Comments Add Comment

इजरायलमा तरकारी टिप्ने नेपाली भन्छन्- स्वदेशमै तालिम दिइयोस्

Isreal_agriculture-3

नारायण पंगेनी 

३० साउन, काठमाडौं । एघार महिने कृषि तालिममा इजरायल पुगेका नेपाली युवाहरुले त्यहाँ पुगेपछि बल्ल काम र समयको महत्व बुझे । तर, यस्तो कृषि तालिम इजरायलमा नभई आफ्नै देशमा सञ्चालन गर्न उनीहरुले नेपाल सरकारसँग आग्रह गरेका छन् ।

हामीले नै मेहनत गरेर रोपेको टमाटर (गोलभेंडा) को एउटै बोटमा २५ किलोसम्मको फलेको छ, गरे के हुँदो रहेनछ र भन्ने शिक्षा पाएका छौं- शिव लम्साल

मेनपावर कम्पनीहरुले कामदारसँग मनपरि पैसा असुलेर ठगी गरेको भन्दै इजरायलले कामदार लिन बन्द गरेपछि चार वर्षदेखि नेपालीहरुका लागि इजरायल बैदेशिक रोजगार बन्द भएको थियो ।

तर, इजरायलले नेपाली कामदार लिन बन्द गरे पनि साना किसान विकास बैंकले तीन वर्षअघिदेखि प्रशिक्षार्थी कामदारका रुपमा नेपाली युवा युवतीहरुलाई इजरायल पठाउँदै आएको छ ।

इजरायलले एक्कासी नेपाली कामदार लिन बन्द गरेपछि इजरायल जाने तयारीमा रहेका ४ सय नेपाली अलपत्र परेका थिए । तर, साना किसान बैंकले ११ महिने कृषि तालिमका लागि भन्दै आफ्ना बैंकका सदस्यहरु मध्येबाट छनोट गरी युवाहरुलाई इजरायल लैजाँदै आएको छ ।

Isreal_agriculture

अहिलेसम्म बैंकले ५ सय १५ जना युवाहरुलाई तालिमका लागि इजरायल लगिसकेको छ । उसले तेस्रोपटक प्रशिक्षार्थी कामदारका रुपमा युवाहरुलाई लैजाने तयारी गरिरहेको छ भने उताबाट तालिम सकेर फर्कने तयारी पनि भइरहेको छ ।

यसैवीच सरकारले नै सम्झौता गरेर ३ सय महिलालाई घरेलु कामदारका रुपमा इजरायल लैजान भर्खरै अर्को सहमति भइसकेको छ । पहिलो चरणमा ५० महिला इजरायल लैजाने तयारी हुँदैछ ।

न्युनतम मासिक तलब १ हजार डलरभन्दा बढी हुने भनिएपछि इजरायल जान नेपाली महिलाहरुले तयारी थालिसकेका छन् । सम्झौता अनुसार एसएलसी उतीर्ण तथा अंग्रेजी भाषामा इन्टरमिडियट गरेको हुनुपर्ने भनिए पनि युवतीहरु धमाधम हिब्रु भाषासमेत पढ्न थालिसकेका छन् ।

पहिलो चरणमा ५० जना महिला कामदार ‘केयर गिभर’ का लागि जान पाउने भएका छन् । उनीहरुसँग टिकट खर्चबाहेक १० हजार मात्रै खर्च लाग्ने र त्यहाँ गएर आकर्षक तलब पाउने श्रम मन्त्रालयले जनाएको छ ।

११ महिने तालिमको दुःख

साना किसान बैंकबाट प्रशिक्षार्थी कामदारका रुपमा ११ महिनाका लागि इजरायल गएका युुवाहरुको अनुभव चाँहि निकै तीतो छ ।

तालिमका लागि गएका युवाहरु सातामा एक दिन कलेज गएर पढ्छन् । बाँकी ६ दिन उनीहरु दैनिक ८ घण्टादेखि १८ घण्टा सम्म कृषि फार्ममा श्रम गर्छन् । ‘कृषि तालिममा आएको भनिए पनि सातामा एक दिन मात्रै कलेज आएको महसुस हुन्छ’, बाँके कोहलपुर चप्परगौढीका शिब लम्सालले भाइबरमा अनलाइनखबरसँग भने, ‘बाँकी ६ दिन गधाले जस्तै काममा जोतिनुपर्छ ।’

Isreal_agriculture-2

त्यहाँका आफू काम गर्ने फार्मका मालिकहरु पनि आफूहरुसँगै काममा खटिने गरेको उनीहरुले प्रत्यक्ष देखेका छन् । मरुभूमिजस्तो जमीनमा दैनिक १८ घण्टासम्म जोतिनुपर्दाको दुःख उनीहरुले भोगेका छन् ।

‘प्रशिक्षार्थी भएर आउँदा त यो दुःख छ, अझ कामकै लागि, त्यो पनि घरेलु कामदारको हालत के होला ?’ अनलाइनखबरसँग कुरा गर्दै बर्दिया मैनापोखरका पवन त्रिपाठी भन्छन्, ‘त्यसैले नेपालीहरुलाई विदेश पठाउन पहल गर्नुभन्दा सरकारले नै हामीजस्ता युवाहरुलाई स्वदेशमै आधुनिक कृषि तालिम दिलाउनुपर्छ ।’

नेपालीलाई व्यवसायिक कृषितर्फ आकषिर्त गरी युवाशक्तिलाई विदेश जानबाट रोकिनुपर्ने इजरायल पुगेपछि त्रिपाठीले महसुस गरेका छन् ।

इजरायलको मरुभूमिजस्तो खेतमा तरकारी फलेको देख्दा नेपाली युवाहरुको घैंटोमा घाम लागेको छ ।’ हामीले नै मेहनत गरेर रोपेको टमाटर (गोलभेंडा) को एउटै बोटमा २५ किलोसम्मको फलेको छ,’ बाँकेका शिव लम्सालले भने, ‘गरे के हुँदो रहेनछ र भन्ने शिक्षा पाएका छौं ।’

Isreal_agriculture-4

इजरायल गएर काम गरेपछि बल्ल नेपाली युवाले कामको महत्व बुझेका छन् । साना किसान बैंकबाट इजरायल गएका काठमाडौं असनका प्रवीण डंगोलले आफूले समयलाई बल्ल चिनेको अनलाइनखबरलाई बताए ।

प्रशिक्षार्थी कामदार भई झण्डै १० महिना काम गरिसकेका उनीहरुले डिप्लोमा इन एगि्रकल्चरको प्रमाणपत्र बोकेर स्वदेश आइपुगेपछि नेपालमै कृषिमा काम गर्ने योजना बनाएका छन् ।

स्वदेशमा रोजगारीको अभाकै कारण ठूलो संख्यामा युवाहरु विदेशिन लर्को लागेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार वैदेशिक रोजगारमा जानेको संख्या ३६ लाख पुगिसकेको छ ।

तर, बाहिरबाट काममा आउनेप्रति इजरायलीहरुको दृष्टिकोण राम्रो नहुने भन्दै त्यहाँ पुगेका युवाहरु भने केयर गिभरमा इजरायल जान लागेका महिलाहरुलाई नेपालमै इलम गर्न सुझाव दिन्छन् ।

तर, कृषि तालिमका लागि इजरायल जाने युवाहरुले प्रमाणपत्रका साथमा ८/१० लाख रुपैयाँसमेत कमाएर ल्याउने सम्भावनालाई भने उनीहरुको आशलाग्दो पक्ष हो । तालिममा जाँदा करिब ६०/६५ हजार खर्च हुने र राम्रो कमाइ हुने भएकाले युवाको आकर्षण देखिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment