Comments Add Comment

इजरायल कामदार पठाउने प्रकृयाबाट पछि हट्दै सरकार

Isarel-Tel-Avib
रवीन्द्र घिमिरे
१३ फागुन, काठमाडौं । इजरायल जाने भन्दै धेरै युवा केयर गिभर र हिब्रु तथा अंग्रेजी भाषाको तालिम लिँदै छन् । तर, वैदेशिक रोजगार विभाग भने सरकारी तहबाटै इजरायल पठाउने कार्यक्रमलाई अब निरन्तरता नदिने मनस्थितिमा देखिएको छ ।

सरकारी तहबाट पहिलो चरणमा एकजना पनि कामदार इजरायल पठाउन नपाउँदै विभाग अर्को चरणमा कामदार पठाउन नसकिने भन्दै पन्छिएको हो ।

मलेसियामा नेपालीको रोजगारी संकटमा परेका बेला सरकारकै जिम्मेवार निकायले झन्झटको बाहना देखाउँदै इजरायल जस्तो आकर्षक मुलुकमा नेपाली पठाउने प्रक्रियाबाटै अलग्गिन लागेको छ ।

पहिलो चरणमा ६० जना कादारलाई केयर गिभरमा रुपमा इजरायल पठाउन लागिएको छ । छनौट भएकाहरुको मेडिकल सकिएको छ । अब उनीहरु इजरायल उडेपछि इजरायलले अर्को चरणका लागि अहिलेको भन्दा बढाएर केयर गिभरको कोटा दिने बताइसकेको छ । तर, बिभाग भने दोस्रो चरणको मागमा कामदार पठाउने ‘झण्झट’ गर्ने पक्षमा देखिदैन ।

दोस्रो चरणमा कामदार पठाउन विभाग पन्छिएपछि कुन निकायले कहिलेदेखि अन्य कामदार पठाउँछ भन्ने अन्यौल भएको छ ।

झन्झट र उजुर-बाजुरको बाहाना

पहिलो चरणमा भएको समझदारी (एमओयु) अनुसार ६० जना इजरायल पुगेपछि दोस्रो चरणमा लैजाने कामदारबारे दुई सरकारबीच छुट्टै सम्झौता हुनुपर्छ । परीक्षणका रुपमा ३ सय कामदार लगेपछि इजरायलले वार्षिक १ हजार ५ सय कामदारलाई रोजगारी दिने आश्वासन दिएको छ ।

तर, अब पहिलो चरण टुंगिएपछि दोस्रो चरणका लागि विभागले सम्झौताको कुनै प्रक्रिया अघि नबढाउने विभागका प्रवक्ता जनकराज रेग्मीले अनलाइनखबरसँग बताए ।

JanakRaj Regmi
विभागका प्रवक्ता रेग्मी

पहिलो चरणमा ६० जना कामदार इजरायल पठाउन भएको छनौट प्रक्रियामा अनियमितता भएको आरोप विभागमाथि लागेको छ ।

यस विषयमा उजुरी परेपछि अख्तियार, श्रम मन्त्रालय र संसदीय समितिमा विभागले औपचारिक रुपमै जवाफ पेश गरेको छ ।

अब यिनै आरोप र जवाफको झन्झटहरुबाट पन्छिन विभागले इजरायल जस्तो राम्रो कमाई हुने र सुरक्षित रोजगार गन्तब्यमा नेपाली कामदार लैजान नसकिने बताएको हो ।

‘पहिलो चरणमै धेरै हण्डर खायौं । नभएका विषयमा जता पनि उजुर-बाजुर भयो,’ विभागका प्रवक्ता रेग्मीले भने, ‘कति ठाउँमा जवाफ दिएर हिँड्नु, अब यो प्रक्रियामा हामी सामेल नै हुँदैनौं ।’

गैह्रजिम्मेवार बन्दै विभाग

दोस्रो चरणको प्रक्रिया अघि नबढाउँदा नेपाली कामदारले राम्रो वैदेशिक रोजगारको अवसर गुमाउने भए नि ? भन्ने अनलाईनखबरको प्रश्नमा उनको जवाफ यस्तो छ-

‘तनाव लिएर काम गर्न सकिँदैन । इजरायल नपठाएर पनि हाम्रो जागिर जाँदैन, अब कि मन्त्रालयले इजरायलका लागि कोरियाको इपीएस जस्तै छुट्टै संयन्त्र बनाओस्, नत्र म्यानपावर ब्यवसायीलाई जिम्मा दिए पनि केही बिग्रिदैन ।’

पहिलो चरणमा ६० जना कामदार इजरायल पठाउन भएको छनौट प्रक्रियामा अनियमितता भएको आरोप विभागमाथि लागेको छ ।

केही बर्ष अघिसम्म ब्यवसायीले ठूलो रकम असुलेर इजरायलमा कामदार पठाइरहेका थिए । त्यही बिषयमा इजरायलले आपत्ति जनाउँदै सरकारी तहबाट मात्र काम गर्ने भन्दै सरकारलाई ६० जनाको कोटा दिएको थियो ।  सरकारी तवरबाट कमदार पठाउँदा कामदारले ठूलो खर्च बेहोर्नुपर्दैन् ।

तर, विभाग अब इजरायलमा कामदार पठाउन हातै नहाल्ने योजनामा छ । विभागका महानिर्देशक केदार बोगटी पनि इजरायलको ‘इस्यु’ आफुलाई केही थाहा नाभएको भन्दै पन्छिए । उनले अब इजरायलमा कामदार पठाउने/नपठाउने विषयमा आफू जानकार नरहेको बताए ।

जानकारी छैनः श्रम मन्त्रालय

विभागले श्रम मन्त्रालयलाई भने विभागले आफू इजरायल पठाउने प्रक्रियाबाट अलग्गिन चाहेको बताएको छैन ।

‘विभागबाट त्यस्तो कुनै जानकारी वा प्रस्ताव आएको छैन । मन्त्रालयले त्यो प्रक्रियाका विषयमा नयाँ कुनै योजना पनि बनाएको छैन,’ श्रम मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले भने, ‘पुरानै प्रक्रियाअनुसार सबै कुरा अघि बढ्छ ।’

तर, विभागका अधिकारी भने कुनै हालतमा इजरायलमा कामदार पठाउने प्रक्रियामा सामेल नहुने बताइरहेका छन् ।

कस्तो श्रम गन्तब्य हो इजरायल ?

कोरिया जान नसक्ने अनि खाडी र मलेसिया जान नचाहने नेपालीका लागि इजरायल राम्रो गन्तब्य मानिएको छ ।

इजरायलले मागको ८० प्रतिशत महिला हुनुपर्ने शर्त राखेकाले नेपाली महिलाहरुका लागि यो निकै उत्कृष्ट गन्तब्य बन्ने सम्भावना छ । इजरायल जाने नेपालीले महिनाको १ हजार डलर हाराहारी आम्दानी गर्ने गरेका छन् ।

२ देशबीच गत साउनमा भएको द्विपक्षीय सम्झौतामा ३०० नेपाली कामदार केयर गिभरका रूपमा छनोट गरिने उल्लेख थियो । अहिले ६० जनामात्र जाने निश्चित भएको छ । तर, दोस्रो चरणमा कामदार पठाउन विभाग पन्छिएपछि कुन निकायले कहिलेदेखि अन्य कामदार पठाउँछ भन्ने अन्यौल भएको छ ।

कोरिया जान नसक्ने अनि खाडी र मलेसिया जान नचाहने नेपालीका लागि इजरायल राम्रो गन्तब्य मानिएको छ ।

३ महिनाको केयर गिभरको तालिम लिएका वा नर्सिङ पढेकाहरुलाई इजरायल लैजान सकिने एमओयुमा उल्लेख छ । यसैअनुसार पहिलो चरणमा कामदार छनोट गरिएको हो । इजरायलमा विशेषगरी वृद्धवृद्धालाई स्याहार गर्ने कामका लागि घरेलु कामदारका रुपमा केयर गिभर लिने गरिएको छ ।

विभागले पहिलो चरणका लागि केही महिनाअघि माग गरेको आवेदनमा ८१८ जनाले दरखास्त दिएका थिए । त्यसबाट अन्तिम भाषा परीक्षामा १ सय सहभागी भएकोमा ६० जना मात्रै छनौट भएका छन् ।

यसमध्ये ११ जना पुरुष र बाँकी महिला छन् । अब उनीहरुले ७१ घण्टाको विशेष तालिम लिएर इजरायल जानेछन् । यी कामदारले ५ वर्षसम्म इजरायलमा रोजगारी पाउनेछन् ।

इजरायल जानेले स्वास्थ्य परीक्षण, बीमा हवाई खर्चलगायत गरी लगभग ९५० डलरमात्रै तिर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment