Comments Add Comment

पुनः जुर्मुराउँदै युएईका नेपाली साहित्यकारहरु

sahitya-in-uae

युएई । सुस्तप्रायः रहेको युएईको नेपाली साहित्यिक माहोल एकाएक बौरिएको छ । साहित्यका विविध विधामा दक्षता राख्ने हस्ती र सिपालु कलमकर्मीको अभाव छैन यहाँ । तर संस्थागत रुपमा सुस्ताएको युएईको नेपाली साहित्यिक वातावरणमा रिमझिम वर्षाको संकेत देखिएको छ ।

रोजगारी र व्यवसायको सिलसिलामा करिब चार लाख नेपाली श्रमरत मध्यपूर्वी मुलुक युएईमा अन्य देशको तुलनामा उल्लेख्य संख्यामा नेपाली साहित्यका सर्जकहरु छन् । पछिल्लो समय सामाजिक सञ्जालका भित्ताहरुलाई मात्र नियाल्ने हो भने पनि यो कुराको पुष्टि हुन्छ ।

त्यसो त सामाजिक सञ्जालको लोकपि्रयता चुलिनु अगावै यहाँ रहेका साहित्यिक व्यक्तित्वहरुले नेपाली साहित्यको जगेनार्थ विविध कार्यक्रमहरु गर्दै स्तरीय कृतिहरु पनि प्रकाशन नगरेरका होइनन् । रंगवादी कवि समदर्शी काँइला, कवि निमेष गिरी, गजलकार दलवीर सिंह बराइली ‘घायल’ लगायतका सर्जकहरुले आधा दशक अगाडि नै यहाँको साहित्यिक माहोललाई एउटा उचाइमा पुर्याएका थिए ।

समयक्रमसँगै त्यो सक्रियता र निरन्तरता ओरालो लाग्दै गएको बेला गजलकार जे सागरको प्रमुख संयोजनमा इनास युएईले प्रकाशन गरेको एक सय एकाउन्न जनाको संयुक्त गजल संग्रह ‘प्रवासका अक्षरहरु’को प्रकाशन, विमोचन र त्यसको लगत्तै आयोजना गरेको युएईव्यापी गजल प्रतियोगिताले सुस्ताएको युएईको साहित्यिक माहोलमा पुनः एकपटक तरंग पैदा गरेको थियो । त्यस पश्चात् सगरमाथा साहित्यिक मञ्चले प्रकाशन गरेको ‘अक्षरका फूलहरु’ कविता संग्रह र ‘प्रतिबिम्ब’ साहित्यिक संगालोको प्रकाशन पछि युएईको साहित्यिक गतिविधि ठप्प प्रायः भएको थियो ।

डेढ वर्षभन्दा बढी सुस्ताएको युएईको साहित्यिक आकाशमा पुनः एकपटक आशाका किरणहरु देखिन थालेका छन् ।

सर्जकहरु केवल सामाजिक सञ्जालमुखी मात्रै हुन थालेको, मेहफिलको आनन्द पाउन छोडिएको र प्रत्यक्ष भेटघाटबाट बढ्ने आत्मीयता केवल लाइक र कमेन्टको औपचारिकतामा सीमित रहेको आरोपहरुकाबीच युएईका सर्जकहरुले पुनः प्रत्यक्ष वाचनको अभ्यासलाई निरन्तरता दिएका छन् ३ जुन २०१६ बाट ।

शुक्रबारे छुट्टी अनि एक हूल साहित्यानुरागी व्यक्तित्वहरु एकै ठाउँमा जम्मा भएर साहित्यक ऐक्यबद्धता जाहेर गरे । उनीहरुले आआफ्ना रचना सुनाएका छन्, अरुका सुनेका छन् । प्रण गरेका छन् कि सुस्ताएको साहित्यिक गतिविधिलाई जीवन दिने ।

नेपाली गजल विधाका अग्रणी व्यक्तित्व टक गुरुङको अगुवाइमा पछिल्लो पुस्ताका सक्रिय साहित्यकर्मी जे सागर, सुरेश प्रसाद अर्याल कान्छो, प्रमोद निषाद, इन्धन डिबी भण्डारी, अमन एकल, राजीव जिसी संघर्षी, कृष्ण विश्वकर्मा, नवराज क्षितिज, अथाहमान सागर, टपन जीएम, ईश्वर च्याङ्बा, सेल्कर पाख्रिन तामाङ, किरण चापागाईं, लक्ष्मण कुँवर, ऋतु सन्धी, शिव चालिसे लगायतका सर्जकहरुले यस अभियानमा साथ र सक्रियता देखाएका छन् । पछिल्ला रचना सुनाएका छन् अरुका रचना सुनेका छन् ।

हरेक दुई महिनाको अन्तरालमा युएईका भिन्न भिन्न सहरमा आयोजना गरिने अवधारणामा सुरु भएको पहिलो शृफ्ला दुबई स्थित सिन्ध पन्जाव रेस्टुरेन्टमा सम्पन्न भएको हो । करिब २० जना सर्जक र सोही हाराहारीमा दर्शक तथा श्रोताहरुको उपस्थित रहेको कार्यक्रम पश्चात् सर्जकहरुमा उत्साहको सञ्चार भएको प्रस्टै देख्न सकिन्थ्यो ।

उक्त कार्यक्रममा वाचन भएका सिर्जनाहरुलाई उज्यालो नाइन्टी नेटवर्कको लोकपि्रय गजल कार्यक्रम ‘बुलबुलु’ मार्फत अडियो र लाइक नेपाल डटकम मार्फत भिडियो प्रसारण गरिने व्यवस्था गरिएको हुँदा सर्जकहरु थप उत्साहित देखिन्थे । साथै सर्जक नवराज क्षितिजले कालिका एफएम र रेडियो अन्नपूर्णबाट पनि कार्यक्रमको प्रशारण गर्ने व्यवस्था मिलाउने जानकारी दिएका थिए ।

सिर्जना वाचन पश्चात्ा् समकालीन नेपाली साहित्यको विशेषतः गजल विधामाथि छलफल गर्दै आगामी कार्यक्रम अगस्ट महिनाको पहिलो शुक्रबार सारजाहमा आयोजना गर्ने निर्णय सहित कार्यक्रम समापन गरिएको थियो । यो अभियानले यहाँ सुस्ताएको नेपाली साहित्यमा नयाँ आशाको सञ्चार गराएको गजलकार माइनसप्लस संग्रौलाले प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment