Comments Add Comment

जनआन्दोलनका घाइतेलाई पक्षपातः सिन्धुलाई १६ लाख, गोपाललाई रित्तो हात !

३० जेठ, काठमाडौं । सरकारले जनआन्दोलनकी घाइते सिन्धु उप्रेतीको उपचारका लागि १६ लाख ५६ हजार रुपैयाँ दिने निर्णय गरेको छ । २०६३ साल बैशाख ६ गते झापामा राजतन्त्र विरुद्धको जनआन्दोलनमा सहभागि भइरहँदा उप्रेतीको दाहिने हातको कुहिनोमा गोली लागेको थियो ।

Gopal_Shrestha_Jhapa
गोपाल श्रेष्ठ

तर त्यही दिन देब्रे खुट्टाको तिघ्रामा गोली लागेका झापाकै धुलाबारीका गोपाल श्रेष्ठ भने उपचार अभावमा पाकेको घाउ बोकेर बसिरहेका छन् । आफू झापाकै सबैभन्दा गम्भीर घाइते भएको दावी गर्ने गोपालले सरकारबाट अहिलेसम्म २५ हजार रुपैयाँ मात्र पाएको बताए ।

त्यो दिनको घटना सम्झदै श्रेष्ठ भन्छन्, ‘नारा लगाउँदै जुलुस चन्द्रगढीमा रहेको महेन्द्रको शालिकतर्फ जाँदै थियो, म पनि त्यही भीडमा नारा लगाइरहेको थिएँ । शालीक नजिकै पुग्न लाग्दा रंगशालाभित्रबाट एक्कासी गोली चल्यो । भागदौड मच्चियो । भाग्दाभाग्दै मेरो देब्रे खुट्टामा गोली लाग्यो ।’

उनलाई एउटा मात्र गोली लागेको हो, तर तिघ्राको हड्डी काम नलाग्ने गरी टुक्रिएको थियो । उनको २ वर्षसम्म धरान अस्पतालमा उपचार भयो । धरान अस्पतालले थप उपचारका लागि विदेश जानुपर्छ भनेको थियो । गोपाल भन्छन्, ‘तर त्यसपछि मलाई न सरकारले खोज्यो, न झापाका राजनीतिक दलका नेताले ।’

उनी अहिले बल्लतल्ल घरमा भित्र-बाहिर गर्न सक्ने भएका छन् । तर घरबाट बाहिर जान सक्दैनन् ।

गोपालले सिन्धु उप्रेतीलाई धरान अस्पतालमा उपचारका क्रममा चिनेका हुन् । उनी सम्झन्छन्, ‘अस्पतालमा हुँदा उहाँ मेरो हात राम्रोसँग चल्ने बनाइदिनु पर्छ भन्नुहुन्थ्यो । एक हप्तापछि उहाँ (सिन्धु)लाई थप उपचारका लागि दिल्ली लगियो ।’

तर गोपालले त्यस्तो अवसर पाएनन् । दुई बर्षसम्म धरान अस्पताल बसे र निको नभइ फर्किए । ‘मेरो अझै अपरेसन गर्नुपर्ने अवस्था छ, तर पैसा नभएर गर्न सकेको छैन,’ गोपालले प्रश्न गरे, ‘उसले (सिन्धुले) बाहेक जनआन्दोलनका घाइतेले उपचार नपाउने रहेछ ?’

धरानमा उपचार हुन नसकेपछि उनले एकपटक झापा क्षेत्र नम्बर २ का कांग्रेस सभासद सुधिर सिवाकोटीलाई भेटेर गुनासो गरेका थिए । सिवाकोटी जनआन्दोलन समितिका संयोजक थिए ।

‘मैले गुनासो त गरें तर सुनेनन् हजुर !’ श्रेष्ठ दुखेसो पोख्छन् ।

उनी भन्छन्, ‘मैले जानेसम्म झापामा जनआन्दोलनमा गम्भिर घाइते हुने म मात्रै हुँ । अरु घाइते भएकाहरु हिँडडुल गर्न सक्छन्, गरिखान सक्छन् । तर म हिँडडुल गर्न पनि सक्दिन । र पनि सरकारले हेरेन ।’

श्रेष्ठका परिवारमा ७५ वर्षकी आमा, श्रीमती र एक छोरा छन् । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा जनआन्दोलनका घाइतेलाई एक लाख रुपैयाँ दिने घोषणा गरेका थिए । तर उनले २५ हजार रुपैयाँ मात्र पाए ।

उनले गुनासो गरे, ‘यहीँ झापामा अरुले एक लाखसम्म पाएछन् । सरकारको सुविधा त बोल्ने मान्छेले मात्र पाउने हो की जस्तो लाग्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment