Comments Add Comment

अहो ! झन्डै फुत्केको थियो मुखैमा आएको जित

Nepali cricket1 (4)

६ वैशाख, काठमाडौं । नेपाल-नामिबियावीच सोमबारको म्याचको अन्त्य कुनै थ्रीलर फिल्मको क्लाइमेक्सभन्दा कम भएन । एक समय ‘अब नेपालले सुतीसुती जित्ने भो’ भन्दै दर्शकहरु हाई काढ्न थालेका थिए । तर, अन्तिम ओभरमा पुग्दा तिनै दर्शकहरू ढुकढुकी थामेर बस्न विवश भए ।

नेपालको इनिङको अन्त्यतिर त्रिवि मैदानभित्र अभुतपूर्व माहोल थियो । दर्शकहरु बेचैनीयुक्त हुटिङमा थिए । दुवैतर्फका खेलाडीहरु नर्भस थिए । लाइभ अपडेट गरिरहेका हामीलाई पनि ध्यान केन्द्रित गर्न गाह्रो पर्‍यो ।

अन्तिम ओभरमा ६ रन चाहिएको अवस्थामा जे पनि हुन सक्थ्यो । त्यसमाथि क्रिजमा भर्खरै आएका बसन्त रेग्मी स्ट्राइकमा थिए । बसन्तले जसोतसो एक रन फुत्काएर शरद भेषावकरलाई स्ट्राइकमा ल्याए । अनि, शरदले ‘जे पनि’ हुन दिएनन् ।

नेपालले नामिबियाविरुद्ध मीठो जित निकालेको छ । यसलाई फ्यानहरुले लामो समयसम्म सम्झिने छन् । विशेषरुपमा पारस खड्का र शरद भेषावकरको साझेदारी अविस्मरणीय छ । यो यस्तो साझेदारी हो, जसले नामिबियालाई पूर्णरुपमा ‘डोमिनेट’ गर्‍यो । नेपालको ब्याटिङले कुनै पनि बलियो टिमलाई यसरी डोमिनेट गरेको विगतमा धेरै घटना छैनन् ।

नाटकीय मोडहरुले भरिएको म्याच

नामिबिया र नेपाल दुवैका इनिङमा अनेकन् नाटकीय मोडहरु आए । टस हारेर ब्याटिङमा आएको नामिबियाले जोडदार सुरुवात गरेको थियो ।

२० ओभरसम्म विना कुनै विकेटको नोक्सानीमा ९५ रन जोड्दा नामिबियाको अन्तिम स्कोर २७०-८० सम्म पुग्न सक्ने सम्भावना देखिएको थियो । तर, नेपालले आफ्नो फिल्डिङ र बलिङबाट उत्तिकै जोडदार कमब्याक गर्‍यो ।

नामिबियाले १९ रनको अन्तरमा अविश्वसनीय किसिमबाट ५ विकेट गुमायो । ९५-० बाट नामिबिया ११४-५ को नाजुक स्थितिमा पुग्यो । त्यतिबेला नेपालले १७०-८० रनमा नामिबियालाई अलआउट गर्न सक्ने आँकलन गरियो । तर, तल्लो क्रमका ब्याट्सम्यानले नामिबियालाई खेलमा फर्काए । अन्तिम ओभरहरुमा चौका र छक्को वर्षा गर्दै उनीहरुले नेपाललाई २४० रनको चुनौतिपूर्ण लक्ष्य दिए ।

नामिबियाको भन्दा विलकुल पृथक थियो नेपालको ब्याटिङ । अघिल्लो म्याचमा १९६ रनको लक्ष्य भेट्टाउन निकै संघर्ष गरेको नेपालका लागि २४० रनको लक्ष्य पहाड हुन सक्ने आशंका थियो ।

ओपनरहरुले सुस्त गतिमा नेपालको इनिङ अघि बढाए । १३ ओभरमा केवल ३७ रन बनाउँदा नेपालका दुवै ओपनर नरेश बुढाएर र ज्ञानेन्द्र मल्ल पेभेलियन फर्किसकेका थिए । विशेषगरी ज्ञानेन्द्रको विकेट नेपालका लागि ठूलो झट्का थियो । यतिबेलासम्म नेपालको जितको आशा धुमिल हुन थालिसकेको थियो ।

Paras-n-Sarad

तर, पारस र शरदको जोडीले नेपालको संकटमोचन गर्‍यो । उनीहरुले नेपाललाई २०४/२ को स्थितिमा पुर्‍याए, जहाँ नेपालको जित केवल औपचारिकता प्रतीत हुन्थ्यो । तर, कथाको क्लाइमेक्स बाँकी नै थियो ।

खेलको दिशा विपरीत पारस आउट भए, रिभर्स स्वीप हान्ने चक्करमा । त्यतिबेला नेपाललाई जितका लागि ५४ बलमा ३६ रन मात्र चाहिएको थियो । तर, पारसपछि आएका ब्याट्सम्यानहरु नर्भस देखिए ।

३० रनको अन्तरालमा नेपालले एकपछि अर्को गर्दै पाँच विकेट गुमायो । अन्तिम ओभर बाँकी रहँदा नेपाल २३४/७ को अवस्थामा पुग्यो । क्रिकेटमा यस्तो बेला नतिजा जता पनि जान सक्छ ।

पारसको कप्तानी इनिङ

[sam_list]

सोमबारको म्याचमा कप्तान पारसको ब्याटिङको जति प्रशंसा गर्दा पनि कम हुन्छ । उनी क्रिजमा आउँदा नेपाल सबै किसिमका समस्याहरुभित्र घेरिएको थियो । उनलाई दर्शकहरुले ठूलो हुटिङका साथ स्वागत गरे । यो हुटिङका पछाडि पारसले नेपाललाई संकटबाट बाहिर निकाल्छन् भन्ने अपेक्षा लुकेको थियो । र, पारसले यो अपेक्षामा शतप्रतिशत न्याय गरे ।

नामिबियाविरुद्ध नेपाली कप्तानले आफ्नो क्रिकेट जीवनकै अविस्मरणीय र उत्कृष्ट इनिङ खेलेका छन् । उनी १०३ रन बनाएर पेभिलियन फर्किँदा नेपाली टोली जितको नजिक पुगिसकेको थियो । ७ छक्का र ५ छक्का सहितको ब्याटिङ फिगर बिस्फोटक लाग्छ, तर पारसले कुनै पनि सट अन्धाधुन्द खेलेका होइनन् । उनले केवल एउटा गलत सट प्रहार गरे, र त्यसैमा आउट भए । गलत यस अर्थमा कि नेपाल सहज जिततर्फ लम्किरहेका बेला उनले जोखिम मोल्नु आवश्यक थिएन ।

शरदको फिनिसिङ

दुई दिनअघि मात्र नेपाललाई संघर्षपूर्ण जित दिलाएका थिए शरद भेषावकरले । तेस्रो नम्बरमा आएका उनी नेपालको एउटा इन्ड सम्हाल्दै अन्तिमसम्म टिकेका थिए । तिनै शरदले लगातार दोस्रो म्याचमा नेपाललाई जितसम्म पुर्‍याएका छन् । नियमित ५-६ नम्बरमा ब्याटिङ गर्ने शरद उत्कृष्ट फिनिसरका रुपमा पनि चिनिन्छन् । त्यसैको प्रमाण उनले दिए फेरि एकपटक ।

पारस आउट भएपछि अन्य ब्याट्सम्यानहरु एकाएक नर्भस भए, तर शरद डग्मगाएनन् । अर्को इन्डबाट लगातार विकेट पतन भइरहँदा उनले धैर्य गुमाएनन् । बरु नेपालको इनिङलाई आफ्नो काँधमा बोके । शरदले एउटा पनि सट आवेशमा खेलेनन् । शरदको आजको ब्याटिङ नेपाली क्रिकेटका फ्यानहरुले लामो समयसम्म याद राख्नेछन् ।

को नायक, को सहनायक ?

फिल्ममा जस्तो क्रिकेटमा नायक र सहनायक हुँदैनन् । यद्यपि हरेक म्याचमा कुनै न कुनै खेलाडीको नायकीय भूमिका हुन्छ ।

आजको म्याचमा पारस र शरदमध्ये को नायक हुन् त ? उत्कृष्टताको आधारमा हेर्दा पारसको इनिङलाई अगाडि राख्न सकिन्छ । उनको ब्याटिङ सबै विशेषताहरुले भरिपूर्ण थियो । यद्यपि, शरदको भूमिकालाई पनि कम आँक्न सकिन्न, किनकि उनले हतास परिस्थितिमा नडग्मगाइकन नेपाललाई जितसम्म पुर्‍याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment