Comments Add Comment

काठमाडौंमा यस्तो देखियो भारतीय नाकाबन्दीको असर

Nakabandi Efficet

रवीन्द्र घिमिरे

१० असोज, काठमाडौं । राजधानीमा सधैं खचाखच हुने सवारी साधनहरु आइतबार आधाभन्दा कम देखिएका थिए । सरकारी विदाको दिन भएरमात्रै होइन, भारतचीय नाकाबन्दीको असरले राजधानीलाई गाँजेको स्पष्टै देखियो राजधानीको सडकमा ।

अधिकांश पेट्रोप पम्पमा सडरहर तानिएका र गेट बन्द गरिएका थिए भने भद्रकालीको पम्पमा गाडीहरुको लाइन कहालीलाग्दो थियो । सीमा नाकामा मधेसी मोर्चाले अवरोध जारी राख्दा भारतले सुरक्षाको बाहानामा नेपालमा आयात हुने सबै वस्तु सीमापारि नै रोकेर राखेकोे छ । पेट्रोलियम पदार्थको आपूर्ति रोकिँदा सडकमा गुड्ने सार्वजनिक तथा निजी सवारीमात्रै प्रभावित भएका छैनन्, त्यसले सर्वसाधारणको भान्सा कोठालाई पनि पिरोलेको छ ।

सडकमा तनाव

आपूर्ति रोकिएपछि बजारमा इन्धनको चरम अभाव छ । नेपाल आयल निगमसँग मौज्दात रहेको तेललाई लामो समयसम्म प्रयोग गर्न सकियोस् भन्ने उद्देश्यले सरकारले आइतबारदेखि सवारी साधनमा जोर बिजोर प्रणाली र कोटासमेत लागु गरेको छ । त्यसमा पनि धेरै सवारी साधन तेल नपाएर चल्न सकेका छैनन् । चलेका सवारीमा यात्रुहरु कोचिएर याात्रा गर्न बाध्य छन् ।

‘सवारी पातलो चलेेका छन् । जति भिड भए पनि चढ्नै पर्‍यो,’ रत्नपार्कबाट नयाँबानेश्वर आएर उत्रिएका यात्रुले भने, ‘भारतले पैसा तिरेर किन्ने तेल पनि सित्तैमा दिएको जस्तो गरेर यस्तो भएको हो ।’

सडकमा निजी सवारी साधन पनि सडकमा कम चलेका छन् । ईन्द्रजात्राका दिन पेट्रोल/डिजेल बाँडिएका पम्पमा लागेको सवारीको भीडले अर्को जात्रा सुरु भएको झल्को दियो । भद्रकालीमा पेट्रोल बाँडिएका बेला माइतीघरसम्म सवारीको लाम देखियो । त्यसैका कारण ट्राफिक प्रहरीको मुख्यालय रहेको रामशाहपथमै दिनभर सवारी जाम भयो ।

उपत्यकाबाट बाहिरिने सवारीमा पनि आइतबार त्यत्तिकै भिड देखियो । डिजेल/पेट्रोलको अभावले अतिआवश्यकीय सवारी साधन पनि प्रभावित भए । एम्बुलेन्सदेखि स्कुल तथा पर्यटक बोक्ने सवारी पनि तेल नपाएर हैरान बने ।

महंगी बढ्यो, भान्छेलाई टेन्सन

भारतले गरेको नाकाबन्दीका असर सीधारुपमा सडकमा देखिए पनि सबैभन्दा बढी असर उपभोक्तालाई परेको छ । अहिले बजारमा खाना पकाउने ग्यास पाइन छाडेको छ, जसका कारण कतिपय शहरी उपभोक्ताको घरमा चुलो बलेको छैन ।

ग्यास डिपोमा रित्ता सिलिन्डर मात्रै छन् । ग्यास उद्योगीले त आइतबार विज्ञप्ति नै निकालेर ग्यास हुँदै नभएकाले अभाव भएको स्पष्ट गरेका छन् ।

भारतसँगको परनिर्भरता उच्च भएका कारण नेपालमा भारतीय उत्पादनको प्रयोग उत्तिकै हुन्छ । नेपालीको दैनिक जीवनमा प्रयोग हुने अधिकांश बस्तु भारतीय नै छन् । अझ भुपरिष्टित राष्ट्र भएका कारण तेस्रो मुलुकबाट आउने सामाग्री पनि भारत हुँदै आउँछ ।

भूकम्पका कारण चीनसँगका ब्यापारिक नाका ठप्प भएका समयमा चीनबाट आउने सामान पनि भारतकै मार्ग बाटो आउँछन् । तर, अहिले भारतले नै नकाबन्दी गरिँदिदा कुनै पनि विदेशी बस्तुले नेपालमा प्रवेश पाएका छैनन् । त्यसैका कारण नेपाली बजारमा धेरै उपभोग्य बस्तुको मूल्य बढिरहेको छ । मधेस आन्दोलनले आपूर्ति प्रभावित भएपछि चामल, तेल, दाल, मसला लगायत सबैमा मूल्य वृद्धि भएको छ ।

भारतबाट आएको चामल अहिले बजारमा ५ रुपैयाँ महंगो भएको छ । चना, दाल लगायतको मूल्य पनि उकालो लागेको छ । चार दिनयता खाने तेलमा पनि प्रतिलिटर २५ रुपैयाँसम्म मूल्य बढेको छ । भारतीय बजारमै निर्भर मसलाको पनि मूल्य बढेको छ ।

आपूर्ति रोकिएको धेरै दिन नहुँदाकै अवस्थामा बजारमा भएको मूल्य वृद्धिले उपभोक्ता छक्क परेका छन् ।

भारतीय नाकाबन्दीको अवसर छोपेर कतिपय ब्यापारीले अभावको हल्ला चलाएर बढी मूल्य असुलिरहेका छन् । उपभोक्ता पनि त्यसमा विश्वास गर्दै खाद्यवस्तुको पनि अनावश्यक सञ्चितिमा लागेका छन् । यसले गर्दा बजारमा झन असामान्य अवस्था सिर्जना हुने अवस्था आएको छ ।

पेट्रोलियम पदार्थको अभावका कारण गाउँ-गाउँमा ब्यापारीले गर्ने आपूर्ति प्रभावित भएको छ । ग्रामीण सडक हुँदै गाउँ जाने सवारी साधन तेल नपाएका कारण प्रभावित भएका छन् । जसले गाउँका उपभोक्ता पनि गाउँमै उपभोग्य सामग्री नपाउने अवस्थामा पुगेका छन् ।

डेरी उद्योगीको चिन्ता

पेट्रोल/डिजेलको अभावले दूध उद्योगहरु पनि प्रभावित भएका छन् । विभिन्न स्थानमा दूध उठाउन र वितरणमा जानुपर्ने दूधका गाडी रोकिने अवस्था आएको डेरी उद्योगीहरुले बताएका छन् ।

आइतबारसम्म निकै कष्टका साथ डिजेलको जोडजाम गरे पनि अब भने अप्ठेरो अवस्था आउने नेपाल डेरी एसोसियशनका उपाध्यक्ष राधाकृष्ण सापकोटाले बताए । उनले डिजेलकै अभावका कारण किसानले उत्पादन गरेको दूध नउठ्ने अवस्था नजिकै आएको बताए ।

यस विषयमा ध्यानाकर्षण गर्न डेरी उद्योग संघले सोमबार आयल निगममा ज्ञापनपत्र बुझाउँदैछ । दूग्ध विकास संस्थान (डीडीसी)ले पनि यस्तै अवस्था रहिरहे केही दिनभित्रै दूध उठाउने र वितरण गर्ने गाडी रोकिने जानकारी दिएको छ । भारतीय नाकाबन्दीकै कारण नेपालमा बढी भएका दूध भारत पठाउने विषय अन्यौलमा परेको डीडीसीका महाप्रवन्धक गंगा तिमल्सिनाले बताए ।

विकल्प के ?

नाकाबन्दीका कारण आपूर्ति व्यवस्था तहस-नहस हुनै लाग्दा पनि तीन दलका नेता र आन्दोलनकारी दलहरु जनताका समस्याप्रति गम्भीर बन्न सकिरहेका छैनन् । दसैं आउन लागेका बेला जनजीवन थप आक्रान्त बन्दैछ । सडक यातायातमात्रै होइन, तेलको अभावले हवाइ यातायात पनि प्रभावित हुने अवस्थामा पुगेको छ ।

भारतले गरेको अघोषित नाकाबन्दी कहिलेसम्म चल्छ, निश्चित छैन । त्यसैले अब भारतीय नाकाबन्दी विरुद्ध लड्न विभिन्न तरिकाहरु अपनाउन लाग्नुपर्ने अवस्था आएको छ । सरकारले सवारीमा जोरबिजोर प्रणाली पनि यसैका लागि लगाएको छ । निजी सवारीको प्रयोगलाई घटाए तेलको मौज्दातले अझै केही लामो समयसम्म थेग्न सक्छ ।

केही समयअघि प्रचण्डले भनेजस्तै साइकल चढ्न परे पनि तयार हुनुपर्ने अवस्था आइसकेको छ ।

खाना पकाउन एलपी ग्यासमा निर्भर हुने परम्परालाई यसै समयमा घटाउन सकिन्छ । सम्भव भएसम्म खाना पकाउन विद्युतीय र सोलार सिस्टम प्रयोग गर्ने एउटा उपयुक्त विकल्प हुन सक्छ । सम्भव हुनेले राइस कुकुर, भुसे चुल्हो र दाउराको प्रयोगलाई बढाउनुपर्ने हुन सक्छ । बजारमा उपलब्ध बि्रगेड र कोइलाको प्रयोग पनि खाना पकाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment