Comments Add Comment

गणतन्त्रको तक्मा ठूलाले पाए, सानाले पाएनन्

गृह मन्त्रालय धाउँदा पाएनन् तक्मा

medal२ असार, काठमाडाैं । हरेक वर्ष सरकारले विभूषित व्यक्तिलाई १५ लाख रुपैयाँसम्म पर्ने मानपदवी केही महिनामै दिने गरेको छ । तर, पाँँच हजार रुपैयाँभन्दा कम लागत पर्ने अलंकार र पदक भने सरकारले घोषणा गरेको ६ वर्ष बितिसक्दा पनि वितरण गरेको छैन ।

राज्यमा महत्त्वपूर्ण योगदान गर्ने व्यक्तिलाई सरकारले तीन प्रकारका विभूषण घोषणा गर्ने गरेको छ । गणतन्त्र स्थापनापछि ०६७ देखि सरकारले विभूषण दिन थालेको हो । सोही वर्षदेखि नै मानपदवी पाउनेले तक्मा पाउँदै आएका छन् ।

अलंकार र पदक अहिलेसम्म घोषणामै सीमित छ । मानपदवी उच्चपदस्थ व्यक्तिले पाउँछन् भने अलंकार र पदक तल्लो तहका व्यक्तिलाई दिने गरिएको छ । महँगो पर्ने मानपदवी सरकारले हरेक वर्ष बनाएर वितरण गर्छ । तर, सस्तो पर्ने अलंकार र पदकको आसमा भने घोषणा भएका करिब दुई सयजना छन् । तक्मा लिन गृह मन्त्रालय धाएर थाकिसकेको उनीहरू बताउँछन् ।अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

गृह मन्त्रालयका प्रवक्ता शंकर कोइराला अलंकार र पदकको डिजाइन र साँचो समयमा निर्माण हुन नसक्दा तक्मा वितरण गर्न नसकिएको बताउँछन् । तर, ठूला व्यक्तिहरूले पाउने मानपदवी भने ०६७ देखि नै निर्माण गरी वितरण हुँदै आएको छ । राष्ट्र बैंकअन्तर्गतको टक्सार कार्यालयले विभूषणको डिजाइन र साँचो बनाउँछ । तक्मा भने घरेलु कार्यालयले बनाउँछ । त्यसको अन्तिम रूप नेपाली सेनाको सुन्दरीजलस्थित ब्यारेकमा हुने गर्छ ।

अघिल्लो वर्षका पदक र अलंकार निर्माणको काम सेनाको सुन्दरीजल गणमा पुगेको गृहका एक अधिकारीले बताए । अलंकार र पदक कम मूल्यका भएको र अहिलेसम्म नपाएकाले थोरैले मात्र यी पदकप्रति चासो राख्ने गरेका छन् । गृहले धेरैलाई मानपदवी नै दिने गरेको छ ।

यस वर्ष दुई सय ८७ जनालाई विभूषण दिने घोषणा गरिएकोमा सबैलाई मानपदवी दिइएको छ । अलंकार १६ र पदक ६७ जनालाई दिइएको छ । यस वर्ष ५६ हजार दुई सय ७९ जनालाई प्राकृतिक प्रकोप पीडित्तोद्धार पदक दिने निर्णयसमेत भएको छ । सभासद् र संसद्का कर्मचारीलाई पनि संविधान निर्माण पदक दिने तयारी गृह मन्त्रालयको छ । मानपदवीजस्तै राष्ट्रपतिबाटै यस्तो पदक दिन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment