Comments Add Comment

काठमाडौंलार्इ जितिसक्यो, अब बिराटनगरलाई महानगरपालिका बनाउन ढिला भएन र ?

Biratnagar-Buspark
विराटनगर बसपार्कको हालत । तस्वीर: ध्रुव भट्टराई/अनलाइनखबर

धमिलै सही, सडकभरि यथेष्ठ ताल तलैयाहरूको उपस्थिति । ती ताल तलैयामा थरीथरीका सवारी साधनहरू आवश्यकता अनुसार तैरिइरहेको स्थिति । आफ्नो सवारी साधनले सन्तुलन गुमाउँदा कोही कोही भने तालमै डुबुल्की मारिरहेका दृश्यहरू बग्रेल्ती ।

तालमा प्रत्यक्ष डुबुल्की मार्न नपाउने मनुवाहरूका लागि सभ्य चालकज्यूहरूको असीम अनुकम्पाले नि:शुल्क स्नान गर्ने पवित्र अवसरको व्यवस्था कति कति ! गर्मीमा स्नान गर्न सिम्सुवा झरना नै किन जानुपर्यो र ?

ताल छिचोल्न नसक्ने हुतिहारा सवारी साधनहरू कोही सडक पेटीतिर त कोही अन्तै तर्किरहेका देखिन्छन् भने ताल छिचोल्नलाई लाम लागेका सवारी साधनका कारण ठाउँठाउँमा मनमोहक जाम- दृश्यावलोकनको व्यवस्था पनि छ । ताल तलैयाको पानी सुक्नेवित्तिकै अघाउन्जेल सातुपानको अवसर पनि पाइन्छ । सातुले सातो खाएकाहरू भने यो गर्मीमा मुखबन्दीले नाक मुख ढपक्कै ढाकेर त्यसै त्यसै विरक्तलाग्दो यात्रा गरिरहेका विवश यात्रुहरू पनि यत्रतत्र भेटिन्छन् । यस्तै यस्ता विशेषताले भरिपूर्ण भएको छ यतिखेर बिराटनगर ।

तिनै यात्रुमध्ये एक यात्रु मुखबन्दी भित्रैबाट हल्का नबुझिने आवाजमा भन्दै थिए-`यस्तो त काठमाडौंमा मात्रै हुन्थ्यो ।´अर्का यात्रु दुइटा औंलाले नाक कस्सिलोसँग च्यापेर दिक्क मान्दै नाके बोलीमा भन्दै थिए- `धूलो त झन् काठमाडौंलाई नै माथ गर्ने खालको छ ।´

शैलेश भट्टराई
शैलेश भट्टराई

उनीहरूका कुरा सुनेर पंक्तिकार भने मनमनै मखलेल भयो- साँच्ची अब बिराटनगर पनि महानगरपालिका बन्ने भो भनेर। काठमाण्डौ महानगरपालिकाका भन्दा उन्नत किसिमका पूर्वाधारहरू भएपछि यस्तो सोच्नु मुनासिब जस्तो नै लाग्छ ।

महानगरपालिकाका जस्ता गगनचुम्बी महलहरू नभएर के भो त ? पातालचुम्बी खाल्टाखुल्टीहरू त मौजूद छँदै छन् यहाँ। अहिले पानीजहाज चलाउने चर्चा राष्ट्रियस्तरमै चुलिएका बेला राष्ट्रिय ध्वजावाहक पानीजहाज प्रशान्त महासागर वा हिन्द महासागरमा चलाउनुभन्दा यतै चलाए त्यो पानीजहाजको दर्शन नेपाली जनताले पनि गर्न पाउँथे भन्ने राय पंक्तिकारको रहेको छ ।

वास्तवमै यी बिशेषताहरू हाम्रो देशको एक मात्र महानगरपालिकासँग मिल्दाजुल्दा नै छन् । त्यसैले बिराटनगरलाई पनि अब शीघ्रातिशीघ्र महानगरपालिकामा स्तरोन्नति गरौं। महानगरपालिकाको एकाधिकारबाट काठमाण्डौलाई मुक्त गरौँ  !

एकैपटक सयौं गाउँहरूलाई थोकमा भटाभट नगरपालिका घोषणा गरी राष्ट्रिय कीर्तिमान कायम गर्नुहुने `नगरपालिकाका पिता´ले यी दृश्यहरू देख्न पाउनुभएको भए यतिखेरसम्म महानगरपालिका भैसकेको हुने थियो बिराटनगर । यस्ता खाल्टाखुल्टी, कच्ची सडक, थोत्रा गाडी, भत्केका स्कुल कलेज अस्पताल आदि त देख्नै हुन्नथ्यो। त्यस्तै त्यस्ता दुईचारवटा ठाउँलाई जोडजाड गर्यो अनि नगरपालिकाघोषणा गर्दिहाल्ने बानी थियो वहाँको ।

करीव डेढ दशक अघिसम्म पनि बिराटनगरमा साइकल र रिक्शा बग्रेल्ती भेटिन्थे । के केटा, के केटी, के बुढाबुढी, के भीआइपी, के निम्छरा सबैको प्रिय सवारी साधन थियो साइकल । साइकल चढ्दा कसैको इज्जत जाने अवस्था थिएन । साइकल संस्कृति यहाँको अभिन्न अङ्ग थियो । अब भने साइकल संस्कृति लोप हुने क्रममा छ । साइकल चढ्नेले हीनताबोधको ठूलो भारी पनि पछाडि करियरमा संगसंगै बोक्नुपर्ने अवस्था छ । सीमान्त सवारी साधन भएको छ साइकल । संकटापन्न छ साइकल ।

मोटरसाइकलले सडक ढाकेको अवस्था छ । देशको एकमात्र महानगरपालिकामा हेर्नुस् त त्यस्तै दृश्य दृष्टिगोचर हुन्छ । सडकमा मोटरसाइकल स्कुटीको साम्राज्य चलेको हुन्छ । अरू त अरू, स्कुल कलेज जाने केटाकेटी समेतको रोजाइ मोटरसाइकल र स्कूटी हुने गरेको छ । साइकलयात्रीहरू अपराधीझैं डराई डराई यात्रा गरिरहेको जस्तो लाग्छ ।

देशको एकमात्र महानगरपालिकामा साइकल संस्कृति मृतप्रायः छ ।

तथापि नाकाबन्दीताका एकाध स्वनामधन्य राष्ट्रवादीहरूले भाषणमा साइकल संस्कृति जगाउने अनि पेट्रोलियम पदार्थमाथिको परनिर्भरता भगाउने फूइँ भने नलगाएका होइनन् । त्यस्ता भुइँफूट्टे फूइँहरू नाकाबन्दी बिलाएपछि भूइँमा नै बिलाइसकेका छन् ।

चोकैपिच्छे, गल्लीपिच्छे महानगरको जस्तै मीठो वासना पनि उपभोग गर्न पाइएकै छ । चोकचोकमा, गल्ली गल्लीमा भएका यस्ता फोहोरका डुङ्गुरबाट प्राप्त हुने सुगन्धले अब छिट्टै महानगरपालिका हुने संकेत गरिरहेकै छ ।

`फोहोरबाट मोहोर´ एकताका खूब चर्चित नारा थियो महानगरपालिकामा।कति मोहोर प्राप्त भो, त्यो त थाहा छैन, तर फोहोरबाट यमराजको खोरको यात्रा भने धेरैलाई गराएको हुनुपर्छ ।

अहिले फेरि फोहोरबाट खाना पकाउने ग्यास निकाल्ने चर्चा व्याप्त छ। त्यसैले ग्यास निकाल्न अनि महानगरपालिका बनाउन पनि टोलटोलमा फोहोरको संरक्षण गर्नुपर्छ । त्यसकारण अब ढीलो गर्नै हुन्न महानगरपालिका घोषणा गर्न । नत्र यो सुगन्ध स्वाहा हुन सक्छ ।

खेतीयोग्य उर्वर जमीनहरूको धमाधम प्लटिङ्गीकरणले पनि अब महानगरपालिका बनाउनै पर्ने जनाउ दिइरहेको छ । जग्गाको भाउ दाँज्नुस् त, महानगरपालिकाको भन्दा महँगो नै होला, सस्तो छैन । त्यसैले बिराटनगरलाई अझै पनि उपमहानगरपालिका मात्रै बनाइराख्ने हो भने यो शहरको घोर अपमान हुन जान्छ । छिटोभन्दा छिटो महानगरपालिकामा बढुवा गरिहाल्नुपर्छ ।

आखिर महानगरपालिकाले पूरा गर्नुपर्ने मापदण्डहरू- सडकमै स्नानको प्रबन्ध, सातूको प्रबन्ध,  जाम दृश्यावलोकनको व्यवस्था, सडकमा पातालचुम्बी खाल्टाखुल्टीहरू, खेतीयोग्य जमीनमा प्लटिङको प्रबन्ध इत्यादि बिराटनगरले पूरा गरेकै देखिन्छ । यत्रा यत्रा पूर्वाधार हुँदाहुँदै पनि किन महानगरपालिका नबनाउने बिराटनगरलाई ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment