Comments Add Comment

भाडा आठ गुणा घटाएपछि भैरहवा सेजमा व्यवसायी उत्साहित

Bhairahawa SEZ

३० वैशाख, भैरहवा । ढिलै भएपनि भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनमा आउने संकेत देखिएको छ । सरकारले सेज सञ्चालन कार्यविधी संशोधन गरी भाडा घटाएपछि भैरहवा सेजमा लगानीकर्ता आकर्षित भएका छन् ।

विशेष आर्थिक विकास समितिले भैरहवा सेजमा गत मंगलबार स्वदेशी-विदेशी लगानीकर्तालाई उद्योग स्थापना गर्न प्रस्ताव आहृवान गरेको थियो । प्रस्ताव आहृवान भएसँगै भैरहवा सेजमा चहलपहल सुरु भएको छ । अनलाइनखबरको टोली यही हप्ता सेजमा पुग्दा धमाधम प्लटमा रहेका रुखहरु हटाउने काम भइरहेको थियो ।

Tree Cutting at Bhairahawa SEZ

सरकारले विदेशी लगानी भित्राउने र निर्यात प्रवर्द्धन गर्ने उद्देश्यसहित सेज सञ्चालन गर्न लागेको हो । सेजमा स्थापित उद्योगहरुले ७५ प्रतिशत उत्पादन अनिवार्य रुपमा निर्यात गर्नुपर्ने हुन्छ । बाहिर भन्दा सेजमा उद्योग स्थापना गर्दा विशेष सेवा सुविधा पाइने हुँदा लगानीकर्ता आकर्षित हुने र औद्योगिक विकासमा सहयोग पुग्ने सरकारको विश्वास छ ।

यसअघि कार्यविधी अस्पष्ट रहेको र जग्गाको भाडासमेत अत्यन्तै चर्को भएको भन्दै उद्योगी व्यवसायी तर्सिएका थिए । सरकारले आशयपत्र माग गर्दा लगानीकर्ताहरु अगाडि सरेनन् । त्यसपछि सरकारले प्रतिस्क्वायर मिटर १५० रुपैयाँ रहेको मासिक भाडादर घटाएर २० रुपैयाँ कायम गरेको छ । भाडा घटेपछि आफूहरुमा उत्साह थपिएको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्मा बताउँछन् ।

कार्यविधी संशोधनपछि सेज लगानीमैत्री बनेको समितिका अध्यक्ष डा. चण्डिका प्रसाद भट्टको विश्वास छ । अब सेजमा स्वदेशी विदेशी लगानीकर्ता आकषिर्त हुने विश्वास उनले बताए । ‘हामीले कार्यविधिमा संशोधन गरी धेरै कुराहरु सुधार गरेका छौं’ अध्यक्ष भट्टले अनलाइनखबरसँग भने- ‘यसले लगानीकर्तालाई प्रोत्साहन गर्ने हाम्रो विश्वास छ ।’

Bhairahawa SEZ 2

भैरहवा सेज ५२ विगाहा क्षेत्रफलमा फैलिएको छ । यहाँ ६९ वटा सुविधा सम्पन्न प्लटहरु निर्माण गरिएको छ । सेजमा प्रस्ताव हाल्नेले ९० दिनमा जग्गा प्राप्त गर्ने अध्यक्ष भट्टले बताए ।

यस्तो छ कार्यविधिमा भएको संशोधन

कार्यविधी संशोधन गरेर जग्गाको भाडा झण्डै ८ गुणाले घटाइएको छ । त्यस्तै, सेजमा उद्योग स्थापनका लागि सहजीकरण गर्न एकद्धार प्रणलीबाट सेवा दिने सुनिश्चितता गरिएको छ । उद्योग दर्ताको क्रममा धाउनुपर्ने हरेक निकायका इकाईहरु भैरहवा सेजमा राखिने छ । जसले एकै ठाउँबाट सेवा दिनेछन् ।

अहिले उद्योग स्थापनाका लागि विभिन्न निकायमा धाउँदा दर्ता गर्नमात्र दुई महिनाभन्दा बढी लाग्ने गर्छ । कार्यविधिमा भएको आशयपत्र माग गर्ने व्यवस्था हटाएर सिधै प्रस्ताव गर्ने व्यवस्था मिलाइएको छ । जसले समयको बचत गराउने छ ।

उद्योगको स्थीर पुँजी ५ करोड हुनुपर्ने व्यवस्था पनि संशोधित भई २ करोड भए पनि हुने व्यवस्था गरिएको छ । यसअघिको कार्यविधीमा १७ वटा उद्योगको नाम किटान गरी सञ्चालनका लागि अनुमति दिइएको थियो । संशोधित नीति खुल्ला बनाइएको छ ।

Bhairahawa SEZ (5)

अब ७५ प्रतिशत वस्तुहरु निर्यात गर्ने जुनसुकै उद्योग सेजमा सञ्चालन गर्न पाइने छ ।
तर, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा उल्लेख गरिएका संवेदनशील उद्योगहरु भने स्थापना गर्न पाइने छैन । घरेलु उद्योग, हातहतियार, गोली गठ्ठा लगायतका उद्योगहरु सेजभित्र खोल्न पाइने छैन ।

कार्यविधि संसोधनपछि सेजभित्र निर्यातजन्य उद्योगमा स्वदेशी विदेशी लगानीकर्ता आउने समितिका अध्यक्ष भट्टले बताए । ‘उद्योगीले सेजभित्र विद्युत आपूर्ति नभएको गुनासो गर्दै आएका थिए, अब हामी सेजमा डेडिकेटेड फिडर जडान गर्दै छौं,’ उनले भने- ‘यसका लागि नेपाल विद्युत प्राधिकरणको भैरहवास्थित कार्यालयले टेन्डर आहृवान गर्दैछ । सेजभित्र उद्योग स्थापना गर्ने बेलासम्म बिजुली आइपुग्छ ।’

के हो विशेष आर्थिक क्षेत्र ?

विशेष आर्थिक क्षेत्र नेपाल सरकारले देशमा भएका रुग्ण तथा नेपाली बजारमा उत्पादन भएर पनि विदेशमा माग बढि भएका समानहरु उत्पादन गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्नको लागि ल्याएको नीति हो । यो क्षेत्रमा स्थापना हुने उद्योगहरुको लागि प्रारम्भिक आधारभुत विकास निर्माणको काम नेपाल सरकारले नै गर्छ ।

सेजभित्र स्थापना भएका जुनसुकै उद्योगहरुले आफ्नो उत्पादनका ७५ प्रतिशत सामान विदेश निर्यात गर्नु पर्छर् । सेजभित्र सञ्चालित उद्योगका कर्मचारीहरुले हड्ताल तथा आन्दोलन गर्न र उद्योग बन्द गराउन पाउँदैनन् ।

Bhairahawa SEZ (11)

साथै, उद्योगहरुले विदेशमा आफ्नो सामानहरु निर्यात गर्द कुनै पनि भन्सार कर तिनु पर्दैन भने विदेशबाट उद्योगको लागि आवश्यक पर्ने कच्चा पदार्थ खरिदमा भन्सारमा छुटको व्यवस्था हुन्छ । जसको कारण स्वदेशमा उत्पादन भएका बस्तुहरु विदेशमा निर्यात हुनाले बढीभन्दा बढी विदेशी मुद्रा आर्जन गरी देशलाई समृद्ध बनाउन सकिन्छ ।

धेरै मुलुकले सेज सञ्चालन गरी औद्योगिक विकास गरेका छन् । विदेशी लगानी आकर्षित गर्ने माध्यम बन्दै आएको छ, सेज । छिमेकी मुलुक चीनमा भित्रिएको कुल विदेशी लगानीमध्ये ४० प्रतिशत सेजभित्र मात्र छ । चीनमा विदेशी लगानी भित्राउन सेजले महत्वपूर्ण भूमिका खेलेको अध्यक्ष भट्ट बताउँछन् ।

अहिले नेपालले झण्डै वार्षिक ७ खर्ब व्यापार घाटा बेहोर्दै आएको छ । सरकारको लक्ष्य निर्यातजन्य वस्तुको उत्पादन बढाई व्यापार घाटा कम गर्ने हो । त्यही भएर सेजमा आकर्षक सेवा सुविधा दिएर ७५ प्रतिशत निर्यात गर्ने उद्योगलाई आकषिर्त गर्न खोजिरहेको छ ।

बाहिर उद्योग व्यवसाय सञ्चालन गर्दा बन्द-हडतालको चपेटामा परिन्छ । तर, सेजभित्र औद्योगिक वातावरण स्थापित गरिने भट्टको भनाई छ । सेजमा बन्द हडताल गर्न पाइँदैन । उत्पादनमा प्रतिकुल असर पर्ने क्रियाकलाप हुँदैनन् । कम भाडामा जग्गा पाइन्छ भने पूर्वाधार र बस्ने सुविधाहरु हुन्छ ।

सेजमा १/२ दिनमै उद्योग दर्ता गर्न सकिन्छ । वातावरण विभागमा इआए गर्न उद्योग आफै दौडिन पथ्र्यो, सेजभित्र सरकार आफैले प्रकृया अगाडि बढाएर स्वीकृत गरिदिन्छ ।

यति मात्र होइन, सेजमा इन्स्योरेन्स, बैंकिङ, ट्रेड फरवार्डिङ, कम्पनी रजिस्ट्रेसन लगायतका सुविधाहरु हुन्छन् । सबै काम गराउनका लागि सम्बन्धिन निकायका इकाईहरु सेजभित्रै स्थापना गरिने छ । यही कारण सेजको महत्व बढी नै हुने भट्टले बताए ।

बोर्डर नजिक हुँदा निर्यात सहज

सेज भएको ठाउँबाट सुनौली नाका ३/४ किलोमिटरको दुरीमा पर्छ । सेजभित्र उत्पादित समान आधा घण्टामा बोर्डर क्रस गराउन सकिन्छ । जसले गर्दा कम लागत र कम समयमै सहजै बस्तुहरु निर्यात गर्न सकिन्छ । जहाजबाट विदेश पठाउनुपर्ने वस्तुहरु पनि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि भैरहवाबाटै पठाउन सकिन्छ ।

तस्वीर: कबिन अधिकारी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment