहिने जनशक्ति लगायतको व्यवस्थापन गर्न झन्झटिलो र कठिन हुने भएकाले नयाँ नियम लागु गरिएको लोकसेवा आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment