Comments Add Comment

सरकार नछाड्ने फोरम लोकतान्त्रिकको निर्णय

Bijay-Gachhadar

५ असार, काठमाडौं । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले राष्ट्रिय सरकार गठन नभएसम्म वर्तमान सरकारबाट नबाहिरिने निर्णय गरेको छ ।

फोरम लोकतान्त्रिकको एक साता लामो केन्द्रीय समितिको बैठकले संविधानको कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको ठहर गरेको छ । तर, सहमतीय सरकार गठन नभएसम्म अहिलेको सरकारबाट नबाहिरिने उसको निर्णय छ ।

फोरम लोकतान्त्रिकले थारु र मधेशका मुद्दा सम्बोधन गर्न, संविधानको कार्यान्वयन गर्न, भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निमाण गर्न तथा आर्थिक समृद्धिका लागि प्रमुख दलहरुबीच एकता र सहमति आवश्यक रहेको भन्दै सहमतीय सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ ।

बैठकका निर्णय सार्वजनिक गर्न आइतबार पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अहिलेको सरकारको औचित्य नसकिएकाले पार्टीले सरकार नछोड्ने निर्णय गरेको बताए ।

जेठ ३० गते सुरु भएर असार ४ गते सम्पन्न केन्द्रीय समितिको बैठकमा जितेन्द्र देव लगायतका केही केन्द्रीय सदस्यले सरकारमा सहभागी हुँदा नेकपा एमालेसँग भएको ८ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै सरकारबाट वाहिरिनुपर्ने आवाज उठाएका थिए ।

तर, पार्टीले सरकार नछाड्ने निर्णय गरेपछि नेता जितेन्द्र देव पत्रकार सम्मेलनमा अनुपस्थित हरे । बैठकले नेता देवलाई पदाधिकारीमा मनोनयन गरेको छैन । देव यस अगाडि उपाध्यक्ष थिए ।

बैठकले रामनरेश राय यादव, मोहम्मद नसिर सिद्दिकी, आशा चतुर्वेदी र रामजनम चौधरीलाई उपाध्यक्ष, भारतेन्दु कुमार मल्लिकलाई महामन्त्री तथा चन्दे्रश्वर शर्मा खत्वे र हरिप्रसाद न्यौपानेलाई सहमहामन्त्रीमा मनोनयन गरेको छ ।

बैठकले पार्टीको नियमावली तर्जुमाका लागि उपाध्यक्ष रामजनम चौधरीको संयोजकत्वमा आशा चर्तुवेदी, हरिप्रसाद न्यौपाने, डा. बाबुराम पोखरेल र डा. सुवोधकुमार पोखरेल सदस्य रहेको उपसमिति गठन गरेको छ भने ८२ जना केन्द्रीय सदस्यमध्येबाट केन्द्रीय कार्य सम्पादन समितिमा २५ जनाको मनोनयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment