Comments Add Comment

ताप्लेजुङका कैदी बन्दीलाई उपचार खर्च अभाव

मेडिकलले उधारो दिन छाडे, केन्द्रले पर्याप्त पैसा दिँदैन

Medical-Checkup
ताप्लेजुङ कारागारका कैदी बन्दीको श्वास्थ्य परीक्षण गर्दै चिकित्सकहरु

५ असार, ताप्लेजुङ । कारागार व्यवस्थापन बिभागले मागे जति रकम नपठाउँदा जिल्ला कारागार ताप्लेजुङका कैदी बन्दीको उपचार गर्न समस्या भएको छ ।

कारागार व्यवस्थापन बिभागले पठाउने रकम अघिल्लो बर्षको ऋण तिर्नमै ठिक्क भएपछि कैदी बन्दीको उपचार अहिले ‘उधारो’मा चलाउनुपर्ने अवस्था रहेको जिल्ला कारागार व्यवस्थापन शाखा ताप्लेजुङका स्वास्थ्य सहायक ध्वनिराम सिंहले बताए ।

उनका अनुसार केन्द्रबाट निकासा भएको रकमले एक चौमासिक अवधिसम्म पनि कैदी बन्दीको उपचार सम्भव हुँदैन । निकासा भएको रकम सकिएपछि उपचारका लागि लगिएका कैदी बन्दीलाई लाग्ने खर्च मेडिकल स्टोरमा खाता खोली उधारोमा चलाइँदै आएको छ । उधारो रकम नै ६० हजार रुपैयाँसम्म पुगेको छ ।

अहिले मेडिकलहरुले उधारोमा औषधि दिन आनाकानी गर्न थालेपछि सरकारले निःशुल्क उपलब्ध गराउने बाहेकका औषधि आफै किनेर उपचार गर्न कैदी बन्दी र उनीहरुका आफन्तलाई आग्रह गर्नुपर्ने बाध्यता रहेको सिंहको भनाई छ ।

कारागार व्यवस्थापन विभागमा बाँकी रकम तिर्न र उपचारका लागि पत्राचार गर्दै दुई लाखसम्म खर्च माग गर्दासमेत एक पटकमा १०-१५ हजार रुपैयाँ मात्र पठाउने गरेको कारागारको गुनासो छ ।

‘कैदी बन्दीलाई जिल्ला बाहिर लगेर उपचार गर्नुपर्ने अवस्था नआएकाले जिल्ला भित्रका औषधि व्यावसायीले अहिलेसम्म त पत्याएका छन् तर अब रकम ठूलो भएकाले बाँकी दिन आनाकानी गर्न थाले,’ सिंहले गुनासो गरे । निःशुल्क पाइने औषधिको प्रयोग गर्ने प्रकृतिका बिरामी कम हुने भएकाले औषधि खरिदमा मोटो रकम खर्चनुपर्ने उनको भनाई छ ।

केहि कैदीको जिल्लामा उपचार सम्भव नभए बाहिरी जिल्ला लैजाँदा लाग्ने एम्बुलेन्स र बाटो खर्च तथा अस्पतालले लिने सेवा शुल्क तिनुपर्ने अवस्था आएमा झनै समस्या हुने सिंहले बताए ।

२५ जनाको मात्र क्षमता रहेको जिल्ला कारागार ताप्लेजुङमा अहिले ९९ जना कैदी बन्दीलाई कोचेर राखिएको छ । सबैलाई एकै ठाउँमा राख्नुपर्दा कैदी बन्दीमा श्वास प्रश्वास र छालाको रोग बढी देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment