Comments Add Comment

नेपालकै उत्कृष्ट कर्मचारीको सम्मान कँडेललाई

PradipRaj-Kanel,-Integrity-

२७ पुस, काठमाडौं । नेपालकै उत्कृष्ट कर्मचारीको सम्मान गुल्मीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले पाएका छन् । जवाफदेहिता, पारदर्शीता र भ्रष्टाचार निवारणका क्षेत्रमा क्रियाशील अकाउन्टविलिटी ल्याब नामक गैर नाफा मुलक संस्थाले देशभरबाट गरेको अनलाइन भोटिङ तथा एसएमएसको आधारमा कँडेलले उत्कृष्ट कर्मचारीको सम्मान पाएका हुन् ।

उक्त सम्मानलाई ‘इन्टिग्रीटी आइडल’ नाम दिइएको छ । यो सम्मानका लागि बर्दिया राष्ट्रिय निकुञ्जका सहायक व्यवस्थापन अधिकृत रमेशकुमार थापा, म्याग्दीको बेनी सामुदायिक उच्चमाबिका प्रधानाध्यापक दीपक श्रेष्ठ, सहयोगी उच्चमाबि श्रोत केन्द्र काठमाडौंका श्रोतब्यक्ति रामनारायण शाह र खोटाङका महिला विकास निरीक्षक भुवनकुमारी राई पनि अन्तिम पाँचमा परेका थिए ।

सम्मानित भएपछि प्रमुख जिल्ला अधिकारी कँडेलले सार्बजनिक सेवामा लाग्न अझै प्रेरित गरेको बताए ।

एकाउन्टिबिलिटी ल्याबले सरकारी कार्यालयमा रही निष्ठाकासाथ आफना कर्तव्य तथा दायित्वहरु निर्वाह गर्ने एक राष्ट्रसेवक इमान्दार शिक्षक र निजामति कर्मचारीलाई राष्ट्रिय सम्मान प्रदान गर्दै आएको छ ।

यो सम्मानका लागि यस वर्ष देशभरबाट ५५८ आवेदन परेका थिए । ती आवेदनहरु मध्येबाट पूर्वअख्तियार प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्वविज्ञान तथा प्रविधि मन्त्री गणेश साह र ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष भरतबहादुर थापाको निर्णायकमण्डलले उत्कृष्ट ५ जनाको नाम चयन गरेको थियो ।

को हुन् कँडेल ?

रौतहटको जुडेबेला पुर्ख्यौली घर भएका कँडेल २०४६ सालमा शाखा अधिकृतबाट निजामति सेवामा प्रवेश गरेका थिए । कँडेल सोलुखुम्बुमा प्रमुख जिल्ला अधिकारी रहँदा ‘टच टु फाइन्ड’ अर्थात खोजेको कागजात तुरुन्तै भेटिने गरी कार्यालय व्यवस्थापनमा चुस्त अनि दुरुस्त बनाउने अभियान सुरु गरेका थिए ।

हाल काठमाडौंको घट्टेकुलोका स्थायी बासिन्दा कँडेल गुल्मीमा सरुवा हुनुअघि मोरङमा सहायक प्रमुख जिल्ला अधिकारी थिए । मोरङ सरुवा हुनु अघि उनी पाँचथरको प्रमुख जिल्ला अधिकारी थिए । पाँचथरमा रहँदा अपाङ्गता, जेष्ठ नागरिक र असहाय मैत्री कार्यकक्ष बनाएकामा एन्टेना फाउन्डेसनले उनलाई देशभरकै उत्कृष्ट प्रमुख जिल्ला अधिकारीको रुपमा सम्मान गरेको थियो ।

कँडेल सरल, इमान्दार, कार्यकुशल र स्थानीयसँग छिट्टै घुलमिल हुनसक्ने स्वभावका छन् । दुई महिनाअघि गुल्मी पुगेका कँडेलले टाढा-टाढाबाट नागरिकता बनाउन आएका गरिव नागरिकहरुलाई कपडा संकलन गरेर दिने गरेका छन् ।

उपप्रधानमन्त्री चित्रबहादुर केसीले आइतबार कँडेललाई ‘इन्टिग्रीटी आइडल २०१५’ ले ट्रफीसहित सम्मान गरे । यो सम्मान पाउने कँडेल नेपालका दोस्रा व्यक्ति हुन् । यसअघि सन् २०१४ मा पाँचथरका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले यो सम्मान पाएका थिए ।

अकाउन्टविलिटी ल्याब लाइबेरियामा इबोला रोगविरुद्धको अभियानमा देखाएको सक्रियताको कदर गर्दै एक सरकारी नर्सलाई पनि ‘इन्टिग्रीटी आइडल’ले सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment