Comments Add Comment

पार्टी एकतापछि प्रचण्डको घोषणाः माओवादीहरुको विजयको दिन सुरु भयो (भिडियोसहित)

डा. भट्टराईलाई पनि एकतामा आउन आग्रह

Prachand,-Maoist-Center

६ जेठ, काठमाडौं । विभाजित माओवादीहरु मिलेर बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीहरुको पराजयका दिन सकिएको घोषणा गरेका छन् ।

एमाओवादीसहित १० वटा माओवादीको एकता भएको छ । र, नेकपा माओवादी केन्द्र गठन भएको छ । कम्युनिष्टका पाका नेता कष्णदास श्रेष्ठको अध्यक्षतामा भएको एकता घोषणा सभा भएको थियो ।

एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘माओवादीका पराजयका दिन सकियो । विजयको दिन सुरु भएको छ ।’

उनले अघि भने, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी लगायतका परिवर्तनका एजेण्डाहरु पराजय हुने दिन सकिए । माओवादीहरुलाई कमजोर पार्न, अपमानित गर्ने प्रवृत्तिको पराजयको दिन सुरु भयो । जनताको विजयको दिन सुरु भयो ।’

‘राजतन्त्र फर्काउने सपना देखेकाहरुको मृत्युको दिन सुरु’

पार्टी एकता, माओवादीहरुको एकता मात्र नभई सच्चा कम्युनिष्टहरुको र राष्ट्रिय एकता पनि भएको उनले बताए । यो एकता वृहत शान्ति सम्झौता अनुसार सत्य निरुपणको काम गर्ने सुनिश्चित भएको उनले दाबी गरे । उनले भने, ‘माओवादीलाई कमजोर पारेपछि राजतन्त्र फर्काउने सपना देखेकाहरुको मृत्युको दिन सुरु भयो ।’

प्रचण्डले यो वर्षको अन्त्यसम्म पार्टीको महाधिवेशन गर्ने र कार्यदिशालाई विकसित गर्दै जाने बताए ।

पुरै विजयी नभएको तर, सुरुवात भएको भन्दै उनले सडक, सदन र सरकारबाट संघर्ष गर्ने बताए । स्थानीय, प्रादेशिक र केन्द्रको चुनावमा जाने र शान्ति प्रक्रियामा आउँदाको दिनमा जस्तै पार्टीलाई जीवन्त बनाउने समझदारी भएको उनले बताए ।

भट्टराईलाई पनि एकतामा आउन आग्रह

उनका अनुसार पार्टी एकतापछि ६९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाइएको छ । यसको बैठक केही समयमा नै बस्नेछ र जनसभा, भेला तथा संगठन विस्तार गर्ने काम सुरु हुनेछ ।

अब पुरानो कार्यशैलीले नचल्ने भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘हाम्रा केन्द्रीय सदस्यहरु गाउँ-गाउँमा बसेर संगठन बनाउनेछन्, चमत्कार देखाउनेछन् । केही महिनाभित्र यो पार्टीलाई देशको शक्तिशाली पार्टी बनाउने प्रतिवद्धता गरेका छौं ।’

उनले नयाँ शक्ति बनाउन हिँडेका डा. बाबुराम भट्टराईलाई पनि एकतामा आउन अपील गरे ।

हेर्नुस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment