Comments Add Comment

मधेसका मुख्य नाकाहरुमा भारतीय पक्षकै अवरोध

Sunauli-Bhansar

रविन्द्र घिमिरे (साथमा भैरहवाबाट सलमान खान र बिराटनगरबाट ध्रुव भट्टराई) 

७ असोज, काठमाडौं । सुरक्षाको कारण देखाउँदै तराई मधेसका मुख्य नाकाहरुमा भारतीय पक्षकै अवरोध उत्पन्न भएको छ । मधेसी मोर्चाले बिहीबारदेखि भन्सार नाका ठप्प पार्ने गरी आन्दोलन सुरु गरेपनि अधिकांश नाकामा भारतीय पक्षबाट अवरोध भएको छ ।

संविधानलाई लिएर बेखुस भारतले आपूर्ति असहज हुन सक्ने चेतावनी दिए लगतै सीमामा कडाइ गर्दै आएको छ । तराई मधेसमा भइरहेको आन्दोलनको कारण देखाउँदै भारतले सीमामा कडाइ गरिरहेको बेला मधेसी मोर्चाले नाकामा नै धर्ना दिन थालेपछि भारतीय पक्षबाट थप कडाइ हुन थालेको छ । जसको प्रत्यक्ष असर नेपालको आपूर्ति प्रणालीमा देखिएको छ ।

बिराटनगर भन्सारमा एउटै गाडी आएनन्

बिहीबार मधेसी मोर्चाले बिराटनगरको रानी भन्सार नाकामा कुनै अवरोध गरेको थिएन । तर, भारतीय जोगमनी भन्सारले सुरक्षाको कारण देखाउँदै बिहीबार बिराटनगरमा एउटा पनि मालबाहक सवारी छिर्न दिएको छैन ।

‘सुरक्षा जाँच भन्दै भारतबाट आज एउटा पनि गाडी आएनन्’ बिराटननगर भन्सार प्रमुख कृष्णबहादुर बस्नेतले अनलाइनखबरलाई भने-‘भन्सार जाँचपासमा भारतले सुस्तता देखाएको छ ।’

उनले बुधबार बेलुकीदेखि भारतबाट भन्सार जाँचपास भएर एउटा पनि गाडी आइनपुगेको जानकारी दिए । दैनिक सयौं गाडी आउने बिराटनगर भन्सारमा बुधबार बेलुकी आएका गाडीलाई मात्रै जाँचपास गरिएको छ । ‘सीमा पारीबाट नै गाडी छुटेको छैन’ बस्नेतले भने ‘दिउँसो बिराटनगर उद्योग बाणिज्य संघका साथीहरु पनि भारतीय भन्सार गएर गाडी छिटो छुटाउन पहल गर्नुभएको मैले बुझेको छु ।’

आफुले पटक-पटक जोगमनी भन्सारलाई गाडी छुटाउन पहल गरेको र सकारात्मक जवाफ आएपनि गाडी भने नछुटेको बस्नेतले सुनाए ।
बिराटनगरको रानी भन्सार गेटमा दिउँसो तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर लगातका नेता कार्याकर्ताले केहीबेर धर्ना दिएका थिए । तर, उनीहरु केहीबेरमा हिँडेपछि अवरोध भएको थिएन ।

काँकडभिट्टाबाट ६ वटा मात्र गाडी भित्रिए

झापाको काँकडभिट्टा नाका पनि बिहीबार दिनभर ठप्प जस्तै भयो । आन्दोलनरत मधेसी मोर्चाका कुनै कार्यकर्ताको उपस्थिति नभएपनि भारतीय भन्सारले सुरक्षाकै कारण देखाएर गाडी रोकेपछि नाका शुन्य भयो ।

दिनभरमा ६ वटा डिजेल ट्यांकर र एउटा ग्यासको बुलेटमात्र भारतीय भन्सारको जाँचपास गरेर नेपाल भित्रिएको मेची भन्सार प्रमुख भीम अधिकारीले जानकारी दिए । ‘दिनमा डेढसयसम्म गाडी भन्सार पास भएर नेपाल आउँथे । बिहानदेखि भने लगभग गाडीको आवत-जावत ठप्प भयो’ अधिकारीले भने-‘हिजो ८८ वटा गाडी आएका थिए । आज तिनै गाडी जाँचपास गराउने काम मात्र गरियो ।’

नेपाली अधिकारीहरुका अनुसार बुधबार २ बजेदेखि नै भारतीय भन्सारले नेपाल आउने गाडीको जाँचपासमा सुस्तता देखाएको थियो । ‘सुरक्षाको कारण जाँच कडा बनाएको भनेका छन्’ उनले भने-‘सीमा पारी नेपाल आउन भन्सार जाँचपासको प्रतिक्षामा रहेको सवारीको लामो लाइन छ ।’

६ सय गाडी आउने बेलहिया नाकाबाट १२ गाडी आए

रुपन्देहीको बेलहिया नाकाबाट पनि बिहीबार भारतीय पक्षले सुरक्षा चेकजाँचका नाममा धेरै गाडी छुटाएन । बिहीबार १२ वटा मात्र मालवाहक सवारी साधनहरु नेपाल भित्रिएका भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

सुनौली नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सुरक्षाको कारण देखाउँदै कडाई गरेको थियो । उनीहरुले मालवाहक सवारी साधनहरु चेकजाँचका लागि लामो समय लगाउने गरेका थिए ।

दैनिक ५ सय देखि ६ सय भारतीय मालवाहक सवारी साधनहरु नेपालमा भित्रिने गरेकोमा अहिले अति न्युनसंख्यामा गाडि नेपाल आएको भैरहवा भन्सार कार्यालयका निमित्त प्रमुख गुणराज पोख्रेलले बताए । ‘विगतभन्दा अहिले न्युन मात्रामा गाडीहरु आएका छन् । भारततिर के भएछ भन्ने केही थाहै छैन’ उनले भने ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले भारतको स्थानिय प्रशसानले केन्दि्रय निर्देशनका कारण केही गर्न नसकिने जवाफ दिएको बताए ।

वीगञ्जमा आन्दोलकारीकोे अवरोध

वीरगञ्ज नाकामा भने बिहीबार दिनभर मधेसी मोर्चाले अवरोध गरेको छ । जसका कारण नेपाल भित्रिने र भारततर्फ जाने सबै गाडी प्रभावित भएको छ ।

बिहान ८ बजेदेखिनै वीरगञ्ज र रक्सौलको मितेरी पुलमा धर्ना बसेका मोर्चाका कार्यकर्ता हटाउन पुगेको प्रहरी र प्रदर्शनकारीबीच दिउँसो तनाव समेत भयो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइफायर समेत गरेको थियो ।

नेपाली सुरक्षा बलले दशगजा क्षेत्रमै गोली चलाएपछि घटनाबारे बुझ्न रक्सौलका उच्च प्रहरी अधिकारी त्यहाँ आइपुगेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment