Comments Add Comment

ट्याक्सी चालकविरुद्ध ट्राफिकको छद्मभेषी कारवाही, ठग्नेहरु भटाभट पक्राउ

taxi andolan (1)
फाइल फोटो

३० वैशाख काठमाडौं । काठमाडौंमा ट्याक्सी चढ्नलाई गोजी मोटो हुनुपर्छ । मध्यमवर्गीय नेपालीहरु हत्पत्ति ट्याक्सी चढ्ने आँट गर्दैनन् ।
त्यसो त ठगिने उच्च सम्भावनाका कारण पैसावालहरु पनि ट्याक्सीमा यात्रा गर्न नपरोस भन्ठान्छन् । तर, सार्वजनिक यातायातमा यात्रा यति सकसपूर्ण छ कि कहिलेकाहीँ ट्याक्सी चढ्ने वाध्यता परिहाल्छ ।

काठमाडौंमा ट्याक्सीमा ठगी बढेको गुनासो आएपछि महानगरीय ट्राफिक महाशाखाले विशेष अपरेसन सुरु गरेको छ । उसले बढी ठगी हुने सम्भावित स्थानहरुमा सादा पोशाकमा प्रहरी खटाएको छ ।

काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा ट्याक्सी पीडितहरु बढि भेटिन्छन् । विदेश जान बाहिरबाट आउनेहरु यहाँबाट ट्याक्सी लिएर त्रिभुवन अन्नराष्ट्रिय विमानस्थलसम्म पुग्नुपर्ने वाध्यता हुन्छ ।

सादा पोशाकमा पुगेका एक ट्राफिक प्रहरीले मंगलबार बा २ ज १२९५ नंम्बरको ट्याक्सीलाई एयरपोर्ट जान आग्रह गरे । उनले चालकलाई मिटरमा एयरपोर्टसम्म लगिदिन आग्रह गरे  । तर, चालकले भने, ‘३ सय रुपैयाँ दिए जाने हो, मिटरमा त गइँदैन ।’

केहीबेरको बार्गेनिङपछि यात्रु बनेका ट्राफिक प्रहरीले आफनो परिचय दिए र ट्याक्सीलाई नियन्त्रणमा लिएर कारबाही गरे । चालकले आफुलाई छाडिदिन भन्दै एक हजार रुपैंया घुससमेत दिन खोजेको प्रहरीको भनाइ छ । फलस्वरुप ट्याक्सी चालक कार्वाहीमा मात्रै परेनन्, घुस दिएको आरोपमा प्रहरी हिरासतमा पुगेका छन् ।

मंगलबार नै बा २ ज १३९१ नम्म्बरका ट्याक्सी चालक पनि सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । यात्रु बनेर गएका सादा पोशाकका ट्राफिक प्रहरीले मिटरमै नयाँ बसपार्कबाट थापाथली जानु पर्ने भनेका थिए । तर, चालकले मिटरमा जान नमानेर ४ सय माग गरेपछि ट्राफिकको कारबाहीमा परे । उनी पनि घुस दिएर कार्वाहीबाट जोगिन खोज्दा प्रहरी हिरासतमा पुगेका छन् ।

कोटेश्वर चोकमा निजी अर्थात रातो प्लेट भएको बा १४ च २९९४ नम्बरको गाडी रोकिराखेको थियो । नयाँ ट्याक्सीमा रातो नम्बर प्लेट राखेको देखेपछि सादा पोशाकमा ट्राफिक प्रहरी पुगे र एयरपोर्ट जानु पर्ने भन्दै बार्गेनिङ गर्न थाले । रातो नम्बर प्लेट प्रयोग गरेर भाडामा मान्छे बोक्ने गरेका ट्याक्सी चालक पनि ट्राफिकको फन्दामा परे ।

दैनिक एक दर्जन काबारहीमा

ट्राफिक महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले दैनिक एक दर्जनभन्दा बढी ट्याक्सी चालकलाई कारवाही गर्दै आएको छ ।

मंगलबार मात्रै मिटर बिगारेर चलाउने, मिटरमा जान नमान्ने, बढी भाडा लिने लगायतका अभियोगमा १९ वटा ट्याक्सी कारबाहीमा परेको महाशाखाले जनाएको छ । आइतबार १७ वटा र सोमबार १४ वटा ट्याक्सी सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीको फन्दामा परे ।

०७२ सालमा मात्रै विभिन्न अरोपमा २ हजार २१ वटा ट्याक्सीहरु कारबाहीमा परेको ट्राफिक महाशाखाको तथ्यांक छ । विशेषगरी अस्पताल, एयरपोर्ट तथा उपत्यकाबाट आएका बसहरु रोक्ने ठाउँमा बस्ने ट्याक्सीहरुले यात्रुलाई ठग्ने गरेको पाइएको छ ।

कति छ ट्याक्सी भाडा ?

पछिल्लो नियम अनुसार ट्याक्सी चढ्ने वित्तिकै १४ रुपैंया मिटरमा उठ्छ । त्यसपछि प्रत्येक २ सय मिटरमा ७ रुपैंया ४० पैसाको दरले मिटर चढ्दै जान्छ ।

एयरपोर्टबाट चल्ने हरियो प्लेट वाला ट्याक्सीको भने भाडादर फरक छ । त्यस्ता ट्याक्सीले ० देखि ५ किलोमिटर सम्म ५ सय ६ रुपैंया लिन पाउने व्यवस्था छ ।

त्यसभन्दा माथि प्रत्यक किलोमिटर ७३ रुपैंयाको दरले मिटर चढ्दै जान्छ । यो नियम चक्रपथबाट दुई किलो मिटर भित्रसम्म मात्रै लागु हुने ट्राफिक महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment