Comments Add Comment

गौतम बुद्धको जीवनीः १३ तस्वीरमा हेर्नुहोस्

'फास्टिङ' देखि स्वर्गबाट ओर्लेकोसम्म

२५ वैशाख, लुम्बिनी । शान्तिका अग्रदूत भगवान सिद्धार्थ गौतम बुद्ध वैशाख पूणिर्मामा जन्मिए । वैशाख पूणिर्मामै बुद्धत्व (ज्ञान) प्राप्त गरे । यतिमात्र होइन, उनले वैशाख पूणिर्मामा ज्ञान बाँडे र वैशाख पूणिर्माकै दिन मृत्युवरण गरे ।

दरबारमा जन्मिएर सुख सयलमा हुर्किएका सिद्धार्थ गौतम संसार बुझ्न र ज्ञानको खोजीमा दरबार छोडेर निस्किए । उनी परिवारको ईच्छा विपरीत दरबारबाट भागेर ज्ञानको खोजीमा निस्किएका थिए । कठोर तपस्यापछि उनमा अदभुत् ज्ञान (बुद्धत्व) प्राप्त भयो ।

१.

Buddha Life Circal

बुद्धले विश्वभरि शान्ति र अहिंसाको सन्देश फैलाए । बुद्धको जन्म लुम्बिनीमा भएको थियो । अहिले यो ठाउँ अर्बौं बौद्धिष्टहरुको आस्थाको केन्द्र बनेको छ । अहिले उनका अनुयायीहरु विश्वभरि छन् । उनलाई शान्तिका भगवानको रुपमा पूजा गरिन्छ ।

लुम्बिनीमा जर्मन बौद्ध बिहार छ । त्यहाँ बुद्धको जीवनकालका महत्वपूर्ण दिनहरुको झझल्को दिनेगरी मूर्तिहरु राखिएका छन् । जसले पर्यटकलाई बुद्धको विगतमा फर्काइदिन्छ । जर्मनीले बनाएको मूर्तिबाट बुद्धको जीवन यसरी बुझ्न सकिन्छ ।

२.

Buddha Life Circal 1

एक दिन सिद्धार्थ गौतमकी आमा मायादेवी सुतिरहेकी थिइन् । सुतिरहेका बेलामा उनले सपनामा सेतो हात्ती देखिन् । सेतो हात्ती देखिनुलाई निकै शुुभ मानिन्छ । उनले सपनामा सेतो हात्ती देखेको केही समयपछि उनको कोखबाट अदभुत बालकको जन्म भयो । जो अहिले विश्वभरि चर्चित छन् ।

३.

Buddha Life Circal 2

मायादेवीको कोखबाट जन्मिनेवित्तिकै गौतम बुद्ध सात पाइला हिँडेका थिए रे । सामान्यतया एउटा बच्चा हिँड्नका लागि ९/१० महिना लाग्छ । जन्मिनेवित्तिकै आफ्नो छोरो हिँडेपछि उनकी आमा मायादेवी निकै खुशी भएकी थिइन रे ।

जन्मिने वित्तिकै ७ पाइला हिँडेको देखाउन तस्वीरमा बुद्धका ७ वटा पाइला राखिएको छ । उनी जन्मँदै अदभुत क्षमताका थिए ।

४.

Buddha Life Circal 3

प्रायः दरबारमा जन्मिएका छोराहरुले आत्मरक्षाका लागि लडाइर्ंजन्य सीप सिक्ने गरेको पाइन्छ । दरबारमा जन्मिएको हुनाले गौतम बुद्धलाई पनि यस्तो ज्ञान सिकाइएको थियो । तस्वीरमा बुद्धले वाण हान्न सिकिरहेको देखिन्छ । उनी वाण हान्न निकै सिपालु रहेको बताइन्छ ।

५.

Buddha Life Circal 4

एकदिन गौतम बुद्ध एक सहयोगीका साथ घोडा चढेर संसार बुझ्नका लागि दरबारबाट बाहिर निस्किए । यो कुरा उनको परिवार कसैलाई पनि चित्त बुझेको थिएन । त्यही भएर उनी सुटुक्ट बाहिर निस्किए । बाहिर निस्किँदा बाटोमा गरिबले मागिरहेको, बुढो मान्छो लठ्ठी टेकेर हिँडिरहेको र मान्छे मरेर घाटमा लगिरहेको देखे ।

कहिल्यै दरबारबाट बाहिर ननिस्केका बुद्धलाई सहयोगीले बाटोमा देखिएका दृश्यहरुका बारेमा जानकारी गराए । त्यतिबेलामात्र बुद्धलाई थाहा भयो, मान्छे जन्मेपछि विरामी हुन्छ, बुढो हुन्छ र मर्नुपर्छ भन्ने । त्यसपछि उनलाई मान्छे किन विरामी हुन्छ, किन दुख पाउँछ, सुख पाउन के गर्नुपर्छ, किन मर्नुपर्छ ? भन्ने जान्न मन लाग्यो । त्यही ज्ञानको खोजीमा उनी तपस्यामा लीन भए ।

तस्वीरमा बुद्धलाई एक सहयोगीले घोडामा हिँडाइरहेको देखाइएको छ । तस्वीरमा उनले बाटोमा देखेका वृद्ध, गरिव र मरेको मानिसको झल्को दिने पनि कोशिस गरिएको छ ।

६.

Buddha Life Circal 5
जीवनको वास्तविकता बुझेपछि गौतम बुद्ध निकै चिन्तित भए । बुद्धले मान्छे किन बिरामी हुन्छ ? किन बुढो हुन्छ ? र किन मर्छ ? भनेर बुझ्न दरबार त्यागेर ज्ञानको खोजीमा निस्कने निर्णय गरे । उनी राजाका छोरा भएर बस्न नहुने निर्णय गरी टाउको मुण्डन गरेर सन्यासी भिक्षु भए । उनले दरबारिया लुगा खोलेर भिक्षुका पहेंला लुगा लगाए । माथिको तस्वीरमा उनले टुप्पी काट्न लागेको देखाउन खोजिएको छ ।

७.

Buddha Life Circal 6

 

ज्ञानको खोजीमा उनी भारतीय भूमितिर पुगे । ६ वर्षसम्म कठोर तपस्या गर्दा उनको शरीर दुब्लो भएर बुढोजस्तो भयो, तर उनमा ज्ञान प्राप्त भएन । परिवारले भेटाएर उनलाई दरबारमा ल्याए । तस्वीरमा बुद्धलाई तपस्यामा बसेको निकै दुब्लो र बुढोजस्तो देखिने गरी पस्किइएको छ ।

८.

Buddha Life Circal 7

दरबारमा फर्किएर पुनः मीठो खान पाएपछि गौतम बुद्ध मोटाए । उनको परिवारले मीठो खिर खुवाएपछि शरीर पहिलाकै जस्तो देखियो । त्यसपछि उनी फेरि ज्ञानको खोजीमा दरबार छाडेर तपस्यामा बसे । उनको परिवारलाई यो कुरा पटक्कै मन परेको थिएन । उनको ध्यान भंग गर्नका लागि दरबारले सुन्दरी युवतीलाई बाजागाजा सहित उनको अगाडि नाचगान गर्न लगाए । तर पनि उनको ध्यान भंग भएन ।

९.

Buddha Life Circal 8
अन्ततः गौतम बुद्धले ज्ञान प्राप्त गरे । सिद्धार्थ गौतम तपस्यापछि ज्ञान प्राप्त गरेर गौतम बुद्ध भएका हुन् । भारतको बोधगयामा उनले बुद्धत्व प्राप्त गरेको बताइन्छ । माथिको तस्वीरमा बुद्धले ज्ञान प्राप्त गरेको र उनको अनुहारमा चमक आएको देखाउन खोजिएको छ ।

१०.

Buddha Life Circal 9

बुद्धले अदभुत ज्ञान प्राप्त गरेपछि भारतको सारनाथमा वैशाख पूणिर्मामा ५ जना चेलाहरु अगाडि राखेर आफ्नो ज्ञान बाँडेका थिए रे । तस्वीरमा यही कुराको झझल्को दिन खोजिएको छ ।

११.

Buddha Life Circal 10

शिष्यहरुलाई ज्ञान बाँडेर बुद्ध अन्तरध्यान भएका थिए रे । उनी अन्तरध्यान भएपछि बाँदर हात्तीलाई खोज्न जंगलमा पठाइयो । बाँदर र हात्तीले बुद्धलाई तपस्या गरिरहेका बेलामा भेटाए । बाँदरले फल दियो, बुद्धले त्यो फल खाएको बताइन्छ । बुद्धले फल खाएपछि बाँदरले आफुजस्तो तुच्छ जनावरले दिएको फल गौतम बुद्धले खाएको भन्दै अत्यधिक रमाउँदा त्यहीँ मरेको थियो रे भनिन्छ ।

१२.

Buddha Life Circal 11
भगवान बुद्धको महापरिनिर्माण (मृत्यु) भारतको कुशी नगरमा भएको थियो । उनको सुतिरहेकै बेलामा मृत्यु भएको बताइन्छ । उनका अगाडि शिष्यहरु रहेका थिए । तस्वीरमा त्यही देखाउन खोजिएको छ ।

१३.

Buddha Life Circal 12
गौतम बुद्धका बाबुआमाको सानोमै निधन भएको थियो । उनले तपस्या गरे, बुद्धत्व प्राप्त गरे, उनको विश्वभर चर्चा भयो । तर, उनले यो आफ्ना बुबाआमालाई देखाउन पाएनन् । कल्पना गरिएअनुसार यो कुराले उनलाई स्वर्गमा पनि पिरोलिरहृयो । त्यसपछि उनी स्वर्गबाट पृथ्वीमा झरेर आफ्ना स्वर्गीय बाबुआमाको मन शान्त बनाउने काम गरेका थिए रे । तस्वीरमा बुद्ध स्वर्गबाट पृथ्वीमा आएको देखाउन भर्‍याङ राखेर झरेको दृश्य प्रस्तुत गरिएको छ ।

(लुम्बिनीबाट नविन अर्याल, कबिन अधिकारी र सलमान खान) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment