Comments Add Comment

दुनियाँ जाग्यो भने सम्भव छ ‘करोड पानी अभियान’

दाङका व्यक्तिले प्रवासबाट सुरु गरे घर-घरमा पानी पुर्‍याउने अभियान

समाजका लागि केहि गर्न धनि नै हुनुपर्छ भन्ने छैन । सामाजिक भावले काम गर्न चर्चित अनुहार नै हुनुपर्छ भन्ने पनि छैन । नेपालको दाङ स्थायी घर भई हाल पोल्याण्डमा बस्दै आएका मित्रलाल पार्दे आज यसैका सफल उदाहरण बनेका छन् ।

Mitra-Lal-Parde
मित्रलाल पार्दे

आफ्नो जन्मथलो दाङ जिल्लाको लक्ष्मीपुर सुनपुर आज पानीको अभावमा तड्पीरहेका बेला उनलाई प्रवासमा पनि पीडावोध भयो । त्यहिँ पीडालाई शक्तिमा बदल्दै उनले आफ्नो जन्म दिन फेब्रुअरी २९ लाई अवसर पारेर गाउँमा पानी पुर्‍याउने अभियान थालेका छन् । ‘हरेक घरमा धारा होस्, प्रत्येक गाउँमा सिचाईं होस्’ भन्ने उद्देश्यसहित उनले ‘करोड पानी अभियान’ थालेका छन् । अभियानका लागि उनले ५० हजार रुपैयाँ सहयोग गर्दै एक करोड सहयोगी हातको आशा राखेका छन् ।

उनको यो अभियानले धेरैको ध्यान खिचेको छ र मन छोएको छ । सरकारको मुख ताकेर बस्ने र सधैं आलोचना मात्र गरिने नेपाली समाजका माझ उनको अभियान पृथक र साहसले भरिएको देखिन्छ । अहिले प्रवास रहेका ५० लाख नेपालीहरुको मनलाई उनले सुरु गरेको अभियानले आकर्षित मात्रै गरेको छैन, प्रवासी नेपाली समाज भित्र छोटो समयमा नै व्यापकता पनि लिएको छ।

बाँच्नका लागि समय परिस्थितिसँगै बिदेशी भूमिमा संघर्ष गरेका तमान नेपालीहरुमध्येका एक हुन् मित्रलाल पार्दे । स्नाकोत्तरसम्म अध्ययन पूरा गरेर पनि आफ्नो सुनौलो भविश्यका लागि विदेशमा नै संघर्ष गरिरहेका छन् । कहिले डेनमार्कमा बियरका बोटलहरु टिपेर त कहिले पोल्याण्डमा भाडा मस्काएको उनको संघर्षको यात्रा रोकिएको छैन । कठिन परिस्थितिका बाबजुत पनि अझै मनमा ठूलो संकल्प छ, राष्ट्रको लागि अनि आफ्नो गाउँको परिवर्तनका लागि पनि ।

सायद आफ्नो वशको कुरा नहोला तर एक्लै निस्वार्थरुपले पानी अभावले तडि्पएको गाउँका लागि हरेक घरमा धारा र प्रत्येक गाउँमा सिंचाई पुर्‍याउने नाराले सबैलाई झस्काएको छ । आफ्नो गाउँ बनाउन एउटा युवा जाग्न सक्यो भने देश परिवर्तन गर्न कति नै समय लाग्ला र ? भनेर सबैलाई सोंच्न बाध्य गराएको छ । अरुलाई आलोचना र टिप्पणी गरेर सामाजिक सञ्जालमा हाबी हुनेलाई पनि सोच्न बाध्य गराएको छ यो अभियानले ।

Gunaraj-Sharma
गुणराज शर्मा

एउटा ब्यक्तिले यति ठूलो अभियान थालनी गर्दा पनि हामी युरोपबासी नेपालीहरु मौन बसेका छौं । गाउँमा धारो ल्याउन, सिचाईं सुविधा पुर्‍याउन, अभियानमा साथ दिन, दुई-चार युरो र डलर हामीले पनि सहयोग गरौंला भन्न अझै सकिरहेका छैनौं । एउटा ब्यक्तिले करोड रुपैयाँ खर्च गर्ने तागत त छैन नि ? यो सबै हामीले राम्रोसँग बुझेका पनि छौं तर बोल्न सकेका छैनौं । एउटा गाउँमा मर्दा पर्दा काजकर्म गर्दा करुवा लिएर अर्को गाउँबाट पानी ल्याउनु पर्ने बाध्यतालाई हामी नजरअन्दाज गर्न सक्तैनौं ।

मित्रलालको यो अभियानलाई आज हाम्रो सहयोगको खाँचो छ । गाउँमा पानी प्यासमा अत्यासिएका बुढा बा, आमा-छोरी चेली, गर्भवती, नानीबाबु सबै हाम्रै र आफ्नै  हुन् । त्यसैले हामी बोल्न जरुरी छ । हो जरुरी छ पोल्याण्डवाट, स्विजरल्याण्ड, बेलायत, स्पेन, पोर्चुगल, बेल्जियम सारा युरोप बोल्न जरुरी छ । अष्ट्रेलिया, अमेरिका, खाडी सबै बोल्न जरुरी छ । तबमात्र सार्थक पाउने छ, न्याय पाउने छ मित्रलालको, ‘करोड पानी अभियान’ले ।

मित्रलाल भन्छन्- ‘हामी गरिब छैनौं कसैले दिँदैमा समाज परिवर्तन हुँदैन । किनकि समाज परिवर्तनका लागि मन जाग्नुपर्छ । यसैमा आधारित बिचार गरिब भएर त दुनियाँ रोएको छ । कहिले अरुलाई गाली गर्‍यौं । कहिले देशलाई गाली गर्‍यौं । तर हाम्रो प्राण पानीलाई बेवास्ता गरेर मृगतृष्णामा भुल्यौं कि ? पानी अभियान न त गाउँसँग सम्बन्धित हो न त देशसँग सम्बन्धित । यो त दुनियासँग सम्बन्धित हो । पानी अभियानले लाखौं रुपैयाँ सहयोग गर्नेहरु पनि एकै हुन् । आत्मा दिनेहरु पनि एकै हुन् । सबैले दुनियाँमा तीर्खा मेट्ने पानी पाउनु पर्छ भन्ने सोंच राख्दछ । यो पानी अभियान आत्मा जगाएर बिकास सम्भव छ भन्ने सोचमा आधारित छ । पैसा नै सबैथोक हो भन्ने मान्यताको बिपरितसँग बिकास बोलेर होइन, आश गरेर होइन, हामी जुटेर सम्भव छ । अरुलाई  गाली गरेर होइन, म वा हामी केही गर्न सक्छौं भन्नाका खातिर हो ।’

फूल चढाउनेहरु पनि एकै हुन्
गाली गर्नेहरु पनि एकै हुन्
सबैले तिर्खा मेट्न पाउनु पर्छ ।
एकै चोटी पुरै विश्व सोच्न नसकिएला
तर दुनिया जाग्यो भने असम्भव छैन है ।

उनी थप्छन् ‘चन्द्रमाका कुरा गर्ने, स्वर्गका कुरा गर्ने हामीहरु एकपटक युगले जित्ने, कोहि हार्नु नपर्ने, कोहि मर्नु नपर्ने पानीका कुरा गरौं त दुनियाँ कस्तो बन्छ । पैसाले होइन, मन तातेर भएको समाज सेवा नै पबित्र हुन्छ । सपना सुतेर देख्ने होइन बिपनामा देखेर पुरा गर्ने हो । करोड जुटाउनु केहि धारा बनाउनु मात्र यसको उद्देश्य होइन यो त हरेक व्यक्तिहरुको मन भित्रबाट केहि गर्न सकिन्छ, हामीहरु कमजोर छैनौं जागेपछि जे पनि सम्भव छ ।’

यहि अभियानले नयाँ पुस्तालाई पनि प्रभाव पारेको छ । एसएलसी पि्रन्स २०१६ को दोस्रो चरणमा पुगेका एक प्रतियोगिको मन पनि छोएको छ । दाङबाट नै ती प्रतियोगी जेल्सन अधिकारीले उपाधि जितेको खण्डमा पानी अभियानका लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । प्रवासबाट चलाएको अभियानले देशमा नै रहेका जेल्सनको मनलाई छोइसक्यो । अब हामी पनि बोल्न जरुरी छ । अभियानलाई ठूलो साथ, समर्थन र सहयोगको खाँचो छ । यसका लागि अहिले आर्थिक सहयोग नै सबैभन्दा महत्वपूर्ण छ ।

पानी अभियानका लागि नेपाल बैंक लिमिटेड दाङ घोराहीको खाता नम्बर ०२७००१०६२०४१७३०००००१ मा रकम जम्मा गर्न सकिन्छ । आर्थिक अलवा तपाईको भावनात्मक सहयोग र सदभावले पनि केहि गर्छु भन्ने युवालाई उत्प्रेरणा जाग्ने थियो । अभियान्ता मित्रलाल पार्देलाई ००४८७२९५८९५३९ मा  सम्पर्क गरेर अभियानबारे चासो, सुझाव वा सहयोग पनि गर्न सक्नुहुन्छ ।

(शर्मा हाल स्वीजरल्याण्डमा छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment