Comments Add Comment

भैरहवामा तनाव, डिएसपी र सर्बसाधारणसहित दर्जनौं घाइते

Bhairahawa-Jhadap-1

२० असोज, भैरहवा । रुपन्देहीको भैरहवास्थित बेलहिया नाकामा प्रहरी र आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताहरुबीच झडप हुँदा डिएसपी महेन्द्र खड्कासहित दर्जनौं घाइते भएका छन् । झडपमा इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी खड्कासहित, प्रहरी सहायक निरीक्षक यनबहादुर कुँवर, हबल्दार गजेन्द्र विष्टलगायतका घाइते भएका छन् ।

झडपमा रुपन्देहीको तिलोत्तमा नगरपालिका भलबारीस्थित सुकुम्बारी बस्तीका कृष्णबहादुर क्षेत्री पनि घाइते छन् । उनको हातका औंला काटिएका छन् । उनी गम्भीर घाइते अवस्थामा दशगजा क्षेत्रमा भेटिएका थिए । उनलाई नेपाल प्रहरीले उद्धार गरेर उपचारका लागि भीम अस्पतालमा पुर्‍याएको छ ।

Bhairahawa-Jhadap

नाकाबन्दी गर्न भन्दै मोर्चाका कार्यकर्ताहरु भन्सार नाका क्षेत्रमा धर्ना बस्न खोजेपछि प्रहरीले हटाउँदा झडप सुरु भएको थियो । दशगजा क्षेत्रबाट प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा बर्साएपछि नेपालका सुरक्षाकर्मीहरु केहिबेर पछि हटेका थिए । प्रदर्शनकारीले प्रहरी कार्यालयमै ढुंगा बर्षाएर तोडफोड गर्न थालेपछि सशस्त्र र जनपद प्रहरी अघि बढेको थियो । त्यसपछि प्रदर्शनकारी भारतीय भूमितर्फ भागेका थिए । प्रदर्शनकारीलाई भगाउन प्रहरीहरुलाई स्थानीयले समेत सहयोग गरेका थिए ।

Bhairahawa-Jhadap-3

सदभावना अध्यक्ष राजेन्द्र महतोले भैरहवा क्षेत्रको आन्दोलनको नेतृत्व गरेका छन् । यसअघि भैरहवा भन्सार नाकामा धर्नाको जिम्मा तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई दिइएको थियो ।

तर, सो नाकामा धर्ना प्रभावकारी नभएको र भारतबाट सामानहरु आयात भैरहेको पाइएपछि महतो आफैले नेतृत्व सम्हालेका छन् । उनी मंगलबार भैरहवा आइपुगेका थिए । उनले भारतीय सीमा बजार सुनौलीमा बसेर आन्दोलनमा कार्यकर्ताहरु परिचालन गर्दै आएका छन् ।

Bhairahawa-Jhadap-4Bhairahawa-Jhadap-5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment