Comments Add Comment

‘मधेस दुईवटा छ : जनताको मधेस, दलालको मधेस’

prachanda

२० असोज, इटहरी । मधेसमा एमाओवादीले उठाएको मुद्दा यतिबेला दलाल र जमिन्दाहरुले खोसेर त्यसलाई जातीय एवं साम्प्रदायिक रंग दिन खोजेको एमाओवादी अध्यक्ष प्रचण्डले विश्लेषण गरेका छन् । मधेसी जनतालाई एमाओवादीले जति अरु कसैले माया गर्न नसक्ने प्रचण्डको दाबी छ ।

‘मधेसलाई हामी दुईवटा ठान्छौं, जनताको मधेस, दलाल र जमिन्दारहरुको मधेस,’ सुनसरीको इटहरीमा कार्यकर्तालाई प्रशिक्षण दिँदै प्रचण्डले भने, ‘अहिले दलाल र जमिन्दारहरुको हाम्रो एजेण्डालाई खोसेर साम्प्रदायिक रंग दिँदै देशलाई विखण्डन गर्ने सोच्दैछन्, तपाईहरुले यसमा ध्यान दिनुहोला ।’

कम्युनिष्ट पार्टीका हातबाट दलालहरुका हातमा पहलकदमी गयो भने त्यसले साम्प्रदायिकता निम्त्याउन सक्ने भन्दै प्रचण्डले आफ्ना कार्यकर्ताहरुलाई वर्गीय मुद्दामा जोड दिन आग्रह गरे ।

प्रशिक्षण कार्यक्रममा उनले भने- ‘मधेसजस्तै पहाड पनि दुईवटा हुन्छ : गरीबको पहाड, अभिजातको पहाड । किराती भनेपछि पनि सबै एउटै हुँदैनन्, लिम्बुहरु पनि सबै एउटै हुँदैनन्, हामीले यसरी सोच्नुपर्‍यो । हामी कुन वर्गतिर लाग्ने भन्ने सोच्नुपर्‍यो ।’

आफ्नो दलले जनयुद्धका बेला मधेसी मोर्चा बनाउँदा त्यहाँ पहाडी र मधेसीवीच कुनै दुरी नरहेको प्रचण्डले स्मरण गरे । कम्युनिष्टहरुले जनतालाई यो कुरा बुझाएन भने पहाडी मधेसीलगायतको जातीय एवं साम्प्रदायिक द्वन्द्व बढ्न सक्ने भन्दै प्रचण्डले पार्टीभित्रका मधेसी कार्यकर्तालाई पनि वर्गीय ढंगले सोच्न सुझाव दिए ।

‘हामीले त्यसबेला जमिन्दारको नेतृत्वमा मधेस मुक्तिको कुरा गरेका थिएनौं, कम्युनिष्टको नेतृत्वमा मधेसी जनताको मुक्तिको कुरा गरिएको थियो,’ प्रचण्डले कार्यकर्तासँग भने,’अहिले देशभित्रका र बाहिरका साम्राज्यवादी शक्तिले त्यहाँ हात हाले र साम्प्रदायिकतातिर लान खोजिरहेका छन्, हामीले यसलाई रोक्नुपर्छ । साम्राज्यवादी एवं जमिन्दारविरुद्ध जनतालाई खडा गर्नुपर्ने हाम्रो जिम्मेवारी बढेको छ ।’

संविधान बनेकोमा दलालहरु खुशी छैनन्

प्रचण्डले अहिलेको संविधान साम्राज्यवादविरोधी, सामन्तवादविरोधी एवं समाजवादउन्मूख बनेको भन्दै यसको स्वामित्व एमाओवादीले लिनुपर्ने कार्यकर्तासँग आग्रह गरे । संविधान बनेकोमा विदेशी र स्वदेशी दलालहरु खुशी नभएको प्रचण्डले बताए ।

भारतले गरिरहेको नाकाबन्दी र मधेसमा जारी हडतालतर्फ संकेत गर्दै भने उनले भने- ‘अहिले नाकाबन्दीको किन सामना गरिराख्नुपर्‍या छ ? विदेशीले मधेसी, थारु र जनजातिलाई माया गरेर यस्तो गरेका होइनन्, साथीहरु गम्भीर हुनोस्, साम्राज्यवादविरोधी संविधान बनेकोमा दलालहरु खुशी छैनन्, कुरोको चुरो यही हो ।’

पहिले आफूलाई यो संविधान उँटजस्तो लागे पनि अब जनताकै पक्षमा रहेको लाग्न थालेको प्रचण्डले बताए । उनले भने-‘सुरुमा मैले उँटजस्तो बन्दैछ भने, तर जनताके बनेको छ, जहाँ जहाँ अधिकार पाएका छैनौं, त्यहाँ संघर्ष गर्नुपर्छ र संशोधन गर्दै जानुपर्छ ।’

अहिलेको संविधान एमाओवादीले नचाहेको भए नआउने बताउँदै प्रचण्डले यसमा वर्ग गर्न कार्यकर्तालाई आग्रह गरे । ‘संविधानमा गर्व गरौं, यसको स्वामित्व लिऔं र जनतालाई यसबारे बुझाऔं,’ प्रचण्डले संविधानबारे पार्टीले निकालेको पुस्तिकातर्फ लक्षित गर्दै भनेे- ‘यो हाम्रो हतियार हो, राम्रोसँग पढ्नुहोला ।’

‘मोहनविक्रमले बधाइ दिए, तपाईहरुले दिनुभो ?’

संविधान बनेकोमा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले आफूलाई भेटेर धन्यवाद दिएको तर, कार्यकर्ताले बधाइ नदिएको प्रचण्डले कार्यक्रममा गुनासो पोखे । कार्यकर्ताले आफूलाई बधाइ नदिएको बताइरहँदा एकछिन प्रचण्डको गला अवरुद्ध भयो ।

‘मोहनविक्रमले भेट्छु भन्नुभो, विगतमा म उहाँको फ्यान थिएँ, अहिले बूढो हुनुभएछ । उहाँले संविधान बनाएको र राष्ट्रियतामा अडान लिएकोमा बधाइ दिन आएको भन्नुभयो,’ प्रचण्डले भावुक हुँदै कार्यकता चित्त दुखाए – ‘बाहिकाले राम्रो गर्‍यो भन्ने छ, तपाईहरुलाई बधाइ दिन जाँगर आएको छ त ? आएकै छैन…(रोकिँदै) भावुक भएँ भने म बोल्न सक्दिँन । सानो घेराबन्दी तोडेर, सानो दबाव झेलेर मैले यो संविधान बनाएको होइन, यसलाई विचार गरिदिनुहोला, बधाइ दिन आइराख्नुपर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment