Comments Add Comment

धरहराबाट खसेको जोडी धरहराकै ठुटोमुनि

dharahara couple (9)पोहोरको भूइँंचालोमा धरहराबाट खसेका एक जोडी एक वर्षपछि त्यही धरहराको ठूटोनेरि भेटिए । उनीहरु दुवै थकित देखिन्थे ।

वैशाख १२ नजिकिँदै गर्दा सञ्जीव श्रेष्ठ र रमिला श्रेष्ठ सोह्रश्राद्धको पुरेतजस्ता भएका छन् । हामीभन्दा अगाडि दुई समुहले अन्तर्वार्ता लिइसकेका थिए । हामीपछि एउटा समूह पर्खाइमा थियो । सञ्जीवले हामीलाई २० मिनेट दिए ।

एउटै प्रश्नको जवाफ दिँदा-दिँदा हत्तु भएर हो कि, स्वभावै त्यस्तो हो, सञ्जीव प्रायः सीधा प्रश्नको सीधा जवाफ दिँदैनरहेछन् । उनीबाट कुरा निकाल्नु, थारो भैंसी दुहुनुजस्तै भयो । रमिलाले भने झर्को मानिनन् ।

‘अचेल धरहरा भएको छेउमा आउँदा कस्तो लाग्छ ?’ मैले सञ्जीवतिर फर्किएर पहिलो प्रश्न गरेँ ।

‘मलाई त कस्तो पनि लाग्दैन । अरुलाई जस्तो लाग्छ, त्यस्तै हो ।’ उनले अन्तै फर्केर जवाफ दिए ।

यही प्रश्नमा रमिलाले जवाफ दिइन्, ‘एकदम नरमाइलो लाग्छ । पहिलाको सुन्दर दृश्य दिमागमा आउँछ । भूकम्पको क्षण पनि सम्झिन्छु र झसंग हुन्छु ।’

वैशाख ११ यता सञ्जीव पटक-पटक धरहरा आइसकेका रहेछन् । रमिलाको भने यो दोस्रोपटक हो ।

रामेछापदेखि काठमाडौंसम्म

सञ्जीव र रमिलाको सम्वन्ध धेरै लामो होइन । दुई वर्ष अगाडि मात्र हो, उनीहरुको चिनजान भएको । तर, धरहरा काण्डले गर्दा दुवैलाई यस्तो लाग्न थालेको छ, मानौं दुई सय वर्षदेखिका साथी हुन् उनीहरु ।

दुबैको घर रामेछाप । २१ वर्षीय सञ्जीवको भिरपाने र १८ वर्षीया रमिलाको सालु । रमिलाका अनुसार उनीहरुको घर ६-७ कोस टाढा छ ।

‘तपाईंहरु साथी कसरी बन्नुभयो ?’ मैले फेरि सञ्जीवतर्फ रेकर्डर तेस्र्याएँ ।

‘एउटै जिल्लाको भएपछि साथी भइहालिन्छ नि । कौन सा ठूलो कुरा भयो र ?’ उनले आफ्नै शैलीमा जवाफ दिए ।

‘पहिलो भेट कहाँ भएको थियो ?’

‘म गाउँको दाइको बिहेमा जन्ती गएको थिएँ । बेहुली उनकी दिदी पर्ने रहिछन् । त्यहीँ भेट भयो ।’

‘एकपटकको भेटमै साथी कसरी बन्नुभयो त ?’

भेट भएपछि त साथी भइहालिन्छ नि । मोबाइलको जमानामा छ । मैले उनको मोबाइल नम्बर मागेँ । त्यसपछि फोनमा कुरा हुन थाल्यो ।’

‘पहिलो भेटमै मोबाइल नम्बर दिएको त ?’ मैले रमिलातर्फ फर्केर सोधेँ ।

लजाएर घोसेमुन्टो लगाउँदै उनले जवाफ दिइन्, ‘अँ ।’

जन्तबाट फर्केपछि उनीहरुबीच मोबाइलमा नियमित गफ हुन थाल्यो । उनीहरु बढ्दोरुपमा एक अर्काप्रति आकषिर्त भए । कक्षा ९ को परीक्षा सकेर रमिला काठमार्डाैं घुम्न आइन् । सञ्जीव ३ वर्षदेखि काठमाडौंमै थिए । एसएलसी फेल भएपछि काठमाडौं आएका उनी पुल्चोकमा एउटा रेस्टुरेन्टमा काम गर्थे । दाइ-भाउजूसँग बस्थे । रमिला आफ्ना बुवा र दिदीसँग बल्खुमा बस्थिन् ।

दुवैजना काठमाडौंमा भइसकेपछि बाक्लो भेटघाट हुन थाल्यो । मित्रता फक्रिइरहेको थियो । त्यो मित्रताको उचाइ नाप्न उनीहरु १२ वैशाखमा धरहराको टुप्पोमा पुगे ।

जन्तबाट फर्केपछि उनीहरुबीच मोबाइलमा नियमित गफ हुन थाल्यो । उनीहरु बढ्दोरुपमा एक अर्काप्रति आकषिर्त भए । कक्षा ९ को परीक्षा सकेर रमिला काठमार्डाैं घुम्न आइन् । सञ्जीव ३ वर्षदेखि काठमाडौंमै थिए । एसएलसी फेल भएपछि काठमाडौं आएका उनी पुल्चोकमा एउटा रेस्टुरेन्टमा काम गर्थे । दाइ-भाउजूसँग बस्थे । रमिला आफ्ना बुवा र दिदीसँग बल्खुमा बस्थिन् ।

दुवैजना काठमाडौंमा भइसकेपछि बाक्लो भेटघाट हुन थाल्यो । मित्रता फक्रिइरहेको थियो । त्यो मित्रताको उचाइ नाप्न उनीहरु १२ वैशाखमा धरहराको टुप्पोमा पुगे ।

dharahara couple (8)वैशाख १२

‘त्यसदिन धरहरा घुम्ने प्रस्ताव कस्को थियो ?’ मैले सञ्जीवलाई सोधेँ ।

‘हाम्रै थियो । कोही थर्ड पर्सन आएर प्रस्ताव गर्ने होइन क्यारे ।’

‘घरमा धरहरा चढ्न जान्छु भन्नुभएको थियो ?’

‘कसलाई के भन्नु ? आफू घुम्न जाने हो । सबैलाई फुकेर हिँड्ने कुरा भएन । कहाँ गइन्छ भनेर हिँड्यो, कहाँ पुगिन्छ । जिन्दगीको के ठेगान छ र । मन लागेपछि हिँड्ने हो । बालै भएन नि ।’ सञ्जीवले एकैसाथ धेरै जवाफ दिए ।

रमिलाचाहिँ साथीहरुसँग घुम्न जान्छु भनेर निस्केकी रहिछन् । उनीहरु बसन्तपुरमा भेट भएछन् । बसन्तपुरबाट हल्लिँदै सुन्धारातिर आएपछि रमिलाले भनेकी रहिछन्, ‘आहा, धरहरा चढौं न ।’

सञ्जीवले कसरी अस्वीकार गर्न सक्थे । उनले टिकट काटे । शनिबार भएकाले धरहरामा राम्रै भिडभाड थियो । उनीहरु भर्‍याङमा छिरे । रमिला अघिअघि र सञ्जीव पछिपछि । भर्‍याङमा उक्लने र ओर्लनेहरुको ताँती नै थियो । त्यसमाथि रमिलालाई प्रत्येक भर्‍याङ उक्लिएपिच्छे झ्यालबाट बाहिर नचिहाई नहुने । माथिसम्म पुग्न उनीहरुलाई निकैबेर लागेछ ।

जब धरती हल्लियो

dharahara couple (12)

‘धरहरा उक्लिसकेपछि के-के भयो ?’ मैले सञ्जीवलाई सोधेँ ।

‘के हुनु र ? तल खसियो । कौन सा ठूलो कुरा हो र ?’ यस्तो जवाफ देलान् कि भन्ने आशंका थियो । तर, उनले गम्भीर वर्णन गरे । यस्तो छ उनको वर्णनः

माथि रेलिङमा पुगेर हामी चारैतिर नियाल्न थाल्यौं ।  रेलिङमा पनि मान्छे प्याक थिए । करिब ४०-५० जना हुँदा हुन् । उक्लेको दुई-तीन मिनेट मात्र भएको थियो । एकाएक सननन आवाज आयो । त्यसपछि हावाले बाँस हल्लाएझैं धराहरा लर्‍याङ लर्‍याङ गर्दै यता र उता लर्किएको महसुस भयो । उडाउँछ कि जस्तो भयो । भुईंचालोको त अनुमानै भएन ।

हामी दुवैले जोडसँग रेलिङमा समातेका थियौं । उनले अत्तालिएको भावमा मलाई हेरिन् । मैले रेलिङ नछाड्न भनेँ ।

केहीबेर हल्लाएपछि पटटट आवाज आयो । अनि हामी एकाएक तल खस्न थाल्यौं । त्यसपछि त मलाई सपना हो कि विपना हो जस्तो भयो । चारैतिर कोलाहल र चिच्याहट थियो । म नराम्ररी कहालिएँ । एकैछिनमा तल पछारिएँ ।

त्यतिबेलासम्म अर्द्धबेहोसीको अवस्थामा थिएँ । आँखाभरि धुलो थियो । शरीरभरि चोटैचोट थियो । आँखा यताउति डुलाउँदा मानिसहरु दौडादौड गरेको देखेँ । रमिलालाई पनि देखेँ । उनी, ईंटा र माटोको थुप्रोमाथि बेसहारा भएर लडिरहेकी थिइन् । उनको निधारबाट रगत बगेको थियो । हामीले एक-अर्कालाई देख्यौं, तर बोल्न सकेनौं ।

एकछिनपछि उद्धारकर्मीहरु आउनुभो । म अलिअलि होसमै थिएँ । तर, के भएको हो भन्ने कुनै मेसो पाउन सकेको थिइनँ । एकजनाले मलाई निकाल्न लाग्नुभयो । मैले उहाँलाई सोधेँ, ‘दाइ के भएको हो ?’

उहाँले जवाफ दिनुभयो, ‘ठूलो भूइँचालो आयो, धरहरा खस्यो ।’ त्यसपछि त म पूरै बेहोश भएँ ।

होसमा आउँदा मैले आफूलाई कतै सडकमा लगिरहेको पाएँ । वीर हस्पिटल अगाडिको सडक रहेछ । साँझ परिसकेको थियो । मजस्ता थुप्रै घाइतेहरु यत्रतत्र पसारिएका थिए । मेरा हातगोडा राम्रोसँग चलिरहेका थिएनन् । बायाँ हात त माथि उठाउनै सकिनँ ।

होसमा आउँदा मैले आफूलाई कतै सडकमा लगिरहेको पाएँ । वीर हस्पिटल अगाडिको सडक रहेछ । साँझ परिसकेको थियो । मजस्ता थुप्रै घाइतेहरु यत्रतत्र पसारिएका थिए । मेरा हातगोडा राम्रोसँग चलिरहेका थिएनन् । बायाँ हात त माथि उठाउनै सकिनँ ।

रमिलासँग धरहरा चढेको घोइरो-घोइरो याद आयो । आँखा राम्ररी खुलिरहेको थिएन । चिम्रा आँखा यताउता डुलाएर उनलाई खोज्ने प्रयास गरेँ । तर भेटिनँ । मोबाइल छ कि भनेर छामछुम पारेँ । त्यो पनि भेटिनँ । बेस्सरी जाडो लागिरहेको थियो । म आतेशले कराउन, चिच्याउन थालेँ । निकैवेर कराएपछि मलाई हस्पिटलभित्र लगे । त्यहाँ मैले रमिलालाई देखेँ । उनको हालत देख्दा झन् भाउन्न भयो । टाउकोमा ठूलो पट्टी बाँधेको थियो । उनले पनि मलाई देखिन् । त्यहाँ पनि बोल्न सक्ने अवस्था थिएन ।

सँगैको बेडमा एउटा कुरुवा दाइ थिए । उनले सोधे, ‘भाइ, काठमाडौंमा तिम्रो मान्छे कोही छैन ?’ मैले दाइ हुनुहुन्छ भनेँ । त्यसपछि उनले फोन नम्बर मागे र मैले दिएँ । उनले फोन डायल गरे, तर लाग्दै लागेन । राति नौ बजेतिर बल्ल फोन लाग्यो । उनले मलाई कुरा गर्न दिए ।

‘के भो तँलाई ? कहाँ छस ?’ दाइले सोध्नुभयो ।

‘ट्रमा सेन्टरमा छु । हल्का चोट लागेको छ ।’ मैले जवाफ दिएँ ।

‘म आउनुपर्छ ?’ दाइले ठूलोरुपमा नलिइकन सोध्नुभयो । मैले पनि भनिदिएँ, ‘पर्दैन । खासै केही भएको छैन ।

‘आउनुपर्छ भने भन् है’ दाइले फेरि भन्नुभयो । मैले ‘पर्दैन पर्दैन’ भनेर फोन राखेँ ।

तर, दाइको चित्त बुझेनछ, राति हस्पिटलमा आउनुभयो । उहाँ इमर्जेन्सीभित्र पसेर मलाई खोज्न थाल्नुभयो । मैले मधुरो दृष्टिले उहाँलाई देखेँ । दाइ मेरै छेउबाट तीन-चार पटक ओहोर-दोहोर गर्नुभयो, तर मलाई चिन्नुभएन । मेरो अनुहार चिनिने अवस्थामै थिएन । मैले उहाँलाई बोलाउन खोजेँ, तर बोली नै निस्केन । एकछिनपछि उहाँले अनुमान गर्नुभएछ, अनि नजिकै आएर मलाई नियाल्नुभयो ।

‘तँ सञ्जीव हो ?’ उहाँले सोध्नुभयो । मैले चुपचाप मुन्टो हल्लाएँ । उहाँ भावुक बन्नुभयो ।

dharahara couple (6)रमिलाको वर्णन यस्तो छः

माथि उक्लँदा म निकै रमाइरहेकी थिएँ । तर, एक्कासी हावाले उडाएजस्तो भयो । त्यसपछि आकाशबाट तल पातालमा खसेजस्तो भयो । बीचैमा मेरो होश हरायो ।

तल जमीनमा थचारिएपछि एकपटक अलिकति होस आयो । अघि धरहरा चढेको झझल्को आयो । यताउता हेरेँ । थुप्रै मानिसहरु ईंटाभित्र पुरिएका थिए । कतिका हात र कतिका खुट्टा मात्रै देखेँ । सञ्जिबलाई पनि देखेँ । उ मजस्तै ईंटाको थुप्रोमाथि थियो । उसले पुलिसलाई के भएको हो भनेर सोध्दै थियो ।

मैले आफ्नो अनुहार छामेँ । हातभरि रगत लाग्यो । आँखा पनि राम्ररी खुलेका थिएनन् । आत्तिएर क्वाँक्वाँ रुन थालेँ । एक जना पुलिस मछेउ आए । मलाई बोकेर गाडीमा हालेको थाहा छ । त्यसपछि के भयो केही याद छैन ।’

‘होस खुल्दा हस्पिटलमा थिएँ । त्यतिबेला मानिसहरुले कुरा गरेको सुन्दा बल्ल थाहा पाएँ, भूकम्प आएको रहेछ । अनि म धरहराबाट खसेको याद आयो । त्यसपछि मैले मोबाइल खोजेँ, तर भेटिनँ । एकजना प्रहरीसँग मोबाइल मागेर भिनाजुलाई एसएमएस पठाएँ । ‘भिनाजु, म वीर हस्पिटलमा छु, छिट्टै आउनू ।’ यति मात्र लेखेँ । एक घन्टापछि दिदी भिनाजु आउनुभयो ।

भिनाजु भन्छन्ः

हामी कोटेश्वरमा थियौं । भूइँचालो आएपछि सबै जना घरबाहिर निस्केर खुल्ला ठाउँमा बस्यौं । रमाइलै भएको थियो । दिउँसो तीन बजेतिर सालीको एसएमएस आयो, तर अपरिचित नम्बरबाट । म र मेरी श्रीमती दौडेर हस्पिटल आयौं ।

हस्पिटल आएर अघिको नम्बरमा फोन गर्‍यौं । ती भाइ गेटमै लिन आए र रमिला भएको ठाउँमा पुर्‍याए ।

उनको ठाउकोमा पट्टी बाँधिएको थियो । हामीलाई देखेपछि उनी भक्कानिएर रुन थालिन् । जतिपटक सोध्दा पनि भन्दिनन् के भएको हो । दिदीले गाली गरेपछि बल्ल भनिन् ।

तर, उनको कुरा मैले पत्याइँन । धरहराको टुप्पोबाट खसेको मान्छे कसरी जीवित हुन सक्छ भन्ने लाग्यो । त्यसपछि हामीले सञ्जीवलाई भेट्यौं । उनले पनि त्यही कुरा दोहोर्‍याए । पछि समाचारहरुमा पनि धराहराबाट खसेको जोडी भनेर आएपछि मात्र हामीले पूर्ण विश्वास गरेका हौं ।

धरहराबाटै खसेको भन्ने भएपछि हामी अत्तालियौं । उनको टाउकोभित्र गहिरो घाउ छ भन्ने अनुमान भयो र बाँच्छिन् होला भन्ने नै लागेन । तर, घाउ धेरै ठूलो रहेनछ । १५ वटा टाँका लगाइएको छ ।

dharahara couple (3)  दुबैको दुईपटक अपरेसन

रमिला अस्पतालमा अठार दिन बसिन् । उनको खुट्टाको अपरेसन गरेर स्टिलको रड राखियो । सञ्जीवको पनि हातको अपरेसन भयो । उनी रमिलाभन्दा अगाडि हस्पिटलबाट डिस्चार्ज भए । तर, दुवै जनाको पहिलो अपरेसन बिग्रियो ।

दुई महिनाअघि सञ्जीवले दोस्रोपटक हातको अपरेसन गरे भने रश्मिलाले केही दिनअघि खुट्टाको दोस्रोपटक अपरेसन गरिन् । उनी अहिले पनि खोच्याएर हिँड्छिन् ।

भूकम्पपछि सञ्जीवले आफ्नो नोकरीबाट हात धुनुपरेको छ । उनी अहिले खाली छन् । कहिले रामेछाप गएर बस्छन् त कहिले काठमाडौंमा । काम केही नहुँदा छट्पटी हुने गरेको बताउँछन् । हात राम्रोसँग बिषेक भएपछि फेरि काम गर्ने उनको योजना छ ।

‘हामी साथी मात्रै’

आजकाल सानोतिनो भूइँचालो जाँदा कत्तिको डर लाग्छ ?

सञ्जीवः मलाई त केही पनि लाग्दैन । के चैं हुने हो र । बढी से बढी पुरिएला, मरिएला । मरिन्छ भने मरियोस् । मर्नै लेखेको छ भने कसैले टारेर टर्ने होइन क्यारे ।

रमिलाः म त एकदम नर्भस हुन्छु । धेरै बेरसम्म मुटु ढुकढुक भइरहन्छ ।

अबको योजना के छ ?

सञ्जीवः पढाइ छोडिहालियो । अब हात ठीक भएपछि कसैले काम दिए गर्ने हो । नत्र आराम गर्ने, बस्ने ।

रमिलाः यो वर्ष एसएलसी दिनुपर्ने थियो, तर एक वर्ष पढाइ छुट्यो । अब फेरि स्कुल ज्वाइन गर्छु र अर्को वर्ष एसएलसी दिन्छु ।

तपाईंहरु साथी मात्रै हो कि प्रेमी-प्रेमिका हो ?

सञ्जीवः (रमिलालाई औंल्याउँदै) उनलाई सोध्नुस् ।
रमिलाः (लाजले भुतुक्क हुँदै) साथी मात्रै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment