Comments Add Comment

मुकुन्देको यात्रा : रत्नपार्कदेखि फेसबुक-ट्वीटरसम्म

७ कात्तिक, काठमाडौं । ‘पहाडमा रेलैरेल । मधेसमा खेतैखेत । ट्याक्टरले खेत जोत्ने । हेलिकप्टरले बीउ छर्ने । १० करोडसम्म जनतालाई सुखले पाल्ने । र, ३६५ दिन नै दसैं घोषणा गर्ने न्यूनतम कार्यक्रम छ ।’ यो कुनै ठूलो राजनेताको भाषण होइन ।

mukunda (2)केही वर्षअघिसम्म रत्नपार्कका रुखमाथि चढेर भाषण गरी चर्चामा कमाएका मुकुन्दे अर्थात् मुकुन्द घिमिरेले आफ्नो ट्वीटर एकाउन्टमार्फत अघि सारेको राष्ट्र निर्माणको योजना हो ।

०५८ देखि ०७० सालसम्म रत्नपार्कमा भाषण गर्दै हिँड्ने मुकुन्दे त्यसयता भने सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा जोडिएका छन् । सामाजिक सञ्जालमा उनले अाफूलार्इ भविष्यको कार्यकारी राष्ट्रपति दाबी गर्छन् । र, मुकुन्दल्याण्डका जनतालार्इ सुख र शान्तिले बस्न पाउने व्यवस्था अाफूले मिलाउने बताउँछन् ।  ।

दुई वर्षदेखि फेसबुक चलाए पनि मुकुन्देले सक्रियरुपमा ट्वीटर चलाउन थालेको ६ महिना पनि भएको छैन । तर, यति छोटो अवधिमै सेलिब्रेटि बनेका छन । ट्वीटरमा उनलाई दैनिक ३/४ सयले फलो गर्छन्, जुन चर्चित कलाकार वा राजनीतिज्ञको सरह हो ।

‘४/५ महिना मै २८ हजारले फलो गरेका छन् । यो मैले कमाएको सम्पत्ति हो’ मुकुन्दे भन्छन् । भतिजले दुबईबाट आउँदा गिफ्टस्वरुप ल्याइदिएको प्रेष्टिज मोबाइलबाट फेसबूक र ट्वीटर चलाउँछन् उनी ।

‘रत्नपार्कमा असुरक्षा थियो, सामाजिक सञ्जाल निकै सुरक्षित रहेछ ।’ भन्छन् ।

०३५ सालमा भोजपुरमा जन्मिएका मुकु्न्दे ‘भोजपुरमा मोइ खाएर काठमाडौंमा पिसाब फेर्न आउने’ नेपाल देख्न चाहन्छन् ।

बुढेसकालसम्ममा कार्यकारी राष्ट्रपति बनेर मुलुकको अनुहार फेर्ने महत्वकांक्षा सुनाउने मुकुन्देलाई धेरैले पागल ठान्छन् । तर, उनी भने आाफूलाई राजनीतिक विश्लेषक भएको दाबी गर्छन् ।

भावी दिनमा रेडिकल डेमोक्र्याटीक राजनीतिक दल खोलेर निर्वाचनमा उम्मेद्धारी दिने योजना रहेको उनले सुनाए ।

‘उत्कृष्ट श्रेणीका विद्यार्थी प्राविधिक डक्टर इन्जिनियर जाने । बल्लतल्ल पास हुनेहरु कर्मचारीतन्त्रमा हालिमुहाली गर्ने । र, फेल हुनेहरु राजनीतिमा लागेकाले देश बिग्रिएको हो । देश बनाउन मास्टर माइन्डहरु राजनीतिमा लाग्नुपर्छ भनेर नै म राजनीतिमा लागेको हुँ ।’ ०५५ सालमा ६९ प्रतिशत ल्याएर पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानबाट ओभरसियर पास गरेका मुकुन्दे भन्छन् ।

पागलजस्तो एक्लै-एक्दै हिँडेर राजनीति हुन्छ त ? उनी भन्छन्- ‘म स्याटालाइटबिनाको एक्लो बृहस्पति भइरहेको छु । अर्काको पाटीमा लागेर अर्काले भट्याएकोमा देउसिरे भनेर नेता हुन मेरो आत्माले दिँदैन ।’

हिन्दू धर्मका पक्षमा खुलेर बोल्नछन । तर, हिन्दूहरुको महान चाड नमनाएको आठ वर्ष भयो उनले । ‘पूर्वको कर्णाली हो, भोजपुर । घर जाउँ भने पैसा छैन । बाटो खर्चका लागि प्यारा बुबा-आमा र भाइसँग बाझ्नुपर्ने हुन्छ ।’ दसैं नमनाउनुको कारण सुनाए- काठमाडौंमा आफूले मान्नुपर्ने कोही मान्छे छैन । अनि कोसँग टिका लगाएर दसैं मनाउँ ?’

परिभाषित आम्दानी केही पनि नभएकाले प्राय आफू बेखर्ची हुने गरेको मुकुन्देको दुखेसो छ । ‘कहिले परिवारले त कहिले समाजले सहयोग गरेर साउँको साउँ जिउ चैँ अहिलेसम्म जोगाएकै छु ।’ उनी भन्छन् ।

तर, दसैं र हिन्दूधर्मलाई अत्यन्तै सम्मान र विश्वास गर्छन, उनी । ‘यदि दसैं थिएन भने हाम्रो देश र समाज गरिब दलितबस्ती जस्तै सँधै दुखी हुन्थ्यो । र, हिन्दुत्व हुँदैन थियो भने आइएसआइ जस्ता अतिवादी मुस्लिम संकटहरुले विश्व गाँजिन्थ्यो । देश राजा र श्रीपेच बनाएको नभई, धर्म र मन्दिरले बनाएको उनको ठहर छ ।

०५८/०५९ सालतिर रत्नपार्कस्थित शान्ति बाटिकामा पोते लगाएर बस्थे उनी । ‘नेताहरु सबै नपुंसकजस्तै भएकाले देशमा १५ हजार मान्छे मरेकाले १५ हजार दाना भएको पोते लगाएको हुँ ।’ भन्छन्- ‘म शान्तिबादी हुँ । हिंसा केही मथ्थर भएदेखि पोते फुकालेर राखेको छु ।’

नेताहरुले आमसञ्चार माध्यम र दलका कार्यक्रममा आफ्ना कुरान जनतालाई सुनाउने गरेको तर आफ्ना कुरा सुनाउने फोरम नभएकाले रत्नपार्कमा भाषण सुरु गर्नु परेको उनले सुनाए ।

‘मेरा कुरा जनतालाई सुनाउने अन्य कुनै फोरम थिएन, त्यसैले मैले रत्नपार्कलाई फोरम बनाएको हुँ ।’ भन्छन्- ‘रत्नपार्कले मलाई समाजमा स्थापित गराएको छ ।’

जनयुद्धका बेला माओवादीप्रति निकै आशाबादी थिए, मुकुन्दे । पढाई सकेर क्रान्तिमै होमिने सोच पनि थियो । तर, तीनै माओवादीका कार्यकर्ताबाट मरणाशन्न हुनेगरी कुटाई खानुपर्‍यो । बैदेशिक रोजगारमा गएका पिडीतलाई उद्धार गर्ने उद्देश्यले बैदेशिक रोजगार अध्ययन केन्द्र भन्ने संस्था चलाउँथे उनी ।

‘बैदेशिक रोजगार पीडितको उद्धार भयो भने अधिकांस युवा विदेशिन्छन् र हाम्रो आन्दोलनमा मान्छे लाग्दैनन् भन्ने तार्किन निहुँ पारेर घर गएको बेला (०५९) सालमा माओवादीले मरणाशन्न हुनेगरी पिटे ।’ स्मरण गर्दै मुकुन्दे भन्छन् ।

माओवादीले कुटे पनि उनीहरुको तर्क ठीकै लागेकाले संस्था छोडेर शान्तिका लागि प्रचण्डलाई राष्ट्रिय विभूतिकै सम्मान दिनुपर्ने भन्दै प्रधानमन्त्री कार्यालमा ज्ञापन पत्र बुझाए । ‘माओवादी र सरकारको वार्ता भंग भएपछि तत्कालीन शाही नेपाली सेनाले समाते एक महिनासम्म बेपत्ता जस्तै बनाएर राख्यो ।’ उनी भन्छन्- ९ दिन त पूरै बेहोस भएको थिएँ ।

जब मेलमिलापबाट शान्ति भयो तर माओवादीले एकलौटी जितेजस्तो गर्न थाल्यो तब माओवादीको आलोचना गर्न थाले उनको भनाई छ । एकपटक खुलामञ्जमा पैचण्डले भाषण गरिरहँदा उनले रत्नपार्ककको रुखमाथि चढेर माओवादीको बिरोध गर्दै भाषण गरे । त्यसबेला पनि माओवादी कार्यकर्ताले उनलाई मरणाशन्न हुने गरि पिटे ।

mukunda (5)‘अब त माओवादी रााष्ट्रिय राजनीतिबाट ओझेल पर्न थाल्यो । कसको आलोचना गरेर आफू हिरो हुन मैले भिलेन पाएको छैन ।’ उनी भन्छन् । सँधैभरी अरुलाई गालीमात्रै गरेर नहुने भएकाले रेडिकल डेमोक्र्याटिक संगठन बनाएर केजरीवाल शैलीको नयाँ शक्ति जन्माउन कोसिस गरिरहेको उनले सुनाए ।

दिनरात सामाजिक सञ्जालमा सक्रिय मुकुन्देको आम्दानीको स्रोत के हो ? ‘सामाजिक सञ्नालमा हारगुहार गरेर मितव्ययी हिसाबले जीउ पालेको छु । नयाँ फेर्न नसकेर थोत्रा लुगा लगाउँदै आएको छु ।’ उनले दुखेसो सुनाए -‘मागे राज्य पाइन्छ, लडे लौरो पाइन्छ भन्छन् मागेर खान के को लाज ?’

आफूलाई वौद्धिक मगन्ते ठान्ने उनी भन्छन् । भोजपुर षडानन्द नगरपालिका ९ खार्तम्छामा उनका नाममा १५ रोपनी जग्गा छ ।

‘एक जनाले पोहोरसाल अमेरिकाबाट १० हजार रुपैयाँ पठाइदिएकी थिइन । केही महिनाअघि साउदीमा रहेको भाइले १२ हजार रुपैयाँ पठाइदिएकेा थियो । दुवईमा रहेका राजनीतिक विश्लेषक दिल निसानी मगरले ४५ सय रुपैयाँ पठाइदिनुभएको थियो ।’ उनले भने ।

सिंहदरबारको नजिकै घट्टेकुलोमा ५ सयको कोठाभाडा लिएर बस्छन् उनी । स्टोभ बाल्न मट्टतिेलमा ५ सय, चामल र तरकारीमा १२/१५ सय र चियापसलमा गरी महिनामा ४ हजार देखि ४५ सय रुपैयाँसम्म खर्च हुने गरेको उनले बताए ।

अब त हप्तादिनलाई पुग्ने मात्रै मट्टितेल छ, त्यसपछि सामाजिक सञ्जालमा हारगुहार गर्दा सहयोग पाइयो भने हो नत्र भोकभोकै सडकको बास हुने चिन्ता व्यक्त गर्दै भने- ‘भारतले हिन्दूराज्य खोजेर नाकाबन्दी लगाएको हो, जनताले पनि त्यही चाहेका छन् । प्रधानमन्त्रीज्यू तत्काल नाकाबन्दी हटाउ ।’

आफूलाई पनि सुख गर्न मन भएको तर देश र जनताका लागि दुख भोगेको उनले सुनाए । ‘मलाई पनि सुख गर्न । फ्लाटमा बस्न । बिबाह गर्न । छोराछोरी खेलाउन, बुबाआमालाई सन्तोष दिन मन छ ।’ भन्छन्- ‘आफ्नो गाउँमा सुखले बस्दा ७४ जिल्लालाई अन्याय हुने सम्झिएर ७५ जिल्लाका लागि काठमाडौंमा बस्ता दुख पाएको हुँ ।

पृथ्वीनारायण शाहको अस्तित्वमाथि प्रश्न गरी इतिहासको पुनर्लेखन गर्नुपर्छ भन्दै हिँडेपछि केही वर्षअघि मुकुन्देलाई प्रहरीले पक्राउ गर्‍यो । पागल हो कि भनेर पाटन अस्पतालसम्म पनि पुर्‍यायो ।

‘तर डाक्टरलाई चै बुद्धिचाल अर्थात चेस खेलेर जित्न चुनौति दिएँ । त्यसपछि त डाक्टरले परिवारसँग नबुझि केही भन्न नसकिने रिपोर्ट दिए । प्रहरीले पनि छाड्यो ।’ मुकुन्दे भन्छन् ।

मुकुदेले संविधान बन्यो भने कानकाट्छु भनेर धेरैपटक सामाजिक सञ्जालमा लेखेका थिए । संविधान बनेको एक महिना पितिसक्यो तर उनले कान का टेका छैनन ।

‘यो संविधान देखाउनलाई बनाइएको हो । यो नटिकेर फेरि प्रतिगमन फर्किएपछि मुकुन्देले सही भविष्यणली गर्‍यो भनेर कानमा सुनको कुण्डल लगाइदिनेछन् भन्ने विश्वास भएकाले अहिले नै कान नकाटेको हो ।’ उनले भने- फेरि यी कानले धेरै कुरा सुन्न पनि त बाँकी छ नि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment