Comments Add Comment

विदेशको कमाइ अब सञ्चय कोषमा बचत ! कोरियाबाट सुरु गर्ने तयारी

Money transfer remittance
३० जेठ, काठमाडौं । नेपालीहरुले खाडीको चर्को घाममा काम गरेर घर पठाएको पैसा घरायसी र विलासिताका समान खरिदमा धेरै खर्च हुने गरेको छ । दुःख गएर कमाएको पैसा उपभोगमै सकिएपछि विदेशबाट फर्किदा पनि धेरैको अवस्था जहाँको त्यहीँ हुने गरेको छ ।

यसैलाई ध्यान दिएर सरकारी स्वामित्वको कर्मचारी सञ्चय कोषले विदेशमा कमाएको पैसा बचत गराउने तयारी थालेको छ । यसका लागि संसदमा कर्मचारी संचय कोष ऐन-२०१९ को संशोधन विधेयक दर्ता भइसकेको छ र, कोषले विदेशमा रहेका कामदारले कामएको निश्चित रकम कोषमा जम्मा गर्ने गरी अध्ययन अघि बढाएको छ ।

कोरियाबाट सुरुवात

पहिलो चरणमा कोरिया गएका कामदारको रकम कोषअन्तरगत जम्मा गर्नेबारे छलफल अघि बढेको छ । कोषका प्रमुख प्रशासक कृष्णप्रसाद आचार्यले अनलाइनखबरसँग भने, ‘कुन मोडालिटीमा विदेश गएका कामदारलाई कोष अन्तरगत समेट्न सकिन्छ भन्नेबारे अध्ययन गरिरहेका छौं । पहिलो चरणमा कोरिया गएका कामदारबाट कोषले नयाँ कामको सुरुवात गर्न सक्ने देखिएको छ ।’

korean eps line (25)संशोधन विधेयक पास भए लगत्तै विदेश जाने कामदारको रकम पनि जम्मा गर्न बाटो खोल्ने भएकाले त्यसको सुरुवात गरिहाल्न कोरियालाई रोजिएको कोषले बताएको छ ।

यसका लागि कोरियाको नेशनल पेन्सन काउन्सिल (एनपीसी)सँग समन्वय गर्ने तयारी छ, जसले कोरियामा कामदारको सामाजिक सुरक्षा हेर्छ । त्यसैको सहयोगमा नेपालबाट कोरिया जाने कामदारलाई बचतमा उत्प्रेरित गर्दै कोष अन्तरगत समेट्ने योजना छ ।

इपीएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोला बचत भएको रकम सुरक्षित राख्ने र पछि लाभ हुने गरी फिर्ता गर्ने ग्यारेन्टी भए यसमा आफूहरु सकारात्मक रहेको बताउँछन् । ‘हामीसँग प्रारम्भिक चरणमा कुरा भएको छ । हामीले आफ्नो धारणा राखिसकेका छौं,’ वास्तोलाले अनलाइनखबरसँग भने-‘यसको सुरुवात हुनसके कामदार र उसको परिवारलाई मात्रै होइन राज्यलाई पनि फाइदा हुन्छ ।’

पहिलो चरणमा कोरियाबाट सुरु गरेर त्यसलाई क्रमशः अन्य देशहरुमा पनि विस्तार गर्ने कोषको योजना छ ।

मोडालिटी टुंगिन बाँकी

कोषले रकम कुन मोडालिटीमा जम्मा गर्न सकिन्छ भन्ने अध्ययन गर्न एउटा समिति नै बनाएको छ । समितिले अब दुई हप्ताभित्रै सुझावसहितको प्रतिवेदन बुझाउनेछ ।

‘यसका लागि सरकारी (जीटुजी) तहमा नै समझदारी हुनुपर्छ । रोजगारदातालाई बाध्यात्मक अवस्था सिर्जना गराएर नपाली कामदारलाई अनिवार्य बचतमा प्रेरित गर्नुपर्छ,’ आचार्यले भने, ‘सिधै कामदारसँग सम्झौता गरेर पनि कोष अन्तरगत समेट्न सकिन्छ । तर, त्योभन्दा जीटुजी लेभलको समझदारी कयौं गुणा राम्रो हुन्छ ।’

रेमिट्यान्स भित्राउने बैंक तथा मनि ट्रान्सफरमार्फत कामदारको निश्चित प्रतिशत रकम कोषमा जम्मा गराउन पनि सकिन्छ । यो कामदारले कामबाट अवकास पाएपछि एकैपटक पाउँछ । यसबाट देशमा स्वदेशी पुँजी वृद्धिमा पनि सहयोग पुग्ने छ ।

क-कसलाई यस्तो सुविधा ?

कोषले विदेश गएका कामदारलाई मात्रैै हैन, असंगठित क्षेत्रका कामदारलाई पनि समेट्न संशोधनमा प्रस्ताव गरिएको छ । विधेयकमा असंगठित ढंगले काम गर्ने इन्जिनियर, डाक्टर, लेखापरीक्षक, कानुन व्यवसायी, कृषक लगायतका पेशा गर्ने व्यक्ति र उनीहरुका संस्थामा काम गर्ने कर्मचारी तथा घरेलु कामदार, मजदुर लगायतले समेत कोषमा रकम जम्मा गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । चिया बगानमा काम गर्ने मजदुर पनि कोषको कार्यक्षेत्रमा अटाएका छन् ।

‘कृषक तथा मजदुर तथा असंगठित क्षेत्रका धेरैको नियमित आम्दानीको स्रोत हुँदैन । त्यसैले कोषमा नियमित रकम जम्मा नहुने स्थिति बन्न सक्छ’ आचार्यले भने, ‘त्यसका लागि राज्यले लिने सामाजिक सुरक्षाको नीतिमा आधारित भएर उनीहरुलाई समेट्न प्रयास गरिनेछ ।’

अहिले कोषमा निजामती सेवा, सेना, प्रहरी, शिक्षकसहित संगठित क्षेत्रमा काम गर्ने १० जनाभन्दा धेरै स्थायी कर्मचारी भएको संस्थाले मात्रै कोषमा रकम जम्मा हुने गरेको छ । ऐन संशोधनपछि स्वरोजगारले पनि रकम जम्मा गर्न सक्नेछन् । विधेयक पारित भएपछि स्वरोजवगार रहेका जो सुकैले पनि कोषमा रकम जम्मा गर्न सक्नेछन् ।

लगानीको क्षेत्र विस्तार

यस्तै कर्मचारी सञ्चय कोषले आफ्नो लगानी गर्ने दायरा पनि बढाउन पनि प्रस्ताव गरेको छ ।

विधेयकमा नेपाल सरकार वा सरकारबाट स्विकृत प्राप्त विदेशी वा स्वदेशी संस्थाको ऋणपत्रमा लगानी गर्नसक्ने व्यवस्था राखिएको छ । यस्तै कोषले सरकारको जमानीमा कोषले सरकारी संस्था, उद्योग र संगठित संस्थालाई ऋण पनि लगानी गर्न सक्ने प्रस्ताव पनि विधेयकमा छ ।

ऐन संशोधन भएपछि कोषले निवृत्तिभरण, स्वास्थ्य बीमा लगायतका क्षेत्रमा निवृत्तिभरण कोष, स्वास्थ्य बीमा वा सामाजिक सुरक्षा कोष स्थापना गरेर समेत संचालन गर्न सक्नेछ ।

यस्तै स्वरोजगारमा संलग्न व्यक्तिलाई कोषबाट सापटी पनि दिन सक्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment