Comments Add Comment

नवलपरासीका बालबालिकाबाट धुर्मुस-सुन्तलीलाई १ लाख २० हजार सहयोग

Nawalparsi-Bal-Club-help

३१ जेठ, नवलपरासी । गिरान्चौर एकीकृत बस्ती निर्माणमा जुटेका हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई नेपालकै पहिलो बालमैत्री नगरपालिका सुनवलका बालबालिकाले १ लाख २० हजार रुपैयाँ सहयोग गरेका छन् ।

नगरपालिकामा रहेका १ सय १७ बाल क्लबहरुले सुनवलबासीबाट रकम संकलन गरी धुर्मुस-सुन्तलीलाई सहयोग गरेका हुन् ।

गिरान्चौर नेपालकै पहिलो बालमैत्री, अपांगमैत्री र वातावरणमैत्री एकीकृत नमुना बस्ती बन्न लागेकाले उक्त सहयोग गरेको सुनवलनगर बाल क्लबकी संस्थापक अध्यक्ष विपना शर्माले बताएकी छिन् । देशभरका २१ हजार बाल क्लबहरुलाई बन्दै गरेका बालमैत्री एकीकृत बस्ती निर्माणमा सहयोग गर्नुपर्छ भन्ने सन्देश दिनका लागि पनि यो सहयोग गरेको उनको भनाई छ ।

सुनवलबाट बालबालिकाको समूह गिरान्चौरमा नै पुगेर उक्त सहयोग हस्तान्तरण गरेका छन् । सुनवल नगरपालिकाको सहयोगमा प्रत्येक घरघर पुगेर संकलन गरिएको उक्त रकम बस्तीमै पुगेर हस्तान्तरण गर्न पाउँदा निकै खुसी लागेको सुनवल नगर बाल सञ्जालकी अध्यक्ष वर्षा गैरेले बताइन् । बालबालिकाले पनि आवश्यक पर्दा सहयोग गर्न सक्छन्, भन्ने उदाहरणका लागि पनि यो कार्य गरिएको उनको भनाई छ ।

सहयोग रकम बुझ्दै धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले बालबालिकाले गरेको उक्त सहयोगको प्रशंसा गरे । आफूहरुले गिरान्चौरलाई बालमैत्री एकीकृत बस्ती बनाउने प्रण गरेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment