Comments Add Comment

आन्दोलन कमजोर पार्न वार्ताको तुरुपः अशोक राई

Ashok-Rai

२७ वैशाख, काठमाडौ । संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले जारी आन्दोलनलाई कमजोर पार्न सरकारको तर्फबाट वार्ताको तुरुप प्रयोग गरेको बताएका छन् ।

सरकारी वार्ता टोलीका संयोजक कमल थापाले आइतबार मधेसी मोर्चालाई पत्र पठाएर वार्तामा आउन आहृवान गरेका थिए । सरकारी पत्रबारे प्रतिक्रिया दिँदै राईले भने, ”समय पर्याप्त हुँदा वार्ताबारे कुनै चासो भएन र समय त्यसै खेर फालेर बसे । अहिले आन्दोलनको तयारी सकिसक्दा कमजोर पार्न फेरि वार्ताको तुरुप फालिएको छ ।’

नेता राईले विगतमा पनि धेरैपटक वार्ता भइसकेकाले पत्रको विश्वसनीयता नरहेको जिकिर गरे । साथै, उनले सरकार आन्दोलनकारीको मागबारे गम्भीर नरहेको टिप्पणी गरे । ‘सरकार साँच्चै गम्भीर र सार्थक वार्ता चाहन्छ भने प्रधानमन्त्री वा उच्चस्तरीय राजनीतिक तहबाट वार्ताको पहल हुनुपर्छ’, नेता राईले भनेका छन् ।

संघीय समाजवादी फोरम नेपालका नेता राईले विभेदकारी संविधानको प्रयोग गरेर ल्याएको सरकारी ‘नीति तथा कार्यक्रम’को औचित्य नरहेको जिकिर गरे ।

उनले नीति तथा कार्यक्रमलाई जतिसुकै उत्कृष्टको संज्ञा दिए तापनि काम नलाग्ने जनाए । ‘नमीठो जाँडको धेर निगार, नराम्रो मान्छेको धेर शृंगार,’ उनले पूर्वीय लोकोक्तिको प्रसंग जोड्दै नीति तथा कार्यक्रमप्रति व्यंग्य गरे ।

उनले अब हुने काठमाडौं केन्द्रीत आन्दोलन सरकारलाई दबाब दिन सफल हुने दाबी गरे । उनले मधेसमा मात्रै भएको आन्दोलनलाई अपव्याख्या गरेकै कारण हिमाल र पहाडका जनतासँग मिलेर काठमाडौं केन्द्रीत आन्दोलन गर्नु परेको जनाए ।

पार्टीका संसदीय दलका नेतासमेत रहेका राईले आफूहरुका मुद्दा र मागप्रति बहस हुने विश्वास भएमा संसद प्रवेश गर्नेपनि जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment