Comments Add Comment

टेलिकमले वैशाख १२ गते दीप प्रज्वलन तथा सांगितिक कार्यक्रम गर्ने

Nepal-Telecome

१० वैशाख, काठमाडौं । नेपाल टेलिकमले विनाशकारी भूकम्पमा परी दिवंगत भएकाहरुको स्मरण गर्दै चिर शान्तिको कामना गर्न वैशाख १२ गते टुँडीखेलमा दीप प्रज्वलन तथा मधुर सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

कार्यक्रममा कुटुम्ब, सुगम पोखरेल र श्रेया सोताङलगायतका लोकपि्रय कलाकारहरुको सांगीतिक प्रस्तुति समेत रहने बताइएको छ । कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा विभिन्न प्रतिष्ठित ब्यक्तिहरुको सहभागिता हुनेछ । बेलुकी ५ बजे शुरु हुने उक्त कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

‘राष्ट्रको सञ्चार’ को रुपमा रहेको टेलिकमले नेपाली जनताको सुख दुःखलाई निरन्तर सम्बोधन गरिरहने बताएको छ । यही अर्थमा कार्यक्रमको नाम ‘एनटी सम्बोधन’ राखिएको हो ।

नेपाल टेलिकमले भूकम्पको अत्यन्त दुःखपूर्ण समयमा दिएको निःशुल्क भ्वाइस तथा डाटा सेवा ग्राहकमाझ अविष्मरणिय रहेको छ । कम्पनीले बैशाख १२ गते भूकम्प गएपश्चात १२ बजेदेखि वैशाख १७ गते रातको १२ बजेसम्म १ अर्ब ४६ करोड बराबरको जीएसएम तथा सिडिएमए नेटवर्कबाट भएका सम्पूर्ण कलहरु (अन्तरदेशीय तथा अन्तर्राष्ट्रिय) एवं एसएमएस तथा डाटा सेवा निःशुल्क उपलब्ध गराएको थियो ।

साथै, पिएसटिएन तथा सि-फोन फिक्स्ड सेवामा बैशाख महिनाको न्यूनतम महसुलमा थप १०० कल निःशुल्क गरेको थियो । भूकम्पबाट विस्थापित भई शिविरहरुमा वसेका पीडितहरुको सुविधाका लागि कम्पनीले निःशुल्क वाइफाई हटस्पटको व्यवस्था गरेको थियो ।

नेपाल टेलिकमले कम्पनीको तर्फबाट २५ करोड रुपैयाँ, कर्मचारीहरुको तर्फबाट २ करोड ७५ हजार रुपैयाँ र सञ्चालक समितिका पदाधिकारीहरुको तर्फबाट  ८१ हजार ६ सय रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको थियो ।

यस्तैगरी जीएसएम तथा सिडिएमए प्रविधिका मोबाइल सेवाबाट निश्चित नम्बरमा एसएमएस पठाउँदा राहत कोषको लागि रकम संकलन हुने व्यवस्था गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको थियो ।

कम्पनीले क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि नेपाल सरकारको निर्देशन एवं योजनाको परिधिभित्र रही तीन बर्षभित्रमा १ अर्ब रुपैयाँ खर्च गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment