Comments Add Comment

सिंहदरबारमा सहज पहुँच दिन माग गर्दै निवेदन दर्ता

२४ वैशाख, काठमाडौं । सिंहदरबारमा आमनागरिकको सहज पहुँचको माग गर्दै ३ सय ४२ जना युवाले राष्ट्रिय सूचना आयोगमा निवेदन दर्ता गराएका छन् ।

Cycle rider in Sinhadarbarस्वाभिमान मञ्च नेपालको अगुवाइमा ललितपुर, सिन्धुपाल्चोक, चितवन, नवलपरासी, सिन्धुली, दोलखा, नुवाकोट, रसुवा, तेह्रथुमलगायत जिल्लाका युवाले अभियान नै सञ्चालन गरी ३४२ युवाको हस्ताक्षरयुक्त निवेदन आयोगमा दर्ता गराएको हो ।

निवेदनमा तत्काल सिंहदरबारमा आमनागरिकलाई सहज पहुँच दिन निर्देशनका लागि सरकारसँग माग गरिएको छ ।

सिंहदरबारमा आमनागरिकको पहुँच नहुँदा आवश्यकताअनुसार आफ्नो सेवादातासँग भेटघाट र सूचना लिने अधिकारबाट वञ्चितमात्र नभई सिंहदरबार प्रवेशकै लागि बिचौलिया, दलाल, राजनीतिक वा निजामती सञ्जालको सहारा, निगाह र गुलामीसमेत गर्नुपर्ने बाध्यात्मक स्थिति सिर्जना भएको निवेदनमा उल्लिखित छ ।

भूकम्पपीडितलाई पुनःस्थापित गर्न बनाइएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कार्यालयसमेत सिंहदरबारभित्र स्थापना गरिनुले पीडित झनै मर्कामा परेको निवेदनकर्ताको भनाइ छ ।

निवेदनमा यथाशीघ्र सिंहदरबार प्रवेशमा लगाइएको बन्देज हटाई सिंहदरबारभित्रका सार्वजनिक निकायमा आमनागरिकलाई निर्वाध पहुँचको व्यवस्था गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन जारी गर्न माग गरिएको छ ।

उजुरीको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संसद् सचिवालयलाई समेत दिइएको छ ।

मञ्चका अभियन्ता प्रशान्त सिंहले आफूहरुको माग जायज रहेको बताउँदै यसमा सबै पक्षको सहयोग हुने विश्वास व्यक्त गरे ।

यसअघि गत चैत १४ गते फ्रिडम फोरमका अध्यक्ष एवम् सूचनाको हकका अभियन्ता तारानाथ दाहालले सिंहदरबारमा आमनागरिकलाई सहज पहुँच दिनुपर्ने माग गर्दै आयोगमा निवेदन दर्ता गरेका थिए ।

निवेदनमा उनले सिंहदरबारभित्र आमनागरिकको प्रत्यक्ष सरोकार र सम्बन्ध रहेका सार्वजनिक निकायबाट सेवा प्राप्त गर्न तथा आफ्नो र सार्वजनिक सरोकारका विषयमा सूचना प्राप्त गर्न तथा नीति योजना कार्यक्रमजस्ता विषयमा आफ्नो सरोकार, मत र सहभागिता प्रकट गर्न सर्वसाधारणलाई सहज पहुँच दिनुपर्ने माग गरेका थिए ।

अहिले सिंहदरबारको दक्षिणढोकाबाट मात्र सर्वसाधारण नागरिकले परिसरभित्रका कुनै कार्यालयको अनुमति प्राप्त गरी नागरिकताको प्रमाणपत्रका आधारमा निश्चित समयमा प्रवेश पाउँदै आएका छन् ।

सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित दुई दर्जनभन्दा बढी मन्त्रालय, राष्ट्रिय योजना आयोग, संसद् सचिवालय, रेडियो नेपाल र नेपाल टेलिभिजनजस्ता सरकारी सञ्चारमाध्यम तथा अन्य विभिन्न राष्ट्रिय महत्वका विभाग, कार्यालय, पुनःनिर्माण प्राधिकरण र विभिन्न अस्थायी प्रकृतिका आयोग, कार्यदल र समितिहरूको कार्यालय रहेका छन् ।

स्मरण रहोस् माओवादी द्वन्द्वकालअघि सिंहदरबार प्रवेशमा सर्वसाधारणलाई रोक नभए पनि माओवादी द्वन्द्वकाल सुरु भएसँगै सुरक्षाको कारण देखाउँदै सरकारले सिंहदरबार प्रवेशमा रोक लगाएको थियो । माओवादी शान्ति प्रक्रियामा आई मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरे पनि सिंहदरबारमा आमसर्वसाधारणको सहज पहुँच हुन सकेको छैन ।

यति धेरै नागरिकको हस्ताक्षरसहित आयोगमा दर्ता भएको निवेदनलाई आफूहरुले गम्भीर रुपमा लिएको बताउँदै राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले भने, ‘यस विषयमा बसेर छलफल गर्छौं र उपयुक्त निकास दिन्छौँ ।’ रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment