Comments Add Comment

भोलिदेखि राजधानीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु हुँदै

२८ देश सहभागी हुने

Buddha-Sammelan

५ जेठ, काठमाडौं । बिहिबारदेखि सुरु हुन लागेको अन्तराष्ट्रिय बौद्ध गोष्ठीको सम्पूर्ण तयारी पूरा भएको मूल आयोजक समितिले जनाएको छ । राजधानीको सोल्टी होटलमा आयोजना हुने बौद्ध सम्मेलनको विहान साढे ८ बजे प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

अन्तराष्ट्रिय बौद्ध गोष्ठी काठमाडौंमा ६ र ९ गते तथा बुद्धजयन्ती समारोह लुम्बिनीमा ८ गते आयोजना हुने बताइएको छ । लुम्बिनीमा हुने बुद्धजयन्ती समारोहको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नेछिन् ।

गोष्ठीमा विभिन्न २८ देशका सरकारी प्रतिनिधि, प्रतिष्ठित धर्मगुरुहरु, भिक्षु तथा भिक्षुणीहरु र बौद्ध दर्शनका ज्ञाता तथा विद्धानहरुको सहभागिता रहने पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले बताए । गोष्ठीमा भाग लिन आउने पाहुनाहरु कोही काठमाडौं आइपुगेका छन भने कोही आउने क्रम जारी छ ।

‘लुम्बिनी, नेपाल भगवान बुद्धको जन्मस्थान र बौद्ध दर्शनको उद्गम भूमि’ भन्ने मूल नाराका साथ मनाउन लागिएको गोष्ठीमा बौद्ध दर्शनसँग सम्बन्धित १८ विदेशी र ६ नेपाली गरी २८ विद्धानहरुले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । उक्त कार्यपत्रमा व्यापक छलफल हुने मन्त्री पोखरेलले बताए ।

लुम्बिनीमा हुने बुद्धजयन्ती समारोहमा लुम्बिनी घोषणापत्र जारी गरिने भएको छ । उक्त घोषणापत्रको कार्यान्वयनका लागि अन्तराष्ट्रिय स्तरको संयन्त्र निर्माण गरिने मन्त्री पोखरेलले बताए ।

मन्त्री पोखरेलले गोष्ठीले भगवान बुद्धको जन्मथलो नेपाललाई विश्व शान्तिको केन्द्रको रुपमा स्थापित गरी नेपाललाई बौद्ध दर्शनको प्राज्ञिक केन्द्रको रुपमा विकास गर्न टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

उनँले गोष्ठीले लुम्बिनीको अतिरिक्त अन्य बौद्ध केन्द्रहरु तिरौलाकोट, देवदह, रामग्राम आदिको समेत प्रचारप्रसार र विकासमा आधार निर्माण गरी आन्तारिक बुद्ध सर्किट निर्माणसहित धार्मिक पर्यटनको विकासमा मद्यत पुर्‍याउने उद्देश्य रहेको जानकारी गराए ।

यसबीच, २५६०औं बुद्धजयन्तीका अवसरमा विश्व शान्तिको कामना गर्दै शान्तिका लागि साइकल यात्रा नामक अभियानले आज लुम्बिीनीमा साईकल यात्रा सुरु गरेको छ । आजै मन्त्री पोखरेलले सो साइकल यात्राको स्वयम्भूबाट साइकल चढेर साइकल यात्राको उद्घाटन गरे ।

स्वयम्भु परिक्रममा गरी विश्व शान्तिको कामना गर्दै साइकल यात्रा लुम्बिनी प्रस्तान गरेको हो । विश्व साइकल यात्री पुस्कर शाहसहित करिब २६० साइकल यात्रीहरु लुम्बिनीतर्फ लागेका छन् ।

विश्व शान्तिको कामना गर्दै देश विदेशबाट आएका अतिथिहरुलाई पनि साइकल चढाएर प्रदुशणरहित लुम्बिनी बनाउने अभियानमा सहभागि गराइने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment