Comments Add Comment

म्यादी ओली युगको निरन्तरता: नयाँ संकटको शिलान्यास

KP Oli

तीसको दशकमा तत्कालीन मालेले सुरु गरेको वर्गदुश्मन सफाया आन्दोलनको रक्तरञ्जित लाल क्रान्तिको पृष्ठभूमिबाट उठेर, लडेर बर्ष ०७२ मा सिंहदरबारको नायक बन्न पुग्दा नेपालमा केपी ओली युगको उदय भो भन्दै जनताले दीपावली गरेकै हुन् ।

जनताले अब ओलीले केही गर्लान् कि भनेर आशा र विश्वासको झोली थापेकै हुन् । तर, जनअपेक्षा एकातिर छ, ओलीको सत्ता अर्कातिर दौडिइरह्यो सपनाको खेती गर्दै पुरानै समस्याहरुको पहाड घुम्नतिर । एक वर्ष पनि नभई ओलीको सत्ता परीक्षा गरिनु हुन्न भन्ने मतलाई सम्मान गर्दागर्दै पनि भन्न करै लाग्छ, ओली सिंहदरवारका जुन जोगी आए नि कानै चिरेका भनिने प्रधानमन्त्रीहरुको सूचिका नयाँ अनुहार मात्रै हुन् ।

अघिल्ला सरकार प्रमुखहरुको तुलनामा उनले भारी वर्षा गराए सपना, आशा र रहरहरुको । मरुभुमिको उन्नत वनस्पति सिउँडी भएजस्तै हुन् ओलीका विकासे सपना । किनभने कार्यकारी सरकार प्रमुखले परिवर्तनका लागि गर्ने काम हो । त्यो पनि हिन्दूस्तानी रजतपटको चलचित्र नायकमा हिरोले गरेजस्तो ।

खै त्यस्तो के चमत्कार गरे वा गर्ने संकेत छ त ओलीको ? भाषण बाहेक । नयाँ नेपालको विकासे नक्शा हास्य कलाकार मनोज गजुरेलले धेरै वर्ष अघि नै बनाका थिए, रोचक ढंगले । ओलीले गजुरेलको क्यारिकेचर गरेर सुख पाउँदैनन् । किनकि उनी कार्यकारी प्रधानमन्त्री हुन् । सपना जनता आ-आफ्ना हैसियतमा देख्छन् । मुकेन्देले रत्नपार्कतिर, अनि ओलीले सिंहदरबारमा । फरक यत्ति हो ।

संविधानपछिका कार्यकारी सरकारप्रमुख उनले दिए के त जनतालाई ? बिहानले दिनको संकेत गर्छ भनेर उनको पौने एकवर्षे कार्यकाललाई हेर्ने हो भने भन्न करै लाग्छ, ओली पनि उही डयांगका मूलासरह भएजस्ता यसअघिका ३७ थान प्रधानमन्त्रीरुपी अनुहार थिए । पाए के त जनताले जीवन-दैनिकीमा ? जनताको जनजीविकाको स्तरमा ओली सत्तारोहणपछिको मूलभूत फरक के हो त ?

अहिले ओलीको सपनाखेतीका प्रशंकहरु थरीथरीका छन् । ‘आई एम वीथ केपी ओली’ भन्ने सामाजिक सञ्जालको क्याम्पेन होस् वा वौद्धिक जगतको एक हिस्साले गरेको समर्थन, धरातलीय यथार्थ भन्दा भिन्न छन् । कारण, कुरा भएका छन् हजार, काम भएका छन् शून्य ।

कुरा जस्ता काम देखाउन डा. बाबुराम भट्टराईले नि खोजेका थिए बाटो विस्तारमा । केशव स्थापितले पनि उपत्यकाको मुहार फेरेकै  हुन् । ओलीले कम्तिमा तिनको पदचाप पनि पछ्याएका छैनन् भाषणबाहेक व्यवहारमा । छन् भने देखाउनुस समर्थकहरुले ? जनता ताली पिट्न तयार छन् ।

आफूलाई मौसमी राष्ट्रवादी प्रमाणित गरेका एमालेका अध्यक्ष ओली नेतृत्वको बदमासीहरुको ऐना कुरौटे सत्ता हो । ओलीले भारतलाई गर्ने गालीमा ताली ठोकेर राष्ट्रवादको मसिहा ठान्ने वर्गका वाहीवाहीले देश कहीँ पुग्दैन

ओली गुटका नेता ज्यादा हुन्, पार्टीका भन्दा । त्यसैले भूइँफुट्टादेखि अवसरवादी विज्ञ र विद्वानहरु खाईपाई आएका वा खाईपाईको आशामा रमाउनेहरु उनका स्वतः प्रशंशक हुन् । सामाजिक सञ्जालमा क्रान्ति गर्ने र विदेशिएका वा दिनभर गफमा अनि राति मन्दिरमा जुनी बिताउने नवधनाढ्यहरु पनि उनका ठूलै समर्थक हुन्, जो गरीखाने वर्गका जनतासँग साक्षात्कार गर्दैनन् ।

बाँकी हिजोका दिनमा कुनै पनि प्रधानमन्त्रीहरुले सिनको नभाचेकाले निराश बनेको वर्ग ओलीलाई मरुभूमिको सिउँडी सम्झेर प्रशंशा गर्छ । यो गलत हैन, तर व्यवहारिक र यथार्थपरक पनि छैन ।

हो, राष्ट्रवादको मुकुण्डो भिरेर प्रधानमन्त्री बनेका ओलीसँग चुनौती र सम्भावनाहरु दुवै थिए । यो भन्दा पहिला विभिन्न सरकारहरुले आफ्नो दलको स्वार्थका लागि गरेका सम्झौताहरुको पुनरावलोकन र खारेजीको प्रक्रिया अघि बढाउन अन्यलाई भन्दा केपी ओलीलाई सजिलो हुन्थ्यो, किनकि जनता अहिले स्वाभिमानका लागि भोकै बस्न पनि तयार थिए । तर, यो सबै हुन सकेन, चीन कार्ड फ्याँकेर हत्तु परेका ओली भारतले भ्रमणमा बोलाइदिने वित्तिकै उनले राष्ट्रियताको परिभाषा नै बदलिदिएर मोदीसँग गला मिलाएकै हुन् । तर, पनि मोदीसँग न दिल मिलेको छ, न सिंङ थाप्नै सकेका छन् । यो त झन खतरनाक स्थिति हैन र ?

आफूलाई मौसमी राष्ट्रवादी प्रमाणित गरेका एमालेका अध्यक्ष ओली नेतृत्वको बदमासीहरुको ऐना कुरौटे सत्ता हो । ओलीले भारतलाई गर्ने गालीमा ताली ठोकेर राष्ट्रवादको मसिहा ठान्ने वर्गका वाहीवाहीले देश कहीँ पुग्दैन ।

ओलीले भारत विरोधी अडान लिएकोमा प्रशंसा गर्नेहरुले या त ओलीलाई भन्नुपर्छ, कि झुकाउ, कि सहमत गराउ, कि बेकारको दुश्मनी नगर हिन्दुस्तानसँग । ओलीका फ्यानहरुले दिनुपर्छ जवाफ कि के खराब भारतको विकल्प असल भारत हो कि रिसाएको भारतविरुद्ध चीन हो त ? ओलीको विदेश मामलाको परफमेन्स भनेको राजा महेन्ऽको कार्यकालपछि नेपालको फरेन पोलिसीमा ठूलो टर्निङ प्वाइन्ट हो भनिन्छ । के उसोभए राजा महेन्द्रका पालामा यसैगरी नेपाल-भारतवीच यसप्रकारको तित्ततापूर्ण सम्वन्ध थियो त ? महेन्द्रले विकास पनि एकैसाथ गरेका थिए । ओलीले गरेका विकास के-के हुन् त ? यो भारत विरुद्धको ओली दुस्साहस पो हो कि ? हामी भारतलाई धारेहात लाउछौं । तर, भारतको आडभरोसामा यहाँ मधेस बोक्छ विद्रोहको मसाल, गोली थाप्छन् मधेसी सन्तान । अनि हामीले ओलीको बोलीमा लोली मिलाएर भारत मूर्दावाद भन्दैमा राष्ट्रियता बलियो हुन्छ त ? जपान,  युरोपियन युनियनजस्ता अन्र्तराष्ट्रिय मञ्चबाट नेपाल मामलामा भएका मोदी आलोचना वा भारतीय धावा ओलीसत्ताका कुटनीतिक विफलताका उदाहरण मात्रै नभई खतरनाक संकेत पनि हैन र ?

नेपालले आफ्ना कुरामा यो स्तरको विदेशी विरोधाभाष र आलोचना सहनु भनेको भारतसँग होक्काँ गर्दा ओलीले कुटनीतिक चार्तुय र योग्यता देखाउन नसकेको चाहिँ सावित हुन्न कि ?

संविधान निर्माणमा निर्णायकमध्ये एक रहेका ओलीले संविधान निर्माता सहयात्रीहरुसँगै सहयात्रा गर्न नसक्नु पनि उनको मुख्य कमजोरी हो । कांग्रेस वा मधेसी मोर्चा र अन्य वर्गको समन्वयविना खै कसरी लागू भैरा’छ त संविधान ? कति कानुन संसोधन भए ? मंसिरको चुनाव देखाउने दाँत मात्रै हैन भने कति भैरा’छ तयारी ? संविधानको स्वीकार्यता र कार्यान्वयनमा भएको विवादले चाहिँ कता लाँदैछ त देशलाई ?

के जताबाट परिचालित भए पनि ती मधेसी मोर्चा र जनजातिहरुलाई सधैं आन्दोलनका नाममा सडकको कहिल्यै नसुक्ने बिस्कुन बनाइरहन मिल्छ र ? ओली त सत्ता हुन्, राज्य हुन्, उनको राजीनामा माग्नेका पनि नेता हुन् । तर, उनले कुनस्तरको तुच्छता प्रर्दशन गरिराछन, बिद्रोही मधेशी, असंतुष्ट जनजातीप्रति ? अनि त्यो नबोल्ने संविधान समस्या भयो कि समाधान ? भारतलाई नै संविधानबारे रिझाउन ओलीले भन्ने त हैन, तर मधेसी र जनजाति त खाट्टी नेपाली नै हुन् नि हैन्न र ?

surya-khadka
सूर्य खड्का

सीमांकन, समानुपातिक प्रतिनिधित्व, नागरिकताजस्ता मुद्दाहरु देखाउने दाँत नै हुन् भने पनि तिनलाई वारपार नगरी सडकका आन्दोलनकारीलाई गाली गरेर संविधान कार्यान्वयनको ध्वंशमात्रै छाड्नु त निर्विकल्प पञ्चायत भने जस्तै हैन र ?

भनिन्छ-एक्सन स्पिक्स लाउडर देन वर्डस् । ओलीको भिजनरी भाषणलेे सियो उद्योग, कति खुले वा खुल्ने चरणमा पुगे त ? राष्ट्रनिर्माणको जग जनताको दैनिकीमा आउने परिवर्तनबाट सुरु हुन्छ न कि दिनैपिच्छेका काल्पनिक योजनाहरुको फेहरिस्तबाट । ओलीबाट भारत र चीनसँगको सम्बन्धलाई सन्तुलनमा ल्याउने काम भएको छ भन्ने राष्ट्रवादीहरुको बुझाइ आत्मरती मात्रै किन हो भने चीन सधैं नेपाल भारतवीच असल सम्वन्धको याचना गर्छ । भारतसँग निहुँ खोज्ने नेपाललाई चीनले साथ दिने कुरो आफैमा गलत बुझाइ हो । फरक के मात्रै हो भने भारतले ओलीबाट केही सम्झौता गरिलिने योजनै नराखेका कारण राष्ट्रघाती सम्झौता गर्ने ऐतिहासिक मौका ओलीले नपाउँदा उल्टो देशभक्त बन्ने सुविधा उनले पाका छन् । यो जनताका लागि उपलब्धि हैन, उपहास मात्रै हो । जहाँसम्म चिनियाँ सहयोगको कुरा छ, चीनले ओलीको स्थानमा विश्वेन्द्र पासवान प्रधानमन्त्रीको हैसियतमा बेइजिङ गएका भए नि यही गर्दथ्यो नि । उसको नीति अनुसार गर्दैन्थ्यो र ?

चीनसँग गरिएको पारवहन सम्झौता र पेट्रोलियन आयातसम्वन्धी समझदारी नेपालका अभूतपूर्व उपलब्धि हुन् । तर, ती नगदी नभै उधारा पनि त हुन् । ती सम्झौता कागजी खोस्टा नहोलान् भन्ने के ग्यारेन्टी ? नेपालले भारतमुखी अर्थतन्त्रबाट सुधारिएको अवस्था सिर्जना गर्ने कि सर्लक्क दक्षिणबाट उत्तर सिफ्ट गर्ने ? त्यसैले ओलीको विदेश नीति बहुआयामिक र दुरगामी भन्दा ज्यादा भड्खालोमा जाकिनेउन्मुख देखिएको त सच्चाइ हो । धरातलीय यथार्थ हो । बिग्रँदा पनि ठूलो भारतको थोरै होला स्यानो नेपालको त हानी धेरै होला नि ।

राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण रद्द गराएर ओलीले आत्मरति लिएको कुरोमा दुईमत छैन । तर, उनले यसबाट दुश्मनीउन्मूख छिमेक सम्वन्धको आगोमा घिऊ थपेर घाटा हामीलाई धेरै भो कि हिन्दुस्तानलाई ? असल नेतृत्वले विमतिका वीच मित्रताको नयाँ आयाम बनाउने कि आत्मरतिका लागि राज्यस्तरीय आउजाउमा पूर्णविराम लाउने त ?

भारतीय राजदूत फिर्ताको घटना त निवर्तमान महामहिम दीपकुमार उपाध्यायका लागि बीउ अनुसारको फल नै हो । एक वर्षमा जम्मा २ पटक मोदी दर्शन गरें भन्दै उपाध्यायले नै आफ्नो धोती खुस्काएकै छन् । तर, ठाऊँ खाली गर्नेले पूर्ति गर्न नसक्नु चाहिँ ओली असफलता हैन त ?

भारतीय राजदूत रञ्जित रेले बोलाउँदा वा भेट्न चाहँदा ओलीले कत्ति छिटो खुट्टा उचाल्छन् ? लोक साक्षी छ, उनका प्रभु अहिले पनि रञ्जित रे हुन्, रे बिनाका मञ्चमा भारतविरुद्ध जत्ति नै ठूला कुरा गरे पनि । मोदीले धाप मारेका दिन ओलीको राष्ट्रवादी अडान छेपाराको रंग हुने पक्का हो ।

प्रधानमन्त्री भएको दिनदेखि ओलीका अभिव्यक्तिमा सपना, महत्वाकांक्षा, शिवाय के छन् त ? यथार्थको धरातलमा भए के-के त ? उनले कुन-कुन देशमा गरे राजदूतको नियुक्ति ? संसदीय सुनुवाइ समितिको अपूर्णता वा त्यसले न्यायालय, कटुनीतिक नियोग, चुनाव आयोग जस्ता संवैधानिक निकायमा पारेको असर नै हुन् त ओलीसत्ताका सुशासनका सूचक ? भूकम्पपीडितको रोदन, आँशु र पीडालाई अपवाद नै मान्ने हो भने पनि ओलीले जनजनका घरमा के-के दिए त सहुलियत र राहत ? महंगी अरुका पालामा पनि बढ्थ्यो, कालाबजारी पहिले पनि हुन्थ्यो, मैले राम्रो बजेट ल्याइदिएँ भनेकै भरमा सुशासनका पर्याय भए त ओली ?

विगत ०४६ को संयुक्त जनआन्दोलनका कमाण्डर गणेशमान सिंहकै शब्दमा काठमाण्डौंका जनता भेडा हुन् । जनआन्दोलनका कमाण्डरका पत्नी मंगलादेवी र पुत्र प्रकाशमान सिंहलाई ०४८ को चुनावमा हराइदिने जनतालाई गणेशमानले दिएको यो रुखो उपमा ओलीसत्ताका समर्थकहरुका लागि मेल किन खान्छ भने जनता यहाँ सपनाको व्यापार गर्ने ओलीका ग्राहक मात्रै बनेका छन् ।

एकसिटे मन्त्रीको ४ दर्जन लर्को, जथाभावीका राजनीतिक नियुक्ति वा  ओली इत्तरका एमालेहरुसम्मलाई लगभग दूर बनेको सिंहदरवार वा बालुवाटारका मुखियाले अब काम गरेर उदाहरण देखाएनन् भने उनलाई म्यादी अवधि पार गरे पनि हाईहाई हैन, वाईवाई पो भन्नु पर्ने हो कि ?

म्यादी ओली युगको निरन्तरता नयाँ संकट शिलान्यासको प्रतिक्षा हैन भनेर कसैले प्रमाणित गर्न सक्छ ? यस अर्थमा देश र जनताको वृहत्तर हित हेर्नेहरुले भन्नुपर्छ- ‘आई एम नट् वीथ केपी ओली’

संसारले भ्रममा बस्नु पर्दैन, ओली खाँटी भारतीय रुचिका नेपाली एमाले हुन् । उनले संविधान संशोधन गर्दा कमल थापालाई दिल्ली पठाएर चारबुँदेमा दिल्लीको समर्थन जुटाएकै हुन् । उनको राष्ट्रवादी मुकुण्डो त्यही बेला उदांगिएको हो । इतिहासमा पनि उनले भारतलाई दाहिना राखेरै आफूलाई शक्तिमा पुर्‍याएका हुन् ।

पत्रकार सुधीर शर्माको किताब प्रयोगशालामा लेखिएको छ, पहिलो संविधानसभाको विघटनका एकाध घण्टा अघि एभरेष्ट होटलमा रअका मान्छे भेट्ने उनै केपी ओली थिए । त्यसपछि संविधान सभै विघटन भाथ्यो बिना संविधान लेखन । अब अहिले उनी कसरी रातारात घोर भारतविरोधी वा खाँटी राष्ट्रवादी त ? कुरो के मात्रै हो भने उनको संवन्ध मोदीसत्तासँग मात्रै सुमधुर बन्न सकेन । बाँकी हिन्दूस्तानी मित्र उनका उस्तै छन् र झन बढी सक्रिय पनि ।

ओलीको राष्ट्रघातको प्रमाण महाकाली सन्धीको पानामा अझैं ज्यूँदै छ । बराबरीको सिद्धान्तमा आधारित भनिएको महाकाली सन्धी ०५३ असोज ४ गते संसदबाट अकस्मात दुई तिहाइभन्दा बढी पारित गराउने खुल्ला मोर्चाका नायक ओलीले महाकाली सन्धीको उपलब्धी के दिए त ? जनताको पोल्टामा देशको ढुकुटीमा कति खर्ब आयो त ओलीको बोलीजस्तै ? नेपाललाई वाषिर्क १ खर्ब २१ अर्ब रुपैयाँ लाभ हासिल हुने ओली दाबीलाई अहिले कार्यान्वयन गरेर देखाइ दिए भो नि त ।

हिन्दुस्तानलाई सीमाना नदीमा बराबरीको सिद्धान्त स्वीकार गराएर कोशी र गण्डकीको तीतो इतिहासलाई मेट्ने भनिएको महाकालीमा के मारिएको थिएन देश हित ? खै महाकालीका प्रवक्ताले प्रधानमन्त्री हुँदाचाहिँ के कार्यान्वयन गरे ? अरुण तेस्रो एमालेको अल्पमतको सरकार भएका बेला मृत्युवरण हुँदा केपी ओली नै थिए जल्दाबल्दा एमाले ।  अरुण तेस्रोको हत्या गरेर अहिले देशमा दुई वर्षभित्र बिजुली जाने अवस्थाको अन्त गर्छु भनेका कुरा कति हावादारी, कति यथार्थपरक छन् ?

ओली सरकारमा आएपछि राष्ट्रिय गौरवका कति आयोजनालाई बिजुली गतिमा सम्पन्न गराइराखेका छन् त ? सुनाउन सक्छन् प्रगति विवरण ? त्यतिबेला अरुण तेस्रो बनेको भए आजको नेपाल यस्तै अँध्यारोमा हुन्थ्यो त ? जवाफ दिनुपर्ने ओलीहरुले हैन ?

खासमा ओलीसत्ता जनताले कुनै पनि एक दललाई प्रष्ट बहुमत नदिएर मिलिजुली संसद बनाउने अविवेकी जनमतको जगमा कांग्रेसको असफल सत्तानीतिको उपज हो । यो सत्ता देशको बोझ हो, असफल प्रचण्ड कांग्रेस सत्तापलटपछिको म्यादी सरकार नै हो यो ।

इमानको जगमा राजनीति नगर्ने ओलीका लागि सत्ता-आयु राष्ट्रिय सहमति कांग्रेस वा प्रचण्डले आफू नेतृत्वमा जुटाउन नसकुञ्जेल सहजै नै रहला पनि । तर, जति ओली नयाँ महाराजाको शैलीमा सत्तामा रहनेछन्, उनले मधेस, जनजाति, भारत र जनतालाई बेबकुफ बनाइरहन्छन्, अनि नयाँ संकटको जग बलियो बनाउँदै लानेछन् ।

म्यादी ओली युगको निरन्तरता नयाँ संकट शिलान्यासको प्रतिक्षा हैन भनेर कसैले प्रमाणित गर्न सक्छ ? यस अर्थमा देश र जनताको वृहत्तर हित हेर्नेहरुले भन्नुपर्छ- ‘आई एम नट् वीथ केपी ओली’ । हैन र ? कि कसो त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment