३० वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले राजनीतिक दलका नेताहरुको अकुत सम्पतिमाथि अनुसन्धान गर्दा चर्को विरोध सहनुपरेको बताएका छन् । नेताहरुलाई छानविनको दायरामा ल्याउँदा भएको विरोधप्रति उनले चर्को असन्तुष्टि जनाएका हुन् ।
विहीवार काठमाडौमा भएको एक कार्यक्रममार्फत लोकतन्त्रमा नेता र जनता सबै बराबर हुने भन्दै नेतालाई छानविनको दायरामा ल्याउँदा दलहरुबाट विरोध हुनु आपत्तिजनक भएको बताए ।
कार्कीले मुलुक सञ्चालनमा कमारो प्रवृत्ति मौलाएको उल्लेख गर्दै नेताहरुमा आफूलाई शासक र जनतालाई कमारो ठान्ने प्रवृत्ति देखिएको टिप्पणी गरे ।
उनले अख्तियारको छानविन चित्त नबुझे अकुत सम्पति आर्जन गर्नेलाई कसैलेपनि कारवाही गर्न नसक्ने कानून बनाएर देखाउन नेताहरुलाई चुनौति दिए ।
अख्तियारले केही समय पहिले विभिन्न राजनीतिक दलका नेताहरुलाई अकुत सम्पति आर्जनको अभियोगमा छानविनका लागि पत्र काटेको थियो । अख्तियारले पत्र काटेपछि कतिपय नेताहरुले महाअभियोग लगाएर अख्तियार प्रमुख कार्कीलाई हटाउनुपर्ने बताएका थिए ।
अख्तियारका प्रमुख आयुक्त कार्कीले राजनीतिक परिवर्तनको नाममा सत्ता चलाउनेको अनुहार परिवर्तन गरेर मात्र मुलुकको विकास सम्भव नहुने बताए । उनले राजनीतिक संरक्षणमा भइरहेको लुटतन्त्र रोक्न सबै नेपाली एकजुट हुन आवश्यक रहेको बताए ।
कार्कीले लोकतन्त्र प्राप्त भएपनि आम जनताले त्यसको महसुश गर्न नपाएको बरु मुलुकमा सीमित केही व्यक्तिको बोलवाला बढेको बताए । जनतालाई आश्वासनको पोको बाँडेर नवसामन्तयुगका केही नाइकेले देशमा लुटतन्त्र मच्चाइरहेको उनको भनाइ थियो ।