“आमा तपाईँलाई धेरै दुःख भयो, अर्को साल म लाहुर जान्छु र पैसा कमाएर ल्याउँछु है भनेर आँशु झारेको थियो मेरो छोराले । तर, भोलिपल्ट बिहानै उसको मुखमा रगत देख्नुपर्यो ।”
यति भनिसकेपछि नुवाकोट काउले वडा नं २ स्थायी घर भएकी ४९ वर्षीया सुस्बुरी तामाङ डाँको छाडेर रोइन् । उनले मजेत्रोले मुख ढाकिन् ।
केही दिन अगाडि सुस्बुरी तामाङले फोन गरेकी थिइन् मलाई । एकजना पत्रकारले मेरो मोबाइल नम्बर दिएका रे उनलाई । उनले मलाई फोनमा भनेकी थिइन्- “बाबु तिमीले मजस्तै आमाहरूको दुख लेख्दै हिड्छौ रे । तिमी पनि मेरो छोरा जस्तै हौ । एकपटक मलाई भेट्न आउनू ।” आँशु मिश्रित उनको आवाज सुनेपछि उनलाई भेट्न म सुस्बुरी तामाङको घर खोज्दै नुवाकोटको काउले पुगेको थिएँ ।
रुवाइकै क्रममा उनले पीडाको भाका थपिन्-“चाँडो घर आउ न मेरो बाबु चाँडो आउ, म त एक्लै भए नि बाबु मलाई लिन आउ, लाहुर जान्छु आमा भन्थ्यौ बाबु तिमी कता गयौ, घर आँगन शुन्य भयो, चाँडो घर आउ ।”
भारतको एक प्रान्तका आदिवासी जातिमा आफ्नो सन्तानको निधनपछि आमा रूँदा-रूँदा थाकेमा उनको सट्टारोइदिने अर्को महिला खोज्ने प्रचलन छ रे । तर, नेपालकी आदिवासी सुस्बुरी तामाङ यतिका वर्ष एक्लै रोइरहेकी छिन् । उनको रूवाइलाई साथ दिने आँखाका नानीबाहेक अरू छैनन् ।
काउले जाँदा खेतमा धान हरियो देखिन्थ्यो । मकैका जुँगा पलाउन थालेका थिए । अघिल्लो रात झरी परेकाले होला, गाँउ शीतल र सफा थियो । तर, सानो झुपडीको आँगनमा सुस्बुरी उदास अनुहार लिएर आगो सल्काउँदैथिइन् ।
काउले गाउँका मानिसले उनको हुलिया बताएका थिए । मैले तपार्इ सुस्बुरी तामाङ हो ? भनेर भद्दा प्रश्न गरिँन । “अँ आमा, म दिले मगर,लास्सो ! तामोबा हालखबर ? जम्मा नो ठीक मुवा ?
मैले यति बोलेपछि उनको मुहारमा उज्यालो छायो । मानौं कि मृत्युदण्ड पाएको उनको प्यारो छोराले सरकारका तर्फबाट आममाफी पाएपछि आज घर फर्केको थियो ।”
मलाई तामाङ भाषा नआउने, उनलाई नेपाली भाषा नआउने । एकैछिन त मलाई आफू अर्कै देशमा आएजस्तो महसुस भयो । तर, त्यो पहिचानको कुरा थियो ।
छैयामा वडा नं १ का स्थानीय युवक कृष्ण तामाङले दोभाषेका रुपमा मलाई सहयोग गरे ।
“मेरो छोरा कान्छामाया तामाङ भर्खर १४ बर्षमा मात्रै टेकेको थियो । यही माथिको एेसेलु माविमा कक्षा ६ मा पढ्थ्यो ।
गाँउमा एकजना बाजेको किरिया थियो । मेरो छोरा किरियापुत्रीलाई कुर्न गएको थियो । साँझपख घर फर्कंदा बुर्डुङ्गो वालाङ् पाखामा नावालक निर्दोष मेरो छोराको छातीमा ड्याम्म गोली हानेर मारियो ।”
सुस्बुरीले थपिन् -“यो मेरो पीडा सरकारलाई नै सुनाइदिनु है बाबु । सरकार त यता गाउँमा आउनुहुन्न के रे ! सरकारलाई सन्चै त होला नि, म जस्तो दिनरात रोएर त किन बस्नुभएको होला र ? सरकारले घिउ खानुहुन्छ भने लगिदिनुहोला ।”
त्यो ०५९ साल मंसिर ११ गतेको घटना रहेछ । साँझपख सैनिकहरूले माओवादी हुन् कि भन्ने आशंकाका भरमा टाढैबाट गोली चलाएका रहेछन् । अनि गोली चलाएपछि सैनिकहरू माओवादी मर्यो भन्दै ढलेको ठाउँमा दौडिँदै गएछन् । जहाँ बालक कान्छा तामाङ रगतको आहालमा पौडिएका थिए, जसलाई माओवादीसँग कुनै सरोकार नै थिएन ।
अनि के भयो आमा त्यसपछि ?
सुस्बुरी तामाङले आँसुको भेल बगाउँदै भनिन्-“त्यसपछि त के के भयो के के । मेरो जीवनको लौरी नै भाँचियो । मेरो जीवनको साहरा नै गुम्यो । मर्छु भन्दा पनि काल नआउने रहेछ । काख रित्तो बनाएर एउटी आमा कसरी बाँच्न सक्छु ?”
उनी थप्छिन्-” अब त म बुढी भैसकें, मर्नेबेला पनि भयो । मेरो छोरालाई नमारिदिएको भए अहिले नाति नतिना खेलाएर बस्थें होला । आफ्नै आँखा अगाडि रगतको आहालमा छोराको लास मैले कसरी हेर्न सकें हुँला ? मेरो जीवन रोएर नै बितेको छ । कहिलेकाहीँ त गाँउ नै छोडेर कता हो कता जाउँ जस्तो लाग्छ । तर, के गर्ने ? पखेटा भएर भए उडेर जान्थें होला ।”
उनको कुरा सुनेर मेरो मनले अरूणा लामालार्इ सम्झियो– उडी जाँउ भने म पंक्षी होइन, बस्नलार्इ….”
“यी यस्तो दुःख पो छ बाबु हाम्रो गाउँमा त । धान खाने मुसा, चोट पाउने भ्यागुता भनेजस्तै लडाइँ गर्नेहरू
लपक्कै मिलिसके, हामी गरिबलाई कसैले नि हेर्दैन” । सुस्बुरी भन्छिन्-” बुढेस कालमा साहारा होला भनेर जन्माएको एउटा छोरालाई पनि मरिदिए । तर, मैले एक मुठी बिष पिउन सकिँन ।”
सुस्बुरीले अरू पनि दुःखलाग्दा कुरा सुनाइन् । उनका छोरासँगै छिमेकका तीनजना छोराहरू पनि मारिएका रहेछन् । कुरा गर्दागर्दै उनले छिमेकीलाई पनि डाकिन् जसका छोराहरू पनि बुर्डुङ्गो वालाङ् घटनामा मारिएका थिए ।
तिनैमध्ये एक जनाका बाबा हुन् काउलेकै ४६ बर्षीय बुद्धिबहादुर तामाङ । उनको घर पनि काउलेमै हो । किसानी काम गरेर पेट पालेका बुद्धिबहादुर चिन्ताले ख्याउटे बनेका छन् । छोरा मारिएको यतिका बर्ष बित्यो, तर कुनै दिन बाबा ! भन्दै टुप्लुक्क आँगनमा आइपुग्छ कि जस्तो लाग्छ उनलाई । सपनामा सधैं देखिरहन्छन् ।
उनका १५ बर्षको छोरा चन्द्रमान तामाङ ७ कक्षामा पढ्दैथे । पढाइ सकेपछि मेरा बाबा आमालाई खाना पकाएर खान दिने बुहारी ल्याउँछु भन्थे रे उनी । त्यो दिन उनलाई पनि बाजेको किरिया हेरेर फर्कँदै गर्दा बाटोमा मारेका थिए सैनिकले ।
“मेरो छोरालाई माओवादीको ‘म‘ पनि थाहा थिएन । खुरुखुरु स्कुल जाने, आउने र घरमा काममा सघाउने निकै दयालु थियो ।” बुद्धिबहादुर तामाङ थप्छन्-” उसँगैका साथीहरूले बिहे गरिसके, कोही लाहुरे पनि भए, मलाई भने जीवन धान्न मुस्किल भएको छ । छोरा बाँचेको भए केही न केही त गर्थ्यो होला, टाठो थियो ।
उनले घटनाको स- विस्तार लगाए ।
“लौ माओवादी मर्यो, कोदाली बाउसो लिएर गाड्न आउ भन्ने खबर आयो सैनिकबाट । एसेलु मावीका धुर्व सरलाई राम्रो संग थाहा छ, यो कुरा सोध्नुहोला । कहाँको माओवादी रहेछ हेर्न जाउँ भने गाउँलेहरूले । गएपछि गाड्न पनि पर्ने होला भनेर मैले बाउसो बोकेर गएँ । बाटोमा रगतको आहालमा डुबेको त मेरै छोरो पो रहेछ । मेरो त होसहंश उड्यो । विश्वास नलागेर अनुहारको रगत पुछेर फेरि नियालें । हो, त्यो मेरै छोरा
चन्द्रमान रहेछ ।”
बुद्धिबहादुर तामाङका आँखामा आँशु छचल्कियो ।
जब कुनै पनि पुरुषको आँखामा आँसु देखिन्छ, तब त्यो निकै हृदय विदारक देखिन्छ । हो, एउटा हृदय विदारक पुरुष मेरा अगाडि उभिएको थियो ।
६८ बर्षीया बिवा तामाङका छोरा परिमान तामाङ पनि त्यही घटनामा परेर मारिएका हुन् । परिमान तामाङ १५ बर्षका थिए । आँखा राम्रो संग देख्न सक्दिनन् उनी । न कान राम्रोसँग सुन्छन् । भर्खर ६ कक्षामा पढ्दैथे परिमान । तर, उनलाई पनि बाँच्ने अवसर मिलेन ।
“मेरो निर्दोष छोरा, यस्तो बालकलाई किन मारेको हँ भनेर सैनिकको लुगामा समातेर रुँदै चिच्चाएँछु म त“बिवा भन्छिन्, ”उनीहरूले हाम्रो गल्ती भयो आमा माफ पाउ भनेको भए चित्त बुझ्थ्यो होला । तर, ए बुढीमाउ किन रोएको ? तेरो छोरा भोलि गएर माओवादी नै हुन्थ्यो अनि एकिदिन मर्थ्यो भने ।”
आक्रोशित हुँदै बिवा थप्छिन्-“मेरो प्यारो छोरा माओवादी हुन्थ्यो कि डाक्टर पाइलट, उनीहरूलाई कसरी थाहा भयो ? हलो जोतेर खाए पनि उनीहरूलार्इ के मतलव ? दैव लाग्यो, मारिदिए । अब बुढेसकालको साहरा आँसु मात्र त बाँकी छ”।
बिवाको भक्कानो फुट्यो ।
६० बर्षका शेरबहादुर तामाङका छोरा जितबहादुर तामाङ र ६९ बर्षका सिरजन तामाङका छोरा चोक्ता तामाङ पनि सोही घटनामा परेर मारिए । उनीहरू क्रमशः १७ र १८ बर्षका थिए । उनीहरू बिध्यार्थी थिए ।
पीडितहरूको भनाइ छ, हाम्रा छोराहरू त मरे मरे अब हामीलाई पनि मार कि न्याय देउ । न्याय दिन सक्दैनौ भने हामीलाई गास, बास, कपासको व्यवस्था गरिदेउ । हाम्रा काख लुटिएका छन् । खुसीहरू खोसिएका छन् ।
शान्ति समितिको यात्रा
स्थानीय नेताको सहयोगमा शान्ति समितिमा उजुरी गर्ने जाने उनीहरूको पूर्व तयारी रहेछ । घटनालाई सही ढङ्गले लेख्न सकिएला भनेर उनीहरूसँगै यो पङ्तिकार पनि शान्ति समितिको कार्यालय नुवाकोट पुग्यो । त्यो संयोग मात्र थियो ।
माओवादीसमेत अहिले राज्य पक्ष भइसकेका कारण यस्ता घटनाहरूका सन्दर्भमा उ चनाखो हुनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने सुस्बुरी तामाङ बताउँछिन् । दोषीलाई कारबाही गर्नुपर्दैन भने हिजो युद्धमा सहभागी भएका सम्पूर्ण पक्षले आम माफी माग्नुपर्ने उनको जोडदार माग छ ।
शान्ति समितिलाई बुझाएको उजुरी पत्रमा कम्तिमा ४० जनाको संख्यामा आएका सैनिकहरूले आफ्ना छोराहरूलाई माओवादी भएको आशंकामा गोली चलाएको भनेर मुख्य रुपमा लेखेका छन् । घटनामा संलग्न दोषीलाई कारबाही हुनुपर्ने उनीहरूले माग गरेका छन् ।
सरकारले राहत स्वरूप जनही पाँच-पाँच लाख रुपियाँ राहत उपलब्ध गराए पनि कहिल्यै माओवादी नभएका निर्दोष छोराहरूलाई माओवादी भनेर मारेकोमा बुद्धिबहादुर तामाङसँग अझै पनि आक्रोश यथावत छ ।
देशभरि यस्ता धेरै निर्दोषहरू राज्य र माओवादी पक्षबाट मारिएका छन् । तर, आफ्ना सन्तान गुमाएका परिवारलाई राज्यले जुन स्तरको सम्मान र सहयोग गर्नुपर्थ्यो, त्यो गर्न नसकेपछि सम्बन्धित पक्ष दोषको भागिदार हुनैपर्छ ।
शान्ति समितिलाई उजुरि पत्र बुझाउँदै बुद्धिबहादुर भन्छन्- “मेरा छोराका हत्यारालाई कारबाही हुने हो भने राहतस्वरूप लिएको पाँच लाख फिर्ता दिन्छु । किनभने मैले रगतसँग रुपैयाँ साट्नको लागि सन्तान जन्माएको थिइँन ।
द्वन्दकालीन समयमा भएका घटनालाई सत्य तथ्य छानबिन गर्ने भन्दै प्रत्येक जिल्लामा शान्ति समितिको गठन गरिएको छ । सोही अनुरूप उजुरी संकलन गर्ने कामहरू भइराखेका छन् । यदि सत्य तथ्य छानबिन हुन्छ भने किन उजुरी नदिने भन्दै बिवा तामाङ जिल्ला स्थिति शान्ति समितिमा गोप्य उजुरी दिन गए ।
हुन न द्वन्दकालीन घटनाहरुका बिषयमा राजनैतिक दलहरू र नागरिकको तहमा फरक-फरक धारणाहरू बहसकै क्रममा छन् । यद्यपि सर्वोच्चको फैसलालाई सम्मान नगरेको ठहर गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई अदालतमा हाजिर हुन आदेश गरिएको छ ।
केही समय अगाडि बाग्लुङकी चम्पादेवीको उजुरीका विषयमा मैले लेखेको थिएँ । उनले शेरबहादुर देउवाका कारण आफ्नो निर्दोष श्रीमानको निर्मम हत्या गरिएको संगीन आरोप लगाएकी थिइन् ।
सत्य निरुपण आयोग मार्फत द्वन्दकालीन घटनालाई राजनैतिक तवरबाटै समाधान गर्नुको सट्टा बदला र प्रतिशोधका जुन हर्कतहरू भइराखेका छन्, जसले न पुष्पकमललाई फाइदा गर्छ, न शेरबहादुरलाई ।
द्वन्द्वले निम्त्याएको हजारौँ सुस्बुरी तामाङको घाउमा मल्हम लगाइदिने कोशिश गरौं । बृद्ध बुद्धिबहादुरको ओठमा खुशी फर्काइदिउँ । बिवा तामाङ, जितबहादुर तामाङ र सिरजन तामाङको दुःखी जीवनलाई सहज बनाउन सहयोग गरौं । तर फेरि द्वन्द्व निम्त्याएर होइन !