Comments Add Comment

साउदी अरबमा एक सय नेपाली अलपत्र

nepali-alaptra-at-Saudi

  • काम नपाएर साउदीमा अलपत्र परेका नेपालीहरु

साउदी अरब । खाडी मुलुक जाने कामदारका लागि सरकारले फ्री भिसा फ्री टिकट लागु भएको बताइरहदा लाखौं रकम तिरेर साउदी आएका एक सय नेपाली बिचल्लीमा परेका छन् । धन कमाउने मिठो सपना बोकेर रोजगारीका लागि साउदी आएका ती नेपाली डेढ महिनादेखि काम पाउन नसकेर बिचल्लीमा परेका हुन् ।

उनीहरु काठमाडौंमा रहेको गोल्डेन ईगल म्यानपावर, सस मेनपावर र एडभाञ्चर हुमन रिसोर्स गरी तीन छुटा-छुटै म्यानपावर कम्पनि मार्फत् लाखौं रकम तिरेर रोजगारीका लागि साउदी आइपुगेका हुन् । २ बर्षे करार सम्झौतामा अलजजिरा सपोर्ट सर्भिस् कम्पनीमा कामदारका रुपमा आएका उनीहरुले हालसम्म काम पाउन सकेका छैनन् । गत सेप्टेम्बरको १ र २ तारिकमा बिभिन्न लटमा गरी साउदी आएका उनीहरु हराजस्थित २ वटा क्याम्पमा बेरोजगार भएर बस्न बाध्य छन् ।

एक हजार तलब र दुई सय खानाको सहित १२ सय साउदी रियाल तलब पाउने गरी सस म्यानपावर मार्फत् उक्त कम्पनीमा आएका दार्चुलाका बिरसिंग समालले आफू नराम्रोसँग ठगिएको दुखेसो गरे । म्यानपावर कम्पनीले राम्रो कमाई हुने प्रलोभनमा पारेर आफूसँग एक लाख २० हजार रुपैयाँ लिएको उनले बताए ।

‘ऋण काढेर बिदेश आइयो, यहाँ धन कमाउने त कता हो कता खाने बस्नेसम्म टुंगो छैन,’ समालले भने, ‘आएको दिनदेखि नै चिसो भूईंमा सुतेका छौं ।’ पीडित समालका अनुसार कम्पनीले खानाको लागि दुई सय साउदी रियाल बाहेक अहिलेसम्म केही दिएको छैन ।

समालसँगै आएका उदयपुरका रुद्र राउतले गोल्डेन ईगल म्यानपावरलाई १ लाख ५ हजार रुपैयाँ बुझाएर उक्त कम्पनीमा आएको बताए । त्यतिधेरै पैसा म्यानपावर कम्पनीलाई बुझाएर आए पनि काम पाउन नसक्दा पीडित बन्नु परेको राउतले गुनासो गरे । आफूसँगै उक्त क्याम्पमा रहेका एक सय नेपालीले हालसम्म काम नपाएको राउतले बताए ।

गोल्डेन ईगल म्यानपावर मार्फत् नै साउदी अरब आइपुगेका उदयपुरका प्रदीप राउतले डेढ महिना खालि हात बस्नुपर्दा घरपरिवार समेत तनावमा रहेको बताए । मासिक १२ सय रियल कमाई हुन्छ भनेर म्यानपावर कम्पनीले ७० हजार रुपैयाँ लिएको उनले सुनाए ।

‘घर परिवार छाडेर धन कमाउन भनेर बिदेश त आइयो तर यहाँ न खाने बस्ने ठेगान छ, न काम नै पाइएको छ, हामी त बिचल्लीमा परेका छौं,’ राउतले निराश हुँदै भने । काम लगाउने बिषयमा कम्पनीले चासो नदिएपछि काठमाडौंमा रहेको म्यानपावर कम्पनीलाई पटक-पटक फोन गरे पनि बेवास्ता गरेको उनले गुनासो गरे ।

‘फोन गर्दा केही दिनमै काम मिल्छ भन्ने आश्वासन पाएपनि आजसम्म काम पाइएको छैन,’ उनले भने, ‘आजभोलि म्यानपावर कम्पनीलाई फोन गर्दा फोन उठ्दैन, फोन उठेपनि काटिदिन्छन् ।’

एउटा कोठामा ८-९ जनासम्म कोचिएर बस्नु परेको उनले सुनाए । चिसो भुइँमा सुत्नु परेको र केेही नेपाली कामदारहरु बिरामी परेको उनलेे बताए ।

‘सुत्नका लागि ओछ्यान छैन, चिसो भुईंमा सुत्नुपर्छ । खाना पकाउन भाँडा छैन, न दाम न काम भएको छ, हामी त बर्बाद भयौं, क्याम्पमा पिउने पानीको ब्यवस्था पनि छैन,’ उनले भने । राउतका अनुसार कम्पनीले काममा लगाउन नसक्दा केही नेपाली कामदाहरु कामको खाजीमा कम्पनी छाडेर भागेका छन् ।

यस्तै सस म्यानपावर मार्फत् ९० हजार रुपैयाँ बुझाएर सो कम्पनीमा कामदारका रुपमा आएका सिन्धुलीका सूर्य लामाले मेनपावर कम्पनीले आफूहरुलाई विदेशी भूमिमा अलपत्र पारेको बताए । कमाई हुन नसक्दा घरपरिवारलाई फोन गर्नसमेत नपाएको उनले गुनासो गरे ।

एडभाञ्चर हुमन रिसोर्स्मार्फत् साउदी आइपुगेका महोत्तरीका भरत यादवले डेढ महिनादेखि काम गर्न नपाउँदा आफूहरु निकै पीडित बनेको बताए । मेनपावर कम्पनीले आफूसँग ९० हजार रुपैयाँ लिएर पठाएको भएपनि अहिलेसम्म काममा लगाउन नसकेको यादवले सुनाए ।

गोल्डेन ईगल म्यानपावर मार्फत् नै साउदी आएका तेह्रथुमका हजिन्द्रबहादुर कार्कीको पीडा पनि उस्तै छ । साहुसँग ऋण लिएर ७८ हजार रुपैयाँ तिरेर बिदेश आएपनि कमाई हुन नसक्दा निकै अफ्ठ्यारोमा परेकोे उनले बताए । बेखर्ची भएपछि हारगुहारका लागि कसैसँग सम्पर्क गर्न पनि नसकिएको कार्कीले बताए ।

उनले भने, ‘हामीहरु बिचल्लीमा पर्यौं । कि काम र मामको व्यवस्था मिलाइदिनु पर्‍यो कि तत्काल उद्धार गरिदिनु पर्‍यो ।’
-एनपी प्रधान (भरत)बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment