Comments Add Comment

यी हुन् पहाड पल्टाउने ‘मूर्ख’ ओलाचुङगोलाबासी !

जनताले आफ्नै खर्चमा तिब्बत जाने बाटो खन्न थाले

१८ वैशाख, ताप्लेजुङ । तस्वीरमा हेर्नोस् त, एक पुरुषले महिलाको ढाडमा ढुंगो बोकाउँदैछन्  । दायाँतिर अन्य महिला डोरीको सहायताले पिठ्युँमा ढुंगा बोकिरहेका छन् । यो दृश्य हो, तिब्बतसँग सीमा जोडिएको ताप्लेजुङस्थित ओलाङचुङगोलाको ।

1 batao khandai gola

काठमाडौंमा लोकतन्त्रको डिङ हाँकेर कहिल्यै नथाक्ने सरकारले हदैसम्म बेवास्ता गरेपछि ओलाङचुङगोलाबासी बहादुर नेपाली जनता आफैं सडक खनेर नाका खोल्ने अभियानमा जुटेका छन् । यस्तो लाग्छ, यिनीहरु बहादुर बलभद्र कुँवरका असली सन्तति हुन्, जसको दृढ इच्छाशक्तिलाई कसैको नाकाबन्दी र वेवास्ताले थुन्न सक्दैन ।

धैर्यता र सहनुको पनि त एउटा सीमा हुन्छ, कहिलेसम्म सरकारको मुख ताकेर बस्ने ? बाटो बनाइदिन नेपाल सरकारसँग पटक-पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि उनीहरु आफैं बाटो खन्ने अभियानमा जुटेका हुन् ।

5 batao khandai gola

के महिला, के किशोर-किशोरी र के वृद्धवृद्धा, सबैजना आफ्नै खर्चमा तिब्बत र नेपाललाई सडकमार्फत् जोड्ने लक्षमा छन् । बाटो खन्ने औजार किन्नका लागि उनीहरुलाई अमेरिकामा रहेका ओलाङचुङगोलाबासीले केही आर्थिक सहयोग गरेका छन् ।

बिहानै खाना, खाजा र घरेलु औजार लिएर निस्कने उनीहरु दिनभरि सडक खनेर साँझ मात्र घर र्फकछन् । उनीहरुले यसैगरी अहिलेसम्म ओलाङ्चुङगोलाबाट तिब्बततर्फको दुई किलोमिटर सडकको ट्रयाक खनिसकेका छन् ।तिब्बतबाट नेपालको सीमासम्म आएको सडकलाई छुन अब १७ किलोमिटर खन्नुपर्नेछ । यो सानो चुनौती होइन । मेसिन औजारहरुको सहायताविनै ढुंगाको पर्खाल लगाउन र ठुल्ठुला ढुंगाहरु पन्छाउन सानो चुनौती छैन । तैपनि ओलाङचुङगोलाबासीले नेपालीहरु संसारकै सबैभन्दा मेहनती प्राणी हुन् भन्ने परिचय दिइरहेका छन् । र, सँगसँगै बाटो बनाउने नाममा बजेटमा ब्रह्मलुट मच्चाउने सरकारलाई पनि रामवाण प्रहार गरिरहेका छन् ।

2 batao khandai golaओलाङ्चुङगोलादेखि १९ किलोमिटरको दुरीसम्म चीनतर्फको सडक आएको छ, त्यहाँसम्म नेपालतर्फको सडक जोडिन सकेको छैन । त्यहाँसम्म नेपालबाट मोटरबाटो लैजान सके तिब्बतबाट दैनिक उपभोग्य बस्तु ल्याउन सकिने र आफूहरुलाई केही
राहत मिल्ने स्थानीयको आश छ ।

ओलाङ्चुङगोला नाका खोल्न सरकारले बेवास्ता गरेको भन्दै स्थानीयबासीले आफै चीनको तिब्बत जाने सडक खन्न सुरु गरेका हुन् ।

कुटो, कोदालो, गैंती, झम्पल र नाम्लो लिएर सडक खन्न निस्केका उनीहरु सडकमार्गले तिब्बत र ओलाङचुङगोलालाई जोडेको हेर्न चाहन्छन्, जसबाट उनीहरुको दैनिक जीवन सहज बनोस् ।

4 batao khandai golaसडक खन्न ओलाङ्चुङगोलाका महिला पुरुष सबै जुटेका छन् । उनीहरुलाई सडक खन्न आवश्यक औजार खरिदका लागि अमेरिकामा रहेका ओलाङचुङगोलाबासीहरुले आर्थिक सहयोग गरे पनि बाँकी उनीहरु आफ्नै खर्चले श्रम गर्न तातिएका हुन् ।
सरकारलाई बारम्बार हारगुहार गर्दा पनि सडक विस्तार गरेर चीनसँगको नाका खोल्न चासो नदिएकाले गोलाबासीहरु आफै सडक खन्न जुटेको स्थानीय नुर्पु शेर्पाले बताए ।

पहाड पल्टाउने मूर्ख बूढाको कथा

के महिला र वालवालिकाले यसरी ढुंगा बोकेका भरमा पहाडी खोंचमा १९ किलोमिटर बाटो बनाउन सम्भव छ ? यसबारे चर्चा गर्दा पहाड पल्टाउने मूर्ख बूढाको चिनियाँ कथा स्मरणमा आउँछ ।

चिनियाँ लोक कथा अनुसार एकजना बूढामान्छे बिहानै कोदालो लिएर पहाडको टुप्पामा जान्थे र खन्न थाल्थे । उनी दिनभरि त्यो पहाडलाई खन्थे ।

किन यसरी पहाड खनेको बाबै ? मानिसहरुले यस्तो प्रश्न सोध्दा ती मूर्ख बूढाले जवाफ दिन्थे- यो डाँडाको फेदमा मेरो घर छ, यो डाँडाले घाम छेलेको हुनाले मेरो घरमा राम्रोसँग घाम लागेन, त्यसैले मैले डाँडो खनेर घरसम्म घाम लाग्ने बनाउन लागेको हुँ ।

3 batao khandai golaधत् ! एकजना बूढो मान्छेले यसरी खनेको भरमा डाँडो कसरी हट्छ ? यस्तो संशय गर्नेहरुलाई ती बूढा मान्छेको जवाफ हुन्थ्यो- म खन्छु, मेरो छोराले खन्छ, मेरो नातिले खन्छ, त्यसपछि एक दिन भगवानलाई दया लागेर यो डाँडो जुरुक्कै उठाएर हटाइदिनुहुन्छ र मेरो घर घमाइलो भइहाल्छ नि ।

चिनियाँ नेता माओले ‘मूर्ख बूढा’ को यो लोककथालाई चिनियाँ क्रान्तिसँग जोडेर यस्तै भावमा भनेका थिए- ‘हाम्रो चीनलाई सामन्तवाद र जापानी साम्राज्यवादका दुईवटा ठूला पहाडले छेकेका छन् । हामी उनै मूर्ख बूढाले जसरी यी दुई पहाडलाई उधिनिरहेका छौं, एकदिन हाम्रा भगवान – जो चिनियाँ जनता हुन्) हाम्रो काम मेहनेत देखेर अगाडि आउँनेछन् र यी दुई पहाडलाई जुरुक्कै उचालेर फालिदिनेछन्, अनि चिनियाँ जनताको आँगन घमाइलो हुनेछ ।’

नभन्दै भयो पनि त्यस्तै । चिनियाँ जनताले माओको नेतृत्वमा सामन्तवाद र साम्राज्यवादका पहाडलाई २२ वर्ष लामो युद्धपछि जुरुक्कै उखेलेर फादिलिए । यतिबेला चीन सम्वृद्ध मुलुक बनेको छ ।

अब ओलाङचुङगोलामा पनि पहाड पल्टाउने यी ‘मूर्ख’हरुलाई भगवानले हेर्ने हो कि ? अमेरिकामा रहेका भगवानरुपी ओलाङचुङगोलाबासी मात्रै किन ? अरुले पनि त्यहाँ गएर गैंती चलाउन नसके पनि उनीहरुलाई खाजा र खाना खर्च जुटाइदिने हो भने तिब्बतसम्म सरकारले १० वर्षमा नजोडेको बाटो यिनै मिहेनती नेपाली जनताले जोड्लान् जस्तो देखिएको छ, उनीहरुको मेहनत र इच्छाशक्तिलाई हेर्दा ।

6 batao khandai golaअन्यथा रकमान्तर गरेर बजेट सक्न लागेको ओली सरकारले एक दृष्टि दिएर डोजर नै पठाइदिए पनि पक्कै पाप लाग्दैनथ्यो होला ।

१० वर्षमा काम भएन, भारतको अनपेक्षित चासो

ओलाङ्चुङगोलामा बाटो लैजान झापाको केचनादेखि ताप्लेजुङको ओलाङ्चुङगोलास्थित घाङ्रिलासम्मको भागलाई सरकारले मेची राजमार्ग नामाकरण गरेको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि सुकेटार हुँदै ओलाङ्चुङगोला जाने बाटो खन्न सुरु गरेको १० वर्ष बितिसक्दा पनि काम भएको छैन ।

बाटो खन्ने काममा सरकारले बेवास्ता गरी यस क्षेत्रका स्थानीयलाई अपहेलना गरेको उनीहरुको गुनासो छ । नेपाल तर्फबाट सडकले नछोएको र तिब्बतसँग जोडिएको ओलाङ्चुङगोला नाका पनि नखुल्दा सदरमुकामदेखि तीन दिनको पैदल दुरीमा रहेको गाउँका स्थानीयको दैनिकी कष्टकर बनेको छ ।

उनीहरु अझै पनि ढाकर र चौंरीलाई बोकाएर तिब्बतबाट दैनिक उपभोग्य सामाग्री ल्याउन बाध्य छन् । यो बाटो हुँदै त्रिदेशीय व्यापार पनि गर्न सकिने भए पनि नेपाल सरकारले चासो नदिएको स्थानीयको गुनासो छ । 7 batao khandai gola

त्यसो त पूर्वाञ्चलका सरकारी अधिकारीहरु यो बाटो तिब्बतसँग नजोडियोस् भनेर भारतीयहरुले समेत चलखेल गरेको र नेपाल सरकारका कर्मचारी एवं नेताहरु त्यसैको प्रभावमा पर्ने गरेको गुनासो गर्छन् ।

‘बिराटनगरमा खवैधानिकरुपमा खोलिएको भारतीय क्याम्प अफिसले ओलाङचुङगोलासम्मको चासो राख्ने र सुराकी गर्ने गरेको छ,’ एकजना स्थानीय प्रशासकले गुनासो गरे ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीलाई ताप्लेजुङबासीको आग्रह- चीनसँग बाटो खन्ने मेसिन मागिदेऊ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment