Comments Add Comment

एक दुई वर्षमै मर्जरको ‘रिजल्ट’ देखिँदैन (अन्तर्वार्ता)

हाम्रो बैंक पुरुषलाई लघुवित्त सेवा दिने पहिलो बैंक हो

पोखरामा मुख्य कार्यालय भएका ओम फाइनान्स र सिटी डेभलपमेन्ट बैंक गाभिएर बनेको ओम डेभलपमेन्ट बैंक मुलुककै सबैभन्दा बढी निक्षेप संकलन गर्ने विकास बैंक हो । विश्वमोहन अधिकारी यस बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइअो) छन् । ०२६ सालमा पोखरामै जन्मिएका अधिकारीले २० वर्षअघि तत्कालीन अन्नपूर्ण फाइनान्सबाट बैंकिङ करियर सुरु गरेका थिए । उनीसँग डेभलपमेन्ट बैंकर्स एसोसिएसनको सचिव भएर काम गरेको अनुभव पनि छ । एमबीए र बीएडसम्मको अध्ययन पुरा गरेका उनी त्रिभूवन विशव विद्यालयको उपप्राध्यापकका रुपमासमेत कार्यरत छन् ।

बैंकको विद्यमान अवस्था, मर्जरको अनुभव र बैंकको भावी रणनीतिमा केन्द्रित रहेर सीइओ अधिकारीसँग अनलाइनखबरका पुष्प दुलालले गरेको कुराकानीः

Bishomohan-adhakari,-ceo,-oओम फाइनान्स र सिटी डेभलपमेन्ट बैंक गाभिएर ओम डेभलपमेन्ट बैंकको नाममा कारोबार सुरु गरेको डेढ महिना वित्यो । यस अवधिमा मर्जरको कस्तो अनुभव भइरहेको छ ?

नेपाल राष्ट्र बैंकले जब चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरुको संख्या घटाउने उद्देश्यले ‘फोर्स मर्जर’को रुपमा बैंक तथा वित्तीय संस्थाहरुको बपुँजी वृद्धि गर्नुपर्ने नीति लियो । राष्ट्र बैंकले देशको आवश्यकता, विभिन्न निकायहरुसँग लिएको राय सल्लाहअनुसार देशमा बैंक तथा वित्तीय संस्थाहरुको संख्या कम हुनुपर्छ र संस्थाहरु सबल अनि सक्षम हुनुपर्छ भन्ने मान्यताअनुरुप पुँजी वृद्धिको नीति लिएको हो । जुन बैंक तथा वित्तीय संस्थाहरुको आवश्यकता पनि हो ।

हामीले राष्ट्र बैंकले पुँजी वृद्धिको नीति लिनुअघि नै (०७२ वैशाखमा) मर्जर प्रक्रिया सुरु गरेका थियौं । त्यसको ठीक एक वर्षपछि ०७२ चैत २२ गते एकीकृत कारोबार सुरु गर्न सफल भएका छौं । मर्जरपछि हाम्रो बैंक निक्षेपको आधारमा नेपालको सबैभन्दा ठूलो विकास बैंक भएको छ । सर्वसाधारणले हामीलाई सोचेभन्दा बढी विश्वास गरेको अनूभूति भइरहेको छ ।

मर्जपछि संस्थाको इफिसिएन्सी ‘एक प्लस एक’ बराबर ‘दुई’ भयो कि ‘एघार’ ?

दुई पनि होइन र एघार पनि होइन । मेरो बिचारमा सिटी र ओमको मर्जपछि बनेको संस्थाकेा इफिसियन्सी ३ भएको छ । हिँजो एउटामात्रै संस्था हुँदा कुनै एक आयोजनामा १५/२० करोड रुपैयाँभन्दा बढी लगानी गर्नसक्ने अवस्था थिएन । मर्जपछि एउटै आयोजनामा ४०/४५ करोड रुपैयाँसम्म लगानी गर्न सक्ने अवस्थामा पुगेका छौं । यो त संस्थाको इफिसियन्सीको कुरा भयो नियामक निकाय राष्ट्र बैंकले मर्जरमा जुन लक्ष्य राखेको थियो, त्यसमा राम्रो सफलता हासिल गरेको छ । यसका बहुपक्षीय फाइदाहरु छन् । जस्तो उत्पादनशील क्षेत्रमा लगानी बढाउनका लागि, देशको आवश्यकता पुरा गर्नका लागि, ‘केडिट क्रिएसन’मा ठूलो योगदान पुग्ने छ । यद्यपि मर्जरको रिजल्ट हेर्न भने बाँकी नै छ । एक दुई वर्षमा हेरेर मर्जर राम्रो भयो । यसको प्रभाव राम्रो रहृयो भनेर भन्न सक्ने अवस्था छैन ।

आगामी पाँच वर्षपछि बैंकलाई कस्तो बनाउने भन्ने विषयमा सञ्चालक समिति र व्यवस्थापनमा छुट्टा छुट्टै र संयुक्तरुपमा छलफल भइरहेको छ ।

तपाईले आफ्ना अघि के-कस्ता चुनौतिहरु देख्नुभएको छ ?

मर्ज दुई वा दुई भन्दा बढी संस्थाहरुबीच हुने भएकाले उनीहरुको बीचमा एक ‘लेभल’को संस्कार र संस्कृति हुन्छ । ती संस्कार र संस्कृतिलाई एकै ठाउँमा राखेर अघि बढ्दा सीमित चुनौतिहरु पनि हुन्छन् । दुई वा सोभन्दा बढी स्ंस्थाहरु एकै हुनुमात्रै मर्जर होइन रहेछ । ती संस्थाहरुमा काम गर्ने कर्मचारीहरु एउटै हुनु, संस्थाहरुले दिने सेवा सुविधाहरुमा ‘क्वालिटेटिभ इम्प्रुभ’ हुनुपर्‍यो ।

मर्ज भएपछि सरोकारवालाहरुको अपेक्षा पुरा गर्नु मर्जरपछिको सबैभन्दा ठूलो चुनौति हो । सेयरधनीले बढी प्रतिफल खोजेको हुन्छ, ग्रहकले बढी सेवा खोजेको हुन्छ, कर्मचारीले बढी सुविधा खोजेका हन्छन् । राज्यले मर्जरपछि बढी कर वा राजस्व खोजेको हुन्छ । त्यो परिपूर्ति गर्नु संस्थाहरुका लागि चुनौतिको विषय हो । जसले बैंकमा लगानी गरेका हुन्छन्, उनीहरु वास्तवमै बैंकमा मालिक होइन रहेछन् । बैंकका मालिक भनेका त निक्षेपकर्ता र ऋणी रहेछन् । जब बैंकमा जनताको विशवास हुँदैन तब त्यो बैंक सञ्चालन हुन सक्दैन ।

मर्जरपछि सञ्चालकहरु र कर्मचारीको व्यवस्थापन सबैभन्दा ठूलो चुनौति भएको राष्ट्र बैंकको अनुसन्धान विभागले गरेको अनुसन्धानले पनि देखाएको छ । तपाईको अनुभवले के भन्छ ?

मैले अघि नै भने नि, मर्जरपछिको मुख्य चुनौति भनेको स्टेकहोल्डरहरुको आकांक्ष पुरा गर्नु हो भनेर । कर्मचारी र सञ्चालक समिति बैंक तथा वित्तीय संस्थाका स्टेकहोल्डर हुन । त्यस्तै, ससर्वसाधारण र सरकार पनि स्टेकहोल्डर हुन् । सञ्चालक समितिको व्यवस्थापनभन्दा कर्मचारीहरुको व्यवस्थापन अलि कठिन हुन्छ । किनभने कर्मचारीहरु फरक संस्थाका, पृष्ठभूमि र कार्यशैलीबाट आएका हुनाले उनीहरुको व्यवस्थापन चुनौतिपूर्ण हुन्छ ।

मुलुकमा उत्पादन बढाउनका लागि बैंकले पुँजी र धितो नभएका तर उद्यमशीलता भएका पुरुषहरुलाई लघुवित्त इकाइमार्फत लगानी गरिरहेको छ ।

हाल बैंकको वित्तीय अवस्था कस्तो छ ?

चैत मसान्तको सार्वजानिक गरेको वित्तीय विवरणअनुसार निक्षेपमा हामी नेपालकै पहिलो नम्बरको विकास बैक हौं । कर्जाको आधारमा भने हामी दोस्रो विकास बैंक छौं । यस अवधिमा बैंकले ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब रुपैयाँ कर्जा विस्तार गरी १४ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । मर्जरपछि बैंकको चुक्ता पुँजी १ अर्ब ५ करोड रुपैयाँ पुगेको छ भने ३९ करोड रुपैयाँ सञ्चित कोषमा छ ।

कूल कर्जामा खराब कर्जाको अनुपात १.९० प्रतिशत छ । कर्जा र निक्षेपबीचको अन्तर (स्प्रेड दर) ६.१० प्रतिशत छ । प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ छ भने प्रतिसेयर वाषिर्क आम्दानी १८ रुपैयाँ छ । बैंकले लगानीकर्ताको लगानीमाथि साढे १४ प्रतिशतको प्रतिफल दिएको छ ।

सञ्चालक समितिको व्यवस्थापनभन्दा कर्मचारीहरुको व्यवस्थापन अलि कठिन हुन्छ, किनभने कर्मचारीहरु फरक संस्थाका, पृष्ठभूमि र कार्यशैलीबाट आएका हुनाले उनीहरुको व्यवस्थापन चुनौतिपूर्ण हुन्छ ।

राष्ट्र बैंकले ०७४ असार मसान्तमा विकास बैंकहरुको न्युनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ हुनपर्ने भनेको छ । आगामी १४ महिनामा कसरी १ अर्ब ४५ करोड रुपैयाँ थप्नुहुन्छ ?

यस अवधिमा बैंकले ५० करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्छ । त्यसैगरी करिब ४० करोड बोनस सेयर वितरण गर्छ । र, ४०/५० करोड रुपैयाँ पुँजी भएको संस्थालाई मर्जर वा एक्वायर गरेर राष्ट्र बैंकले तोकेको समयमै तोकेको चुक्ता पुँजी पुर्‍याउने हाम्रो योजना छ । हामी आफ्नै ब्राण्डबाट राष्ट्रियस्तरको मजबुत विकास बैंकको रुपमा स्थापित हुन चाहन्छौं । ०७३ सालभित्रै अर्को संस्थासँग मर्जर वा एक्वायरमा जान्छौं ।

दुखको कुरा केक छ भने उत्पादनमूलक क्षेत्रबाट भन्दा अनुत्पादक क्षेत्रबाट कर्जाको माग उच्च छ ।

बैंक तथा वित्तीय संस्थाहरुको भीडमा तपाईको बैंकको फरक विषेशता के हो ?

नेपालमा करिब २ सय बैंक तथा वित्तीय संस्थाहरु छन्, जसले एकै प्रकृतिको कारोबार गर्छन् । संस्थाले लिएको नीतिअनुसार केही संस्थाहरु केही फरक हुन्छन् । हामीले साढे दुई वर्षदेखि लघुवित्त मार्फत हामीले ६ सय ३७ जना पुरुषलाई उद्यमी बनाएका छौं । ‘पुरुषमा लघुवित्त’ भन्ने हाम्रो नारा नै छ । मुलुकमा उत्पादन बढाउनका लागि बैंकले पुँजी र धितो नभएका तर उद्यमशीलता भएका पुरुषहरुलाई लघुवित्त इकाइमार्फत लगानी गरिरहेको छ ।

लघुवित्त सेवातर्फ पुरुषहरुको आकर्षण कस्तो छ त ?

एकदमै राम्रो आकर्षण छ । हाम्रो अनुभवले के देखाएको छ भने ३/४ लाख रुपैयाँले एउटी महिलाले राम्रो कुटीर उद्योग खोलेर वा व्यापार व्यवसाय गरेर आम्दानी गर्न सक्छिन् । तर, पुरुषका लागि त्यो रकम थोरै भएको छ । हामीले राष्ट्र बैंकमा पनि पुरुषलाई बिनाधितो दिने लघुकर्जाको सीमा बढाउन आग्रह गरेका छौं । तर, महिलाहरुसँग यस्तो कारोबार गर्न जति सजिलो हुन्छ, पुरुषहरुसँग त्यति सजिलो हुँदैन । श्रीमान-श्रीमति एकैपटक बैंकमा ऋण लिन गएभने पुरुषलाई भन्दा महिलालाई बढी ऋणी बनाउन चाहन्छन् । किनभने महिलाहरु ऋणप्रति संवेदनशील हुन्छन् ।

लघुवित्तको व्याजदर कति छ, नि ?

हमीले लघुवित्त सेवामा १६ देखि २० प्रतिशत व्याज लिँदै आएका छौं ।

यति धेरै व्याजदर लिएर कसरी गरिबको उत्थान होला ?

धेरै लघुवित्त संस्थाहरुले २२/२५ प्रतिशतसम्म लिँदै आएका छन् । त्यो आधारमा हामीेले लिएको व्याजदर सस्तो हो । तर, गरिबहरुका लागि हामीले लिँदै आएको व्याजदर पनि बढी हो । लघुवित्तको सेवा प्रदान गर्न बैंकको बढी लागत लाग्ने भएकाले व्याजदर महंगो भएको हो । लघुवित्तमा एकजना कर्मचारीले २ करोड रुपैयाँभन्दा बढी ऋणको हृयान्डिलिङ गर्न सक्दैन । तर, सामान्य बैंकिङमा भने सजिलै २० करोड रुपैयाँको हृयान्डिलिङ गर्छ ।

बैंकले कति सर्वसाधारणलाई लघुवित्तको सेवा प्रदान गर्दै आएको छ ?

बैंकका कूल १ लाख ग्राहक छन् । जसमध्ये ११ हजार रुपैयाँ ऋण छन् लघुवित्तमा मात्रै हाम्रा करिब ४ हजार ग्राहक छन् । लघुवित्तको सबैभन्दा ठूलो चुनौति भनेको डुब्लिकेसन हो । दुई वा सोभन्दा बढी संस्थाबाट एकै व्यक्तिले ऋण लिने गर्छन् । यसलाई रोक्ने कुनै संयन्त्र नभएकाले संस्था स्वयं सचेत हुनुपर्छ । मलाई लाग्छ नेपालका ५० प्रतिशतभन्दा बढी लघुवित्तका ऋणीहरुले दुई वा सोभन्दा बढी संस्थाबाट ऋण लिएका छन् । यसले आउँदा दिनमा लघुवित्त क्षेत्रमा ठूलो दुर्घटना निम्त्याउन सक्छ ।

क्षेत्रीयस्तरमा रहेर बैंकिङ व्यवसाय सञ्चालन गर्न कतिको कठिन रहेछ ?

क्षेत्रीयस्तरमा रहँदा राज्यबाट पाइने केही सेवा सुविधाहरुबाट बञ्चित हुनुपरेको थियो । मर्जपछि हामी राष्ट्रियस्तरको संस्था बनेका छौं । तर, बैंकिङ गर्नका लागि शहरमाभन्दा गाउँमा सजिलो हुन्छ, कनिभने त्यहाँ बैंकको दायरामा नभएका सर्वसाधारणहरु धेरै हुन्छन् । ग्राहक भनेका हाम्रा साझेदार हुन् । त्यसैले हामीले योर बैंक ‘योर पार्टनर’ भनेर नारा पनि राखेका छौं ।

हाम्रो अनुभवले के देखाएको छ भने ३/४ लाख रुपैयाँले एउटी महिलाले राम्रो कुटीर उद्योग खोलेर वा व्यापार व्यवसाय गरेर आम्दानी गर्न सक्छिन् तर, पुरुषका लागि त्यो रकम थोरै भएको छ ।

हामीसँग अहिले ४ अञ्चलका १२ वटा जिल्लामा २५ शाखा, ३ एटीएम सञ्चालनमा छन् । हामी स्थापनाकालदेखि नै त्यस क्षेत्रमा लिड गरेको संस्था हौं । ओम फाइनान्स १४ वर्षदेखि र सिटी डेभलपमेन्ट बैंक ८ वर्षदेखि बैंकिङ इन्ड्रस्टीमा थियो । गण्डकी र धौलागरीका ग्रामिण इलाकाहरुमा हाम्रो बलियो उपस्थिति छ । मनाङको चामेजस्तो ठाउँमा निजी क्षेत्रबाट पहिलोपटक हामीले मात्रै बैकिङ सेवा प्रदान गरिरहेका छौं । जसले गर्दा हामीलाई व्यवसाय गर्न सजिलो भएको छ । गाउँमा गएर बैंकिङ सेवा दिएर पुँजी निर्माणमा सहयोग गरिरहेका छौं । गाउँमा जानतालाई सुरक्षा, विद्युत र पूर्वाधारको चुनौति हुँदाहुँदै पनि हामीले ग्रामीण सेवा विस्तार गरिरहेका छौं ।

तपाईँको बैंकका कर्जा विस्तारको प्राथमिकताका क्षेत्रहरु के के हुन् ?

राष्ट्र बैंकले कुनै एउटामात्रै क्षेत्रमा २५ प्रतिशतभन्दा बढी लगानी गर्न नपाइने भनेको छ । तर, हाम्रो बैंकले कुनैपनि क्षेत्रमा २० प्रतिशतभन्दा बढी लगानी गरेको छैन । जसले गर्दा रिस्क सेयररिङ र लगानीको विविधिकरण भएको छ । तर, दुखको कुरा के छ भने उत्पादनमूलक क्षेत्रबाट भन्दा अनुत्पादक क्षेत्रबाट कर्जाको माग उच्च छ । बैंक भनेको व्यावसायिक संस्था हो, त्यो हुँदैमा उसले राष्टिय प्रााथमिकता र हितभन्दा पर गरेर लगानी गर्न सक्दैन । तर, व्यापारीहरु भने नाफा नहुने क्षेत्रमा लगानी गर्न सक्दैनन् ।

प्रतिस्पर्धी बजारमा आफूलाई कसरी खरो प्रतिस्पर्धामा उतार्नुहुन्छ ?

मोफसलमा मुख्य कार्यालयरहेका बैंक तथा वित्तीय संस्थाहरुमध्ये काठमाडौंमा हाम्रो सबैभन्दा बलियो उपस्थिति छ, कारोबार राम्रो छ । त्यसैगरी, मुलुकको ठूलो आर्थिक कारोबार हुने क्षेत्र पोखरामा हाम्रो राम्रो पकड छ । त्यस्तै, ग्रामीण इलाकामा पनि हाम्रो बलियो उपस्थिति भएकाले गर्दा हामीलाई प्रतिस्पर्धा गर्न कुनै कठिनाइ छैन ।

अबकोे पाँच वर्षपछि बैंकको अवस्था कस्तो होला ?

देशले जस्तो आर्थिक नीति लिन्छ, बैंक तथा वित्तीय संस्थाहरुले पनि सोही अनुरुपको आर्थिक नीतित अबलम्बन गर्नुपर्ने हुन्छ । ०७४ असार मसान्तमा २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्‍याएर हामी त्यतिमै सीमित रहँदैनौं । आगामी पाँच वर्षपछि बैंकलाई कस्तो बनाउने भन्ने विषयमा सञ्चालक समिति र व्यवस्थापन समितिमा छुट्टा छुट्टै र संयुक्तरुपमा पनि छलफल भइरहेको छ । जसअनुसार आगामी पाँच वर्षमा बैंकको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ हुनेछ । आफ्नो सञ्जाललाई देशैभरी विस्तार गर्ने, कर्पोरेट गभर्नेन्सलाई पूर्णपालना गर्दै देशकै सबैभन्दा ठूलो र सबल विकास बैंककोरुपमा स्थापित गर्ने हाम्रो सोच छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment