Comments Add Comment

वर्षैभरी वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने तयारी

Golf-country, Baideshik Rojgari
२९ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्षको अन्त्यतिर मात्रै निष्काशन गर्दै आएको बैदेशिक रोजगार बचतपत्र आगामी वर्षदेखि भने वर्षैभरी निष्काशन गर्ने भएको छ ।

बैदेशिक रोजगारीमा रहेकाहरुले वर्षैभरी निष्काशन गर्न माग गरेपछि सरकारले त्यस्तो तयारी भइरहेको नेपाल राष्ट्र बैंकका राष्ट्र ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक डा. मिनबहादुर श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

‘राष्ट्र बैंकले जारी गरेको बचतपत्र किन उल्लेख्य बिक्री भएन भनेर हामीले अध्ययन गर्‍यौं, सो क्रममा वैदेशिक राजगारीमा रहेकाहरुले वर्षैभरी निष्काशन गर्न सुझाए’ श्रष्ठले भने- ‘उनीहरुको सुझाब अनुसार नै आगामी आर्थिक वर्षदेखि वर्षैभरी बचतपत्र निष्काशन गर्न लागिएको हो ।’

सरकारको नाममा राष्ट्र बैंक उठाउने विभिन्न प्रकारका ऋणहरुमध्ये बैदेशिक रोजगार एक हो । यसको सम्पूर्ण व्यवस्थापन राष्ट्र बैंकले नै गर्ने भएकाले राष्ट्र बैंकको सुझाबअनुसार नै सरकारले काम गर्नेमा श्रेष्ठ विश्वस्त छन् । राष्ट्र बैंक नेपाल सरकारो सल्लाहकार पनि हो ।

सरकारले वैदेशिक रोजगारीमा रहेकाहरुलाई लक्षित गरेर विगत ७ वर्षदेखि हालसम्म १० पटक बैदेशिक रोजगार बचतपत्र निष्काशन गरिसकेको छ । यस अवधिमा बिक्री भएको बचतपत्रको वृद्धिदर उल्लेख्य भएपनि सरकारी लक्ष्यभन्दा ज्यादै न्यून भएको श्रेष्ठले बताए ।
‘वैदेशिक रोजगार बचतपत्रको बिक्रीमा उल्लेख्य सुधार भइरहेको छ’ उनले भने- ‘तर, यो सरकारी लक्ष्यको ज्यादै न्यून हो ।’

राष्ट्र बैंकले २०६७ असारमा निष्काशन गरेको बचतपत्रमा कूल निष्काशनको ०.४० प्रतिशतमात्रै विक्री भएको थियो । सो वर्ष १ अर्ब निष्काशन गरेकोमा जम्मा ४० लाख रुपैयाको बचतपत्रमात्रै बिक्री भएको थियो ।

त्यस्तै, ०६८ असारमा ५ अर्व रुपैयाको बचतपत्र निष्काशन गरेकोमा ३३ लाख ८० हजार रुपैयाको मात्रै बिक्री भएको थियो । त्यो कूल निष्काशित बचतपत्रको ०.७ प्रतिशतमात्रै हो ।

त्यसैगरी, ०६९ असारमा १ अर्ब रुपैयाको बचतपत्र निष्काशन गर्दा ८६ लाख ६० हजार रुपैयाको मात्रै बिक्री भयो । यो कुल निष्काशित बचतपत्रको ०.८७ प्रतिशत हो ।

त्यस्तै, ०७० असारमा २५ करोडको बचतपत्र निष्काशन गर्दा ४ करोड २८ लाख रुपैयाको बिक्री भएको थियो । जुन कुल निष्काशित रकमको ४.२९ प्रतिशत हो । सोही वर्ष पुसमा राष्ट्र बैंकले फेरि २५ करोडको बचतपत्र निष्काशन गर्‍यो । त्यसबेला २ करोड ६४ लाख रुपैयाको बचतपत्र बिक्यो । जुन कुल निष्कानको १०.५६ प्रतिशत हो । ०७० को असारमा राष्ट्र बैंकले फेरि २५ करोडको बचतपत्र निकाल्यो । त्यसबेला ५ करोडको बिक्यो । जुन बिक्री कुल निष्काशनको २० प्रतिशत हो ।

०७१ सालमा सरकारले वैदशिक रोजगार बचतपत्र जारी गरेन । तर, ०७२ असार, ०७३ बैशाख र ०७३ वैशाखमा निष्काशन गरिएका २५/२५ करोडका बचतपत्रमा ८/८ करोडको बिक्री भएको छ । जुन कुल निष्काशनको ३२ प्रतिशत हो ।

‘हालसम्म ९ अर्ब ५८ करोड रुपैयाको बचतपत्र निष्काशन गरेकोमा हालसम्म ३८ करोड ११ लाख १० हजार रुपैया बिक्री भएको छ,’ कार्यकारी निर्देशक श्रेष्ठले भने ।

बैदेशिक रोजगार बचतपत्र निष्काशनका सन्दर्भमा प्रगतिशील नीति अबलम्बन गर्न नसकेकाले सरकारी लक्ष्य पुरा हुन नसकेको उनको भनाई थियो । त्यसैले रोजगारपत्रलाई व्यवहारिक बनाउन कार्यविधिमा केही सहजता र पटकपटक गरी वर्षैभरी बचतपत्र निष्काशन गर्न लागिएको श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment