+
+
Shares

पाइपको काम, भनेजस्तो दामः बन्ने हो प्लम्बर ?

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १ गते १२:२७

plumber
रवीन्द्र घिमिरे

१ बैशाख, काठमाडौं । गत वर्ष नेपालमा औसत ज्याला वृद्धिदर ८ प्रतिशत थियोे । तर, तथ्याङ्क विभागकाअनुसार ‘प्लम्बिङ’ क्षेत्रमा यही वर्ष १४ प्रतिशत ज्याला बढ्यो । यसको प्रमुख कारण थियो, बढ्दो माग र न्यून जनशक्ति ।

अहिले शहर-बजारदेखि नगरोन्मुख गाउँघरमा पनि आधुनिक शैलीमा पक्की घरहरु बन्ने क्रम बढेको छ । घरभित्रै शौचालय-बाथरुम र किचेनको ‘सेट’ अनिवार्यजस्तै मानिन्छ । अझ पछिल्लो समयमा त कोठैपिच्छे जोडेर अलग्गै वाथरुम-शौचालय बनाउन थालिएको छ ।

यस्ता वाथरुम र किचेनबाट बाहिर पानी फाल्न पाइप जडान गर्ने काम प्लम्बरले गर्छन् । तर मागअनुसार पर्याप्त प्लम्बर छैनन् ।अधिकांश युवा रोजगारी खोज्दै बाहिरिएका छन् । उनीहरुले पठाएको रेमिट्यान्सबाट क्रंक्रिट घरहरु बन्दैछन् ।

तर, तिनै घर बनाउन चाहिने विविध सिपयुक्त कामदारको भने अभाव छ । जनशक्ति अभावले गर्दा महंगो ज्याला दिएर भए पनि काम गराउन उपभोक्ता पनि बाध्य छन् ।

के हो प्लम्बिङ ?
घरका विभिन्न भागमा जडान हुने पाइपको फिटिङ, म्यानेजिङ, ट्वाइलेट तथा बाथरुम सेटिङ तथा मर्मत लगायतको काम नै प्लम्बिङ हो । यसको दायरा यतिमा मात्रै सीमित छैन । ठूला आयोजनाहरुमा पनि प्लम्बरले विभिन्न पाइप म्यानेजिङको काम गर्छन् ।

खानेपानी, सिँचाई, ढल, जलविद्युत लगायतका आयोजनाहरुमा पनि प्लम्बरहरु अत्यावश्यक हुन्छ । प्लम्बरको मुख्य सीप भनेको नै पाइपसँगै सम्बन्धित हो । प्लम्बरले नापजाँच गर्ने, पाइप जोड्ने र त्यसलाई घर मालिकको योजना अनुसार व्यवस्थापन गर्ने काम गर्छन् ।

आकर्षक आम्दानी
छोटो समयको तालिमले सिपयुक्त बनेका प्लम्बर युवालाई कामको कमि छैन । कामअनुसार आम्दानी पनि चित्तबुझ्दो रहेको पाइन्छ ।

सुनसरीबाट काठमाडौं आएका २८ वर्षीय दिल लिम्बु अहिले यही पेशामा छन् । गोंगबुमा डेरा गरी बस्ने उनी महिनामा ३० हजारदेखि  ६० हजारसम्म कमाउछन् ।

‘कमाइ एकनास हुँदैन । महिनामा न्यूनतम २५-३० हजार त भइ नै हाल्छ । तर, काम लगातार पाइयो भने ६० हजारसम्म आरामले कमाउँछु,’ लिम्बु भन्छन्- ‘कहिले त एक दिनमै ४/५ हजार पनि कमाइ हुन्छ ।’

लिम्बु एक सरकारी परियोजनामार्फत निशुल्क तालिम लिएर प्लम्बिङमा प्रवेश गरेका हुन् । सुरुमा ईंटा र बालुवा बोक्ने लिम्बु अहिले प्लम्बिङको टुल किट बोकेर काममा हिँड्छन् । अहिले कामको खोजी गर्दै हिँड्नु पनि पर्दैन उनले ।

बढ्दो चिनजानसँगै दैनिकजसो कामको लागि फोन आउने लिम्बु बताउँछन् । प्लम्बर पेशामा आएपछि नै विबाह गरेका उनी अब गाउँमा घडेरी किन्ने तयारीमा छन् ।

अवसर विदेशमा पनि
प्लम्बरलाई स्वदेशमा मात्रै हैन, विदशेमा पनि राम्रो अवसर छ । प्लम्बिङ सिकेर विदेश जाने युवाले पनि राम्रै तलब पाउँछन् । मासिक ३० हजारदेखि ४५ हजारसम्म प्लम्बरले विदेशमा कमाउन सक्छन् ।

विभिन्न देशहरुमा अपार्टमेन्ट, कमर्सियल बिल्डिङ, हाउजिङ लगायत ठूला परियोजनामा प्लम्बरहरुको माग छ । अहिले पनि थुप्रै नेपाली युवा विदेशमा प्लम्बरका रुपमा कार्यरत छन् ।

शहरी क्षेत्रका शिक्षित युवाले यो पेशा खासै रोज्दैनन् । त्यसैले धेरैजसो ग्रामीण भेगबाट शहर छिरेका युवा प्लम्बिङमा संलग्न छन् । साधारण लेखपढ गरेकाहरु यो पेशामा आकषिर्त हुने गरेको पाइएको छ।

ज्यालादारीमै काम गर्नुपर्ने बाध्यतामा रहेका युवालाई प्लम्बिङ उत्कृष्ट बिकल्प भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)का अधिकारीहरु बताउँछन् ।

plumber-training
प्लम्बर तालिम लिनेमा पनि बढीजसो एसलएसी पास नभएका युवाहरु नै छन् । आर्थिक रुपमा कमजोर व्यक्तिले यो तालिम लिए आत्मनिर्भरताको बाटो सजिलै खुल्छ । प्लम्बर तालिमपछि पेशालाई निरन्तरता दिएर जनसम्पर्क बढाउन सके बेरोजगार युवालाई सहज हुने प्लम्बर लिम्बुले बताए ।

‘मलाई त यो सम्मानित काम जस्तो पनि लाग्छ,’ उनले भने-‘भविष्य बिग्रियो भनेर बसेको मान्छे म । पाइप जोड्न सिकियो । अब आफ्नो भविष्यप्रति ढुक्क छु ।’ उनले अब प्लम्बर छाडेर अन्य पेशामा जान नसक्ने बताए ।

तालिम लिनुस, काम थाल्नुस
प्लम्बिङको तालिमका लागि युवाहरुले खासै ठूलो लडाईं लड्नुपर्दैन । सरकारी तथा निजीस्तरका संस्थाले यसको तालिम सञ्चालन गरिरहेका छन् । देशभर सीटीइभीटी अन्तरगत प्लम्बरको निःशुल्क तालिम दिने संस्था धेरै छन् ।

सशुल्क तालिम लिन पनि खासै धेरै रकम आवश्यक पर्दैन । सरकारले चलाएको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि -इभेन्ट) परियोजनाले पनि तालिम दिँदै आएको छ । परियोजनामार्फत ६० भन्दा बढी संस्थाले प्लम्बरको तालिम दिइरहेका छन् ।

अन्य सरकारी तथा गैह्र-सरकारी संघ-संस्थाले पनि यसको तालिम दिँदै आएका छन् । सीटीइभीटी अन्तरगत सम्बन्धन लिएका संस्थाहरुले सरकारी कोटामा निशुल्क तालिम चलाउँछन् । प्लम्बरको तालिमका लागि ३ महिनाको कोर्स तयार गरिएको छ ।

तालिम सकेपछि सीटीइभीटीले ‘स्कील टेष्ट’ गरेर प्रमाणपत्र दिन्छ । यसरी पाइने प्रमाणपत्रले विदेशमा समेत मान्यता पाउँछ । हातको सीप र प्रमाणपत्रले एउटा युवाले आफ्नो भविष्यलाई सुरक्षित गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?