Comments Add Comment

प्रवासमा एकताको खाँचो

लामो समयदेखि देशको अस्थिर राजनीति र त्यसबाट उब्जिएका कैयौं समस्याहरु मध्ये बेरोजगारी समस्या सबैभन्दा ठूलो हो । सीप भएका तथा नभएका अनि शिक्षित तथा अशिक्षित लगायतको विशेषतः युवा जनशक्ति बेरोजगारीको प्रत्यक्ष समस्यामा गुज्रिरहेको छ । आफुमा भएको सीप र शिक्षालाई आफ्नै देशको माटोमा फलाउने अनि फुलाउने जनशक्ति हुँदै नभएको होइन, सफलता हात नै नलाग्ने पनि होइन र यो शक्ति त्यसतर्फ उन्मुख हुँदै नभएको पनि होइन । तर, अत्यन्तै न्युन संख्यामा रहेको यो जनशक्ति यावत समस्याहरुले गर्दा आकर्षित हुनुभन्दा पलायनतर्फ लागेको हामी सबै माझ रहेको तीतो सत्य हो ।

Bharat-Siwakotiयी अनेकौं समस्याहरुबाट निराशासँगै आफ्ना कठिनाइहरुका कारण युवा शक्ति देश छोडेर वैदेशिक रोजगारीको निम्ति विश्वका विभिन्न देशहरु जाने चलन धेरै लामो समयबाट चलेको पाइन्छ । यो सिलसिलामा वैदेशिक रोजगार सम्बन्धी नीति नियमको अस्पष्टता,  मेनपावर कम्पनीहरुको मनोमानी तथा दलालहरुबाट ठगीको शिकार लगायतका प्रत्यक्ष पीडा र समस्या भोग्ने वैदेशिक रोजगारीमा जान चाहने कतिपय जनशक्ति आफ्नै देशमा थप कष्टमा परेको छ भने वैदेशिक रोजगारीको निमित्त विदेश पुगेका व्याक्तिहरु समेत अनेकौ समस्याहरुबाट छटपटाइरहेको बिषय नौलो रहेन ।

यिनै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको संलग्नतामा आफु रोजगारी गरीरहेको देशमा विभिन्न उदेश्य राखेर राजनीतिक तथा गैरराजनीतिक संघ, संस्था खोल्ने र गतिविधि गर्ने काम विगत केही समयबाट निक्कै फस्टाउँदै गएको छ । कोही राजनीतिक दलका भातृ संगठनका रुपमा त कोही सामाजिक तथा परोपकारीका रुपमा अनि यस्तै मिल्दाजुल्दा उदेश्य राखेर आफ्नो क्षेत्र, जिल्ला, अञ्चल आदि केन्द्रित संघ, संस्थाहरु विभिन्न देशहरुमा कृयाशील हुँदै आएका छन् ।

यसरी खोलिएका केही संघ, संस्थाले समाजमा निक्कै राम्रा र उदाहरणीय काम पनि गरेका छन् । युरोपियन मुलुकमा रहेका संघ, संस्था र समाजहरु यस कार्यमा अघिल्लतिर रहेका छन् भने खाडी मुलुकहरुमा रहेका संघ, संस्था र समाजहरु अलि पछाडि रहेका छन् जसमा आ-आफ्नै विशिष्ट कारणहरु छन् । ती विशिष्ट कारणहरु भन्दा अन्य खाले कारणहरु पनि कम जिम्मेवार छैनन्, जसलाई सुक्ष्मरुपमा केलाउने प्रयत्न गरे चिन्न सकिन्छ ।

तर, यसलाई हामी वेवास्ता गरिरहेका छौं अथवा सरोकार वाहिरको बिषय ठानिरहेका छौं, जसको परिणामस्वरुप कतिपय सामाजिक तथा परोपकार अनि समाज विकासको नारा आफ्नो पर्दामा झुन्डयाउनेहरुले यसलाई केवल देखाउने दाँत मात्र बनाएका छन् । त्यस्ता संस्था, समाज तथा संगठन नेतृत्व गर्ने व्याक्तिमा न त नेतृत्व गर्ने कुशलता छ,  न असली समाजसेवाको भावना नै छ । कोही अदृश्य शक्तिहरुको निर्देशनपालक बनेका छन् भने कोही समाज सेवाको खोल ओडेर आफ्नो भविश्यको पृष्ठभूमी र स्थान सुरक्षित गर्न खोज्दैछन् अनि कोही हिजोको राजा महाराजा जस्तो वरिपरिका भाइभारदारका भरमा आफ्नो हैकमवादको शासन चलाउँदैछन् । कोही नातावाद र कृपावादसँगै चाकडीको निगाहमा आफ्ना अनेकौं उद्देश्यको हतियार यिनै समाज, संस्था र संगठनलाई बनाएर आफूलाई असली समाजसुधारकका रूपमा परिभाषित गर्दैछन् ।

असक्षमता अनि कमजोरीलाई सुधार्न आत्मासाथ गर्दै आत्मालोचित नहुने, पद्दति र प्रणालीको ज्ञान नै नहुने तथा त्यसलाई आफु अनुकुल परिभाषित गर्दै व्यक्ति हावी हुने, सामुहिक निर्णयलाई अस्वीकार र नजरान्दाज गर्ने,  समूहभित्रै आफु अनुकुल गुटबन्दी खडा गर्ने,  अनैतीक र उच्छृङ्कल व्याक्तिहरुको हावी बनाउने,  कुनै पनि निर्णय वा छलफल अनि निश्कर्षको चाबी व्याक्तिको खल्तिमा बन्दी बनाउने, पारदर्शितालाई लुकाउने अथवा नदेखाउने आदि थुप्रै कारणहरुले कतिपय सिङ्गो समाज र संस्था आज बदनामिको शिकार हुन पुगेका छन् ।

सत्यलाई स्वीकार गर्न नसक्दा अनि आफु रहेमात्र आफ्नो समाज वा संस्था रहने संकिर्ण सोच बोक्नेहरुका कारण राजनीतिक तथा गैरराजनीतिक संघ, संगठनहरु चोइटिएर छुट्टाछुट्टै गतिविधि गर्दै आफु-आफुलाई समाज तथा संगठनको सत्यराम बताउँदै हिँडिरहँदा कुन्नी के गर्नेलाई भन्दा देख्नेलाई लाज जस्तो भएको छ ।

हिजोसम्म कुममा कुम मिलाएर एउटै उदेश्य प्राप्तिका निमित्त गोलवद्ध भएकाहरु आज आ-आफ्नो समूहमा विभक्त भएका छन् । त्यतिमात्र होइन, आफुलाई समाज तथा संस्थाको कमाण्डर मान्नेहरु, नेतृत्वदायी मर्यादामा रहनेहरु फुट र विग्रहको सन्तापले पोलेर अत्यन्तै गैरजिम्मेवार, अपाच्य र फोहोरी शब्दहरुको होली खेल्दै एकले अर्काको धज्जी उडाउँदै आफ्नो सोचको असली कर्तव्य पूरा गर्दैछन् ।

शालीनता, तर्क, मर्यादा जस्ता सामान्य आचरणहरुलाई फोहोर फ्याँक्ने टोकरीमा फ्याँकिएको छ । अपरिपक्व नेतृत्वका कारण आर्थिक कारोबारका व्याक्तिहरु फरार भएका घटनासमेत छन् भने अपारदर्शिता धेरैमा चुलिँदै गएको छ । सस्तो लोकप्रियताका निमित्त कोही एकले अर्कालाई समाज सेवामा उच्छिन्ने होडबाजीमा केही क्षणका लागि किनिएका चर्चा र परिचर्चा बटुलेर दुनियाँको ध्यान खिच्न खोज्दैछन् भने कोही एकले अर्काको जरा काट्नुमा नै आफुलाई सफलताउन्मुख सोचिरहेका छन् ।

जतिसुकै कोशिश गरे पनि हत्केलाले सूर्यलाई कसैले छेक्न सक्दैन । जब नियत नै खराब भएकाले गर्ने यस्तो खेती कति दिन टिक्छ र ! सुतेका मान्छेलाई उठाउन सजिलो हुन्छ, तर सुते जस्तो नाटक गरेका मान्छेलाई कसरी उठाउने ?

एकातिरको चरित्र यसरी आत्मरतिमा रमाउने छन् भने अर्कोतिर कडा परिश्रम गर्नपर्ने तर त्यस अनुसारको ज्याला नपाउनेहरुको कथाभित्रको कथा र पीडा कम मार्मिक र दु:खमय छैन । एउटै जिल्लामा कम्तिमा एकदेखि बढीमा ३-४ वटा सम्म खोलिएका संघ, संगठनलाई पाल्ने तल्लो ज्यालादारीमा काम गर्ने मजदुरहरु विभिन्न नाममा बारम्बारको चन्दा रकमबाट मारमा परेका छन् भने उनीहरु नै भिन्न भिन्न झुन्डमा विभक्त समाज र त्यसमा रहेका मुठ्ठीभरका व्याक्तिहरुका कारण सँगै रहेका आफ्ना साथीभाइहरु एवम जिल्लावासी मित्रहरुको मित्रता र भाइचारा सम्बन्धबाट विस्तारै टाढिँदै गएका छन् ।

समाज तथा संस्थाको उन्नति र प्रगतिका खातिर कमजोरी औंल्याउनेहरु, एकतामा बल हुन्छ भनेर विश्वास दिलाउन खोज्नेहरु संस्था तथा समाज मठाधीशहरुका नजरमा विरोधी र सत्य खुट्ट्याउन्न नसक्ने आलोचक बनेका छन् । समाजको लक्ष्य र उदेश्य प्रधान कुरा हो, तर को व्यक्ति भन्ने गौण कुरा हो भन्नेमा विश्वास गर्नेहरुसँगै विभिन्न झुन्डमा विभक्तहरुलाई एकत्रित गरेर एउटा सिङ्गो समाज बनाउन चाहनेहरुको आवाजहरु ओझेलमा पारिएको छ । किनभने यहाँ केही व्यक्ति पद र प्रतिष्ठा अनि अभिष्टतामा तल्लीन बनेका छन् जसका आँखाहरुले ‘मम सर्वभव’  बाहेक अरु केही पनि नियाल्न सक्दैन ।

यी र यस्तै कैंयौ आन्तरिक समस्याहरुको चङ्गुलभित्र डुबेर समाज सेवा जस्तो पवित्र कामलाई वास्तविक एकता, सहकार्य, सहभाव, समभाव र सदभावयुक्त बनाएर अगाडि लैजान किमार्थ सम्भव छैन । साँच्चिकै असल मन लिएर असल उदेश्य राखेर काम गर्ने हो भने पूर्वाग्रहको बिस्कुन लगाउनेहरुले आफ्नो साँघुरो छातिलाई फराकिलो र चौडा गर्न सक्नुपर्छ । कमजोरी र गल्तीहरुलाई समीक्षा गरेर आत्मालोचित हुँदै आफुमा भएको सीप, उर्जा, ज्ञान अनि सम्भव भएका सबै चिजहरुले संघ, संस्थाको उदेश्यलाई भिजाउन सक्नुपर्छ । सँगै अगाडिको लक्ष्यलाई प्राप्त गर्ने साहस र ल्याकतलाई समयानुकुल र आवश्यकता अनुरुप परिवर्तन गर्दै लैजान सक्नुपर्छ ।

समाज सेवाको पवित्रतालाई साँच्चै नै समाज सेवा भन्न लायक बनाउने हो भने हरेक व्यक्तिले असल कर्ममा विश्वास गर्न सक्नुपर्दछ, यो नै २१ औं शताब्दिको वास्तविक आवश्यकता र मानव धर्म पनि हो । भावनामा विभिन्न विषयमा जोडेर वहकिएका भनाइहरु व्यक्त गर्दैमा क्षणिक सहानुभुति र समर्थन त पाउन सकिएला, तर, यथार्थतामा त्यस्ता कार्यहरु कपटी नै परिभाषित हुन्छन्, जो व्यक्तिका लाभका निमित्त चलाइएका हतियारबाहेक केही हुँदैनन् ।

आपत पर्दा कुनै भगवानको नाम भजाएर गेरुवस्त्र र विभिन्न वस्तुहरु शरीरमा धारण गर्दैमा व्याक्तिले गरेका काला कर्महरुको प्रायश्चित हुन सक्दैन । आजको कर्म र धर्म अनि सेवा भनेको मन्दिरभित्रको मूर्तिलाई लिटरका लिटर दूध चढाउने होइन मन्दिर वाहिर दूध पिउन नपाएर छटपटाइरहेको बालकलाई दूध पिलाउने हो । यसो भनिरहँदा मन्दिर तथा मूर्तिको अपहेलना गरेको भन्ने अर्थ नलागोस, मन्दिर, मूर्ती र व्यक्ति तथा नेपाली समाजका विविधताहरु आ-आफ्नो विश्वास र आस्था हुन् तर यी सबै विविधताहरुले समेत स्वीकारेको असल कर्म मानव धर्म र समाज सेवा नै हो । विडम्बना आज यो सत्य र वास्तविकता व्यक्तिको माखे चित्तले हराउँदै गएको छ । समाज सेवा निरन्तर बग्ने नदी हुनुपर्ने तर बर्खे खहरे हुन पुगेका छन् । जो वर्षा हुँदा किनारासम्म नदेखिने रुप वर्षा रोकिएलगत्तै बगरमा कमिला हिँड्ने नियति ।

अतः माथिका समस्याहरु र वास्तविक समाज सेवाको कडीलाई सबैले आत्मासाथ गरेर हातेमालो गर्न सके साना आँखाहरुले देखेको सुन्दर सपना साकार बन्न सक्छ । एकले अर्कालाई पीडा र दु:खहरुमा काँध थाप्ने दायरा फराकिलो हुन सक्छ अनि राजनीतिक होस् अथवा गैरराजनीतिक दुबैको मुख्य मर्म समाज, जनता र देशलाई सेवा गर्ने कामबाट धेरैको मस्तिस्कमा परिवर्तनको चेतना छर्दै समृद्धिको बाटोतर्फ उन्मुख एउटा विश्वसनीय उदाहरण बन्न सक्छ ।

तसर्थ संघ, संस्थाका नेतृत्वमा रहने विद्वानहरुले यो सोच्न जरुरी छ कि फुट र विभाजनमा गएर भए पनि आफु माथि रहने कि एकता र सहकार्यमा समाज तथा संस्थालाई माथि राखेर अगाडि जाने ? परिवर्तन र समृदिको बाटोमा सबैलाई सुसंस्कृत बनाउँदै अगाडि लिएर जाने कि परम्पराको नाममा कुरीतिलाई मात्र अनुसरण गर्दै यथास्थितिमा आफु सुरक्षित रहँदै संकुचित सोचको आत्मारतिमा रमाउने ? यस्तो व्यथितिलाई बोक्नेहरुले कहिलेसम्म बोक्ने अनि रमाउनेहरु कहिले सम्म रमाउने  ?

स्मरण रहोस, परिवर्तनको बाटोलाई अब कुनै शक्ति वा महाशयले रोकेर रोकिने छैन जो हरेक तह र तप्कासम्म ढिलोछिटो आइपुग्नेछ । अब जुनसुकै नाराको खोल ओडेर नेपथ्यमा काला कार्यमा रमाउनेहरु सुरक्षित छैनन् किनभने हरेक व्याक्तिको चेतनास्तर बढदैछ, सङलिँदैछ, जसको परिणामस्वरुप असत्यताको पर्दा च्यातिनेछन् चाहे त्यो समाजसेवाको क्षेत्र होस वा गैरसमाजसेवाको क्षेत्र नै किन नहोस् । यसैले परिवर्तनको पथमा विना कपट अविचलित भएर लाग्ने सत्यलाई सबैले स्वीकार गर्दै एकतामा अगाडि बढौं । अन्यथा समयले परिवर्तन विरोधीहरुलाई छोड्नेछ । सँगै दण्डित पनि गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment