१८ साउन, काठमाडौं । छिट्टै नेपाली बजारमा भित्रिन लागेको फोर्डको नयाँ कार ‘फिगो असपायर’को बुकिङ सुरु भएको छ । फोर्ड गाडीको नेपाली बिक्रेता गो फोर्डले सोमबारदेखि फिगो असपायरको बुकिङ सुरु गरेको हो ।
फिगो असपायर यही महिना नेपाली बजारमा आउने कम्पनीले जनाएको छ । कम्पनीले एक लाख रुपैयाँमा यस कारको बुकिङ लिइरहेको छ । कारको मूल्य भने सार्वजनिक गरिएको छैन । पछि ग्राहकलाई कारको मूल्यमा चित्त नबुझे बुकिङ रकम फिर्ता गर्ने कम्पनीले जनाएको छ ।
फिगो असपायर इन्ट्री लेवल कम्प्याक्ट सेडान कार हो । यो पेट्रोल र डिजेल दुबै इञ्जिनमा उपलब्ध हुनेछ । पेट्रोल कारमा १.२ लिटरको इञ्जिन छ भने डिजेलमा १.५ लिटरको इञ्जिन रहेको छ ।
पेट्रोल कारले प्रतिलिटर १८.२ किलोमिटर र डिजेल कारले २५.८ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । फिगो असपायर अटोमेटिक र म्यानुअल दुबै भर्सनमा उपलब्ध हुने बताइएको छ ।
अटामेटिक गियर भएको फिगो असपायरमा १.५ लिटरको पेट्रोल इञ्जिन रहेको छ । यसले प्रतिलिटर १७.२ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।
फिगो असपायरले नेपाली बजारमा होण्डा अमेज, मारुती डिजायर, हुन्डाई एक्सेन्ट, टाटा जेष्ट लगायतका इन्ट्री लेवल सेडान कारसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।
यसमा सबैभन्दा आकर्षक फिचरका रुपमा ‘माइ की’ रहेको छ । यस ‘माइ की’ मा गाडीको स्पीड, किलोमिटर, म्यूजिक भोल्यूम सेटिङ गरेपछि ड्राइभरले त्यो भन्दा बढी गतीमा गाडी हाँक्न र भोल्यूम बढाउन सक्दैन ।
‘माइ की’मा १० किलोमिटरको दुरी सेटिङ गरेमा ड्राइभरले त्यो भन्दा बढी कुदाउन पाउँदैन, गाडी अटोमेटिक बन्द हुन्छ । ड्राइभर तथा छोराछोरीलाई गाडी चलाउन दिँदा ‘माइ की’ सेटिङ गरिदिए ढुक्क हुन्छ । उसले त्यो भन्दा बढी गति वा दुरीमा गाडी चलाउन सक्दैन ।
यसमा ६ वटा एयरब्याग रहेका छन् । गाडीको ड्यास बोर्डको माथी स्मार्टफोन आफुतिर फर्काएर चार्ज गर्न मिल्ने व्यवस्था गरिएको छ । जसले गर्दा फोन वा म्यासेज आएमा मोबाइल ननिकाली हेर्न वा चलाउन सकिन्छ ।
फिगो असपायर १० वटा भेरियन्टमा नेपाली बजारमा आउने छ । जसमध्ये ६ भेरियन्ट पेट्रोल इञ्जिनमा र ४ भेरियन्ट डिजेल इञ्जिनमा हुनेछन । कम्पनीका अनुसार ६ वटा पेट्रोल इञ्जिन कारमध्ये २ वटा भेरियन्ट अटोमेटिक हुन् ।
यो ७ कलर रुबी रेड, स्पार्कलिङ गोल्ड, अक्सफोर्ड ह्वाइट, टक्सिडो ब्ल्याक, डिप इक्प्याक्ट ब्लु, इन्गोट सिल्भर र स्मोक ग्रेमा उपलब्ध हुनेछ । जसको मूल्य नेपाली बजारमा २५/२६ लाखदेखि सुरु भएर ३५/४० लाख रुपैयाँसम्म पर्ने अनुमान गरिएको छ ।
फोर्डको फियष्टा र क्लासिक सेडान कारको बिक्री घटिरहेका बेलामा आउन लागेको फिगो असपायरले पुन बजार तताउने अपेक्षा कम्पनीको छ ।
इन्ट्री लेवल सेडान कारमा फिगो असपायर अग्रपंक्तीमा रहने विश्वास कम्पनीको छ । अहिलेसम्म फोर्डसँग इन्ट्रीलेवल सेडान कार छैन । कम्पनीले फिगो असपायर चालु आर्थिक वर्षमै ५ सय थान बिक्री गर्ने लक्ष्य राखेको छ ।