Comments Add Comment

माओवादीको राजदूत सिफारिसमा सधैँ अनौठो ?

अजय शर्माहरु गए, अब लक्कीको पालो

मंगलबार साँझ सरकारले २१ देशका राजदूतका लागि गरेको सिफारिस र त्यसमा एमाओवादीका तर्फबाट परेका नामहरु देखेर करिब ९ वर्षअघिको यस्तै सिफारिसको याद आयो ।  सन्दर्भ जोडिएकाले होला, अस्ट्रेलियाका लागि सिफारिस व्यक्तिको नाममा झट्ट ध्यान गयो ।

यो पंक्तिकार त्यसबेला माओवादीनिकट जनादेश साप्ताहिकसँग आवद्ध थियो । ०६३ को साउनतिर एकजना गोरा, चिल्ला, अन्तरमुखी स्वभावका, जनयुद्धबाट आएका हामीसँग कमै घुलमिल हुन रुचाउने व्यक्ति जनादेशको सहप्रकाशन संश्लेषणको प्रधानसम्पादक भएर आए । उनी केही महिनाअघि मात्रै अमेरिकाबाट नेपाल ‘ल्यान्ड’ भएका रहेछन् ।

ajaya sharma
अजय शर्मा

अमेरिकातिर बस्नेलाई के काम गर्छौ भनेर नसोध्ने प्रचलन भएकाले हामीले पनि सोधेनौं । कुनै ज्वेलरी पसलमा काम गर्थे भन्ने गाईंगुईं थियो ।

अजय शर्मा नामका ती महानुभाव प्रधान सम्पादक भएर आएपछि युद्धका बेला जंगलबाट फर्केका पत्रकार खिलबहादुर भण्डारी र बलराम थापा सम्पादक मण्डलमा झरे । शर्माले केही आन्तरिक प्रकाशन पनि गरे ।

अचानक तिनै अजय शर्मा ०६४ को भदौ ८ गते  अस्ट्रेलियाका लागि राजदूतमा सिफारिस भएको समाचार सुनियो । शर्माको असली नाम रहेछ योगेन्द्र ढकाल । उनी नाताले मोहनविक्रम सिंहका बहिनीज्वाइँ रहेछन् ।

शर्माको नाम राजदूतमा आएपछि एकै वर्षमा आँखै अगाडि आश्चर्य भएको देखेर हामी धेरैले जिब्रो टोकेका थियौं त्यसबेला । अर्थात् अमेरिकाबाट नेपाल आएको, जनयुद्धमा कुनै योगदान नभएको मान्छे एक वर्षभित्रै राजदूतजस्तो गरिमामय, रणनीतिक महत्वको र आर्थिक लाभको पदमा नियुक्ति !

सुनिए अनुसार यी शर्मा अर्थात् ढकाल अमेरिकामा हुँदा शर्मा थरकै एक माओवादी नेताको ‘वान म्यान कन्ट्याक्ट’ मा रहेका थिए भन्ने त्यसबेला सुनिएको थियो । सम्भवतः उनैले पार्टी नेतृत्वसामु उनको नाम सिफारिस गरेका थिए । त्यसबाट हुने लाभ पनि कतै उनैले नै असुल गरेका पो थिए कि ?

केही समयअघि एमालेबाट दक्षिण कोरियाका लागि राजदूत भएका बरिष्ठ पत्रकार तथा स्तम्भकार कमलप्रसाद कोइरालाले चार वर्षमा प्राप्त पारिश्रमिक १ करोड ५० लाखको १० प्रतिशत हुनेआउने १५ लाख एकमुष्ठ पार्टीलाई सहयोग गर्नुभएको भनी एमालेनिकट बुधबार साप्ताहिकमा पढ्ने मौका मिलेको थियो । एमाओवादीबाट राजदूत भएका कसैले यसरी नै पार्टीलाई सहयोग गरेको अहिलेसम्म पढ्न वा लेख्न पाइएको छैन ।

अजय शर्मासँगै माओवादी कोटाबाट त्यसबेला सिफारिसमा परेकाहरुमा फ्रान्सका लागि माओवादी नेतृ पम्फा भुसाालबाहेक डेनमार्कका लागि सिफारिस विजयकान्त कर्ण र मलेसियाका लागि सिफारिस हिराबहादुर थापा (पछि उनकोे ठाउँमा डा.ऋषि अधिकारी राजदूत नियुक्त भएर गए ।) को पनि जनयुद्धमा कुनै संलग्नता थियो भन्ने जानकारी यो पंक्तिकारको तहसम्म छैन ।

डेनमार्कका लागि राजदूतको कार्यकाल सकेर फर्केका कर्ण अचेल माओवादीमाथि प्रहार गर्नेहरुको अग्रपंक्तिमा छन् ।

खासगरी ०६३ को अन्त्यतिरबाटै अन्तरिम व्यवस्थापिका बनाउने क्रममा बाहिरी मानिसहरु आकर्षित गर्ने नाममा माओवादीले सांसद लगायतका राजनीतिक पदमा बाहिरकै मानिसलाई नियुक्त गर्न थाल्यो ।

फलतः पञ्चायतका अञ्चलाधीशदेखि सेनाका पूर्वजर्नेलसम्म, माओवादीलाई नै सामाजिक फासीवादी भन्ने लालबुझक्कडदेखि एनजीओ खेती गर्ने सुख्खारामहरुले पनि माओवादीमा आएर विभिन्न पद पड्काए ।

उनीहरुलाई फूलमालाले मात्रै होइन, अधिकांशलाई सांसददेखि राजदूतसम्मका राजनीतिक नियुक्तिले भरपुर स्वागत भयो/भइरहेको छ ।

चार वर्षअघि माओवादीको सिफारिसमा परी चार वर्ष राजदूतमा राममणि पोख्रेल र मायामकुमारी शर्माको माओवादी पार्टीमा भएको योगदानबारे मध्यमस्तरको पंक्ति पनि जानकार थिएन ।

राममणि पोख्रेल केही समयअघि एमालेबाट एमाओवादीमा आएका थिए । बस्रेल्सबाट नेपालविरुद्ध भारत-इयुको वक्तव्य आएसँगै उनको कूटनीतिक ‘योग्यता’ को पुष्टि पनि भइसकेको छ ।

मायाकुमारी शर्मालाई ठूला नेताहरुले पनि चिन्दैनथे, उनको योगदानको के कुरा ? ०५० देखि नै माओवादीनिकट विद्यार्थी संगठनमा संलग्न भएको र ०५७ देखि आधिकारिक प्रकाशनसँग जोडिएका नाताले पनि यो पंक्तिकारले नैनिताल विश्वविद्यालयबाट भटमासमा विद्यावारिधी गरेकी ती अजबकी महिलालाई कुनचाहिँ माओवादी नेताले सिफारिस गर्‍यो होला भनेर जान्ने असाध्यै कोसिस गर्‍यो । तर, असफल भयो । मायाकुमारीको राजदूतकै कार्यकाल र पछिको चर्तिकलाबारे धेरै मानिसहरु जानकार नै छन् ।

lucky sherpa
लक्की शेर्पा

कम्युनिस्ट आन्दोलनमै खासै योगदान नभएका पाहुनालाई यस्ता नियुक्तिसहित भरपुर स्वागत गर्ने क्रम अद्यापि जारी छ ।

संयोगले सबैभन्दा पछिल्लो यस्तो नियुक्ति अर्थात् राजदूतको सिफारिसमा परेका माओवादी कोटाका कोही पनि जनयुद्धमा प्रत्यक्ष संलग्न थिएनन् ।

संयोग, ९ वर्षपछि अस्टेलियाकै लागि सिफारिसमा परेकी लक्की (भाग्यमानी) शेर्पा सवा दुई वर्षअघि दोस्रो संविधानसभाको निर्वाचनको ठीकअघि माओवादी प्रवेश गरेकी हुन् । र, यो दुई वर्षकै बीचमा उनलाई राजदूत पदको शुभलाभ प्राप्त भएको छ ।

तर, यो टिप्पणीको उद्देश्य पछि आन्दोलनमा जोडिएकालाई राजनीतिक नियुक्ति दिनै हुन्न भन्ने कदापि होइन । तर, नेपाली जनताको पक्षमा भएका आन्दोलनमा र पार्टीमा आएपछि पनि यथेष्ट लगानी भएको छ कि छैन भन्ने हेरिनुपर्छ भन्ने हो ।

योगदान र योग्यताको सन्तुलन हुनुपर्छ । यसरी घनघोर ‘योग्यता’ भएकाहरुका अतिरिक्त माओवादी जनयुद्धमै पसिना बगाएका वा सहयोग गरेका ठीकैको योग्यता भएकालाई पनि समेटिएको भए प्रश्न उठ्ने ठाउँ हुने थिएन कि ?

अन्त्यमा, फेरि उनै अजय शर्मातिरै जाऊँ । अस्ट्रेलियाको कार्यकाल सकिएपछि उनी नेपाल फर्के । केही समय माओवादी (त्यसबेला माओवादी एमाओवादी भइसकेको थियो) को बुद्धिजीवी संगठनतिर काम गरे । केही समयपछि उनी एमाओवादी छोडेर ड्यास माओवादीमा लागे, एमाओवादी विचारबाट पतन भएको ठहर गर्दै ।

तर, अजय शर्मा ड्यासमा माओवादीमा पनि अडिन सकेनन् र अन्ततः पुगे आफ्नो पुरानै पार्टी राष्ट्रिय जनमोर्चामै । अर्थात् उनले ‘घामपानी’का बेला माओवादी ‘छाता’ ओढेर राजदूत पडकाए । तर, सायद उनको हृदयमा कहिल्यै माओवादी विचारधारा र माओवादी पार्टीप्रति शुभचिन्ता थिएन, त्यसैले उनी मोहनविक्रम सिंहको पुरानै घरमा फर्के ।

शर्माजस्तै धेरै बाहिरियाहरु माओवादीमा आए, यहाँ ओत लागे, स्वार्थका भाँडा भरे र बाटो लागे । तैपनि, यसरी पार्टीमा आएका पाहुनाको भरपुर ‘सत्कार’ गर्ने क्रम जारी छ माओवादीमा ।

अहिलेलाई यति कामना गरौं, अहिले एमाओवादीको सिफारिसमा परेका राजदूतहरुले कार्यकाल सकेपछि अजय शर्माजस्तै माओवादीलाई नै आरोप लगाउँदै अन्यत्र जाने काम नगरुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment