Comments Add Comment

विगतमा हामीले गरेको बन्द ठीक, अहिलेको बेठीक

बन्द वार्ताः नवीना लामासँग

एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)की सभापति हुन् नवीना लामा । लामासित नेपाल बन्दका सन्दर्भमा अनलाइनखबरले गरेको कुराकानी:

Nabina Lamaआजको नेपाल बन्दमा के गर्नु भयो ?

विहान उठ्नासाथ पहिले त पत्रपत्रिका पढे । त्यसपछि एक छिन योगा गरेर साथीसित ‘च्याट’ मा कुरा गरे । त्यतिकैमा हाम्रा प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्र भण्डारीज्युको बुवा वित्नु भयो भन्ने दुखद समाचार सुने । उहाँलाई श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगे । त्यहाँबाट फर्केर पार्टी कार्यालयमा आएर सचिवालयको वैठकमा व्यस्त छु ।

बन्दमा हिँड्नु पर्‍यो कि परेन ?

धेरै ठाउँ जानु परेकाले भाईलाई बोलाएर उसैको बाइकमा डुलेँ ।

बन्दमा हिँड्नुपर्दा कत्तिको गाह्रो लाग्छ ?

बन्दको बेला आउजाउ गर्नुपर्दा स्वाभाविक ढङ्गले गाह्रो त भई नै हाल्छ । तर पनि काम गर्नै पर्‍यो । काम गर्न बाहिर जान परिहाल्यो ।

अरु बेलाको बन्दमा कसरी आउजाउ गर्नुहुन्थ्यो ?

पहिले मेरो आफ्नै स्कुटी थियो । त्यो हुँदा खासै गाह्रो पर्दैनथ्यो । फेरी आफैले गरेको बन्दमा त समस्या पनि हुँदैनथ्यो । अहिले अरुले गरेको बन्दमा आफ्नो काम भएकाले अलिकति समस्या भएको हो ।

बन्दकै कारण कुनै कार्यक्रम स्थगित गर्नुपरेको छ ?

बन्दकै कारण कयौं कार्यक्रम स्थगित भएका छन् । कति गरेर पनि सफल भएनन् । त्यसबाहेक सिन्धुपाल्चोक लगायत अन्य ठाउँ जाने कार्यक्रम पनि प्रशस्तै थिए । तर बन्दले गर्दा ती सबै स्थगित भए ।

बन्दका बेला भएका कुनै सम्झनलायक पल छ ?

सम्झन लायककै पल त खासै छैन । तर पनि एकपटक हामीले आफैले गरेको बन्दका क्रममा फर्कँदै गर्दा प्रहरीसित मुठभेड पर्‍यो । त्यसबेला मैले लगाएको जुत्तामध्ये एउटा कहाँ पुग्यो कहाँ । थाहै भएन । त्यसपछि एउटा जुत्ता लगाएर घर फर्कनु पर्‍यो ।

आजको बन्दलाई तपाई कसरी लिनुहुन्छ ?

बन्दलाई कसरी लिनेभन्दा पनि यो बन्द के का लागि गरिएको हो भन्ने कुरा महत्वपूर्ण हुन्छ । हिजो हामीले बन्द गर्दा ‘बन्द’ आवश्यक थियो । त्यसको औचित्य थियो । किनकी हिजो जनताको व्यवस्था थिएन । शासकवर्ग सर्वेसर्वा थिए । त्यसलाई बदल्नको लागि, विरोध जनाउन बन्दजस्ता कार्यक्रम अपरिहार्य भए ।

आज, त्यसका केही अवशेष बाँकी होलान् । तर बन्द गर्नैपर्ने आवश्यकता थिएन । यसले देशलाई अर्वौको नोक्सानी गराइरहेको छ । अझ भनौ, यस्ता कुराको लागि बन्द गर्नु हुँदैन भन्ने मेरो मान्यता हो ।

बन्दकर्तालाई के भन्न चाहनुहुन्छ ?

वार्ता, छलफल तथा संवादमार्फत पनि यो समस्याको सामाधान सहजै हुनसक्छ । बन्दले मात्र समस्याको समाधान हुदैन । देशको विकास, तथा समृद्धिको लागि संवाद आवश्यक छ । त्यसैले संवाद मार्फतै आउनुस् भन्न चाहन्छु ।

विशेषगरी एउटा निमुखा वर्गले अर्का निमुखा वर्गका लागि लडेरमात्र कतै पुग्न सकिँदैन । त्यसैले यस्ता खोक्रो राजनीतिलाई सुधार्न जरुरी छ । देश विकास र समृद्ध नेपालको लागि सबैजना एकजुट भएर, एक आपसमा सद्भाव कायम गरेर राष्ट्रिय एकताको लागि अगाडि बढ्नु नै अहिलेको आवश्यकता हो ।

कतिपयले बन्दले काठमाडौको प्रदुषण कम गर्न भूमिका खेल्यो पनि भन्छन् नि ?

यस्ता बन्दलाई काठमाडौको प्रदुषणसित जोड्नुमा कुनै तर्क छैन । बरु काठमाडौको प्रदुषणलाई व्यवस्थित गर्ने हो भने वैकल्पिक उपाय खोज्न जरुरी छ । पुराना गाडीहरुलाई हटाएर नयाँ मोडेलका गाडीहरु भित्र्याउन आवश्यक छ ।

त्यसैगरी कस्ता सवारीलाई कुन रुटमा चलाउने भन्ने विस्तृत गृहकार्य हुन जरुरी छ । त्यस्तै सवारी नियमलाई कडाईका साथ पालना गराउनु पर्‍यो । कर प्रणालीमा विशेष निति ल्याउनु पर्‍यो । त्यसैगरी ‘स्मार्ट सिटी’को अवधारणालाई आत्मसात गरी देश विकास गर्न सकेमात्र दिर्घकालीन रुपमा यो समस्याको समाधान हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment