Comments Add Comment

बाँदर धपाउनेको मासिक तलब २५ हजार

हेरालो राख्ने गाउँ भेलाको निर्णय

Rhesus Monkey१९ वैशाख, काठमाडौं । बाँदरले दुः ख दिन थालेपछि गोरखा केरौँजाका किसानले मकै नभित्र्याउने वेलासम्मका लागि तलब दिएर बाँदर धपाउन मान्छे राखेका छन् ।

केरौँजा ५ र ६ का किसानले मासिक २५ हजारका दरले तलब दिने गरी चारजना हेरालो राखेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

मकै जोगाउन मान्छे राखिएको केरौँजा-६ रुन्चेतका गोपाल घलेले बताए । ‘भूकम्प गएकाले पोहोर खेती लगाएनौँ । राहतका भरमा एक वर्ष कट्या । सधैँ त राहत पाइँदैन होला । यसपटक पनि मकै लगाइएन भने के खाने ?’ घलेले भने, ‘यसपालि बारीमा मकै लगाएका छौँ । बाँदरले सखाप बनाउने भएकाले बाली जोगाउन हेरालो राखेका हौँ ।’

जेठबाट भदौसम्मका लागि हेरालो राखिएको घलेले बताए । बारी टाढा भएको र यो समयमा गाउँमा मान्छे पनि कम हुन भएकाले हेरालो राखिएको उनको भनाइ छ । ‘घरबाट दुई-तीन घन्टा हिँडेर बारीमा जानुपर्छ,’ उनले भने, ‘फेरि यो सिजनमा हामी यार्सा संकलन गर्न जान्छौँ । मकै कुरेर बस्ने मान्छे पनि हुँदैन ।’

यस क्षेत्रका अधिकांश बासिन्दा यार्सा संकलनका लागि मनाङ, मुस्ताङ तथा गोर्खाकै हिमाली क्षेत्रमा जाने गर्छन् ।

मकै बाली जोगाउन हेरालो राखिएको यसपालि मात्रै होइन । ‘बाजेको पालादेखि नै हो रातो बाँदरले दुस्ख दिन थालेको,’ घलेले भने, ‘अघिका वर्षमा दुईदेखि चारजनासम्म कुरुवा राख्थ्यौँ ।’ अघिल्ला वर्षमा हेरालोलाई प्रत्येक घरधुरीले एक डोको मकै दिने चलन थियो ।  तर, यसपालि नगद नै दिएर हेरालो राख्ने गाउँ भेलाको निर्णय छ ।

दुवै वडाको गाउँ भेलाले बाँदर हेरालोलाई तलब दिन प्रत्येक घरधुरीबाट एक हजार पाँच सय संकलन गर्ने निर्णय गरेको छ । दुई वडामा दुई सय ५० घर धुरी छन् ।

सबैबाट गरी करिब तीन लाख रुपैयाँ संकलन गर्ने तयारी छ । हेरालुलाई एक डोको मकै दिनु र रकम दिनु उस्तै हुने स्थानीय वसन्त गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment